कांग्रेस महाधिवेशनभन्दा निर्वाचन पहिलो प्राथमिकतामा: उपसभापति निधि

जनकपुरधाम-नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि निर्वाचन आफूहरुको प्राथमिकतामा रहेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति समेत घोषणा गरेको अवस्थामा अहिलेको प्राथमिकता निर्वाचनको तयारी नै रहेको उनले बताए ।

नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि गरेको तयारी अहिलेलाई रोकेर तत्काल राष्ट्रिय निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्न उपसभापति निधिले कार्यकर्तासँग बताए।

सोमबार जनकपुरधाम स्थित पार्टी कार्यालयमा बोल्दै निधिले संसद पुर्नस्थापना भएपनि वा नभएपनि राष्ट्रिय निर्वाचनको तयारीमै अहिले लाग्नु उचित हुने बताए ।

पहिले पार्टीको महाधिवेशन प्राथथमिकतामा रहेपनि अब प्रतिनिधिसभाको राष्ट्रिय निर्वाचन नै पहिलो प्राथमिकता रहेको उनले भनेका छन् ।

अहिलेको उत्पन्न वर्तमान परस्थितिको समाधान प्रतिनिधिसभा रहेकोले संसद पुर्नस्थापना र निर्वाचनकै माध्यमले प्रतिनिधिसभाको स्थापना गर्न दूबै विकल्पका लागि नेपाली कांग्रेस तयार हुनु पर्ने निधिले बताए ।

सडकबाट प्रतिनिधिसभाको पुनस्थापना अहिलेको समयमा असुरक्षित रहेको उनको भनाई थियो । सडकबाट आन्दोलन उग्र भए न संसद पुर्नस्थापना हुने न निर्वाचन हुने सम्भावना समेत बन्न सक्ने भएकोले त्यसको भागी नहुनु पर्ने उनको तर्क थियो ।

पुस २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्