अमेरिकी संसद भवनमा आक्रमण

हतियारसहित ट्रम्प समर्थक हिंसात्मक प्रदर्शनको तयारीमा रहेको एफबिआईको चेतावनी

अमेरिकामा आउँदा दिनहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले हतियारसहित हिंसात्मक प्रर्दशनको तयारी गरेको चेतावनी संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले दिएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको शपथको दिनसम्म सबै ५० राज्यमा हतियारसहित प्रदर्शनको तयारी भइरहेको सूचना प्राप्त भएको एफबिआईले उल्लेख गरेको छ ।

जनवरी २० मा हुने शपथग्रहण समारोहलाई प्रभावित पार्नका लागि सबै ५० राज्यका राजधानी तथा वासिङ्गटन डिसीमा भेला हुने तयारीमा हतियारधारी समूह रहेको जानकारी प्राप्त भएको एफबिआईलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

शपथग्रह समारोहलाई सुरक्षित पार्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको भए पनि चिन्ता थपिएको छ ।

सोमबार राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले क्यापिटल हिल (संसद भवन) बाहिर राष्ट्रपतिको शपथ लिन आफू नडराएको बताएका छन् ।

अहिलेसम्म राष्ट्रपतिमा निर्वाचित बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले क्यापिटल हिल बाहिर हुने विशेष कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।

गएको बुधबार राष्ट्रपति ट्रम्पका हतियारधारी समर्थकले संसद भवनमा आक्रमण गरेका थिए । सो हिंसात्मक आक्रमणमा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गएको छ ।

हिंसात्मक आक्रमणका लागि उक्साएको आरोपमा ट्रम्पमाथि तल्लो सदनमा महाअभियोग प्रस्ताव दर्ता भएको छ ।

उनकै पार्टीका नेताहरुले पनि सो आक्रमणमा ट्रम्पकै दोष रहेको र अमेरिकी प्रजातन्त्रमाथि गम्भीर आक्रमण भएको बताएका छन् ।

हतियारधारी समूहले जनवरी १६ देखि २० सम्म सबै २० राज्य तथा जनवरी १७ देखि २० सम्म राजधानी वासिङ्गटन डिसीमा प्रदर्शन गर्ने तयारी गरेको एफबिआईको पछिल्लो बुलेटिनमा उल्लेख छ ।

यस्तै ट्रम्पलाई संविधानको २५ औँ संशोधनमा रहेको व्यवस्थाबाट हटाएमा आन्दोलनको तयारी पनि भइरहेको सूचना पाएको एफबिआईले उल्लेख गरेको छ ।

पुस २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्