३४ घरपरिवारले पाए पक्की घर

नेपालगञ्ज – हवल्दारपुरका ३४ घरपरिवारले पक्की घर पाएका छन्। कोहलपुर नगरपालिका वडा नम्बर १४, हवल्दारपुरमा दुई चरणमा बनेका ३४ वटा घर स्थानीय चिडीमारलगायतले पाएका हुन्।

प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जनता आवास (चिडीमार) कार्यक्रमअन्तर्गत बराण्डा र शौचालयसहितको दुई कोठे घर बनाएर दिइएको छ।

शहरी विकास तथा भवन कार्यालय, बाँकेले घर बनाइदिएको हो। कार्यालयका प्रमुख रामआश्रय शाहले आर्थिक वर्ष २०७६/७७ मा चिडीमारलाई ६१ वटा घर बनाएर दिएको जानकारी दिए।

उनका अनुसार, कोहलपुरको वडा नम्बर १२ मा ३४ वटा, १४ नम्बरमा १५ वटा र १५ नम्बरमा १२ वटा घर बनिसकेका छन्।

आर्थिक वर्ष २०७६/७७ मा संघीय सशर्त अनुदानतर्फ ४३ वटा घर बनेका छन्। कोहलपुरको वडा नम्बर ३ मा ५ वटा, वडा नम्बर १२ मा १० वटा, वडा नं। १३ मा २८ वटा घर बनेका छन्।

आर्थिक वर्ष २०७७/७८ का लागि वडा नम्बर १२ मा ११ वटा घर बनाउने सम्झौता भएको छ।

कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७५/७६ मा ३३ वटा घर बनेका थिए। वडा नम्बर १५ मा १४ र वडा नम्बर १४ मा १९ घर रहेका छन्।

शहरी विकास तथा भवन कार्यालय, बाँकेका प्रमुख शाहले बाँके र बर्दियामा प्रदेश जनता आवास समन्वय समितिको निर्णय अनुसार एक हजार ३७ र पुरानो संघीय कार्यालयबाट निर्माणाधीन ८ सय २९ वटा गरी एक हजार आठ सय ६६ वटामध्ये एक हजार तीन सय ५५ वटा घर बनिसकेको बताए।

शाहका अनुसार, आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जनता आवास (चिडीमार) कार्यक्रमअन्तर्गत ७१ वटामध्ये ६१ वटा सम्झौता भएर काम सकिएको छ।

नयाँ घर पाएपछि खुशी भएका विनोद चिडीमारले भने, ‘पहिला माटोको घर थियो । सरकारले पक्की घर बनाइदियो, पक्की घरमा बस्न पाउदा खुशी लागेको छ।’

पुस २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्