‘मुलुकमा देखिएको संकट जोगाउन राजसंस्था आवश्यक’

मोरङ- नेपालसँगै नेपालीको कुनै पनि समय अस्तित्व धराशायी हुनसक्नेतर्फ सचेत रहन पृथ्वी जयन्तीका क्रममा विराटनगरमा सरोकारवालाहरुले बताएका छन्।

सोमबार विराटनगरमा नेपाल विद्धत् परिषद्‌द्वारा २ सय ९९ औँ पृथ्वी जयन्ती मनाउने क्रममा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री बद्रीप्रसाद मण्डलले राजनीतिक दलका कारण मुलुकको अस्तित्व धराशयी बन्नेतर्फ उन्मुख भइरहेकोतर्फ सचेत गराएका थिए।

दलहरु आआफ्नै खुट्टा तान्ने प्रवृत्तिमा लागिपरेको बताएका मण्डलले मुलुक र जनताको अस्तित्व रक्षाका लागि राजतन्त्र आउनुपर्नेमा जोड दिएका थिए।

मण्डलले दलकै कारण मुलुकमा कुनैपनि समय दुर्घटना हुनसक्नेतर्फ औँल्याएका थिए। त्यसैगरी कार्यक्रममा नेपाल विद्धत परिषद्का उपाध्यक्ष एवं पूर्वाञ्चल संयोजक बल्लभप्रसाद दाहालले मुलुकको रक्षाको लागि राजतन्त्र र राजा ल्याउनुपर्नेमा जोड दिएका थिए। पृथ्वी नारायण शाहले टुक्रेर छरिएर फैलिएका राज्यलाई एकीकरण गरेर विश्व सामु नेपालको पहिचान दिलाएको स्मरण गराउँदै उपाध्यक्ष दाहालले मुलुकको रक्षाका लागि राजाको विकल्प नरहेको उल्लेख गरे।

मुलुकमा दिगो स्थायीत्व र शान्तिका लागि राष्ट्रको हितका लागि राजतन्त्र आवश्यक रहेको उनले बताए।

कार्यक्रममा परिषद् मोरङ अध्यक्ष पुष्पराज दाहालले विदेशीको इशारामा सरकार चलिरहेको आरोप लगाएका थिए। विदेशीहरुको प्रभावमा परेर आफ्नो समेत धरातल विर्सिसकेको बताएका अध्यक्ष दाहालले जाति, धर्मलाई विखण्डन गर्न अराजक पक्ष सुसुप्त रुपमा देखा पर्न थालेको बताए। कार्यक्रममा अधिकांशले मुलुकमा देखिएको संकट निराकरणको एकमात्र विकल्प राजसंस्था आगमन हुनुपर्नेमा जोड दिएका थिए।  कार्यक्रममा विद्ध्त परिषद्का अध्यक्ष जीतबहादुर अर्जेल पनि सहभागी थिए।

पुस २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्