‘संकट’ को समयमा अमेरिकाका आन्तरिक सुरक्षा मन्त्रीले दिए राजीनामा

अमेरिकाका कार्यबाहक आन्तरिक सुरक्षा मन्त्रीले राजीनामा दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा कार्यबाहक आन्तरिक सुरक्षा मन्त्री रहेका चाड वुल्फले राजीनामाको घोषणा गरेका हुन् ।

गएको बुधबार राष्ट्रपति ट्रम्पको उक्साहटमा उनका समर्थकले संसद भवनमा गरेको हिंसात्मक आक्रमणपछि मन्त्रीहरुले राजीनामा दिने क्रममा पछिल्लो पटक वुल्फ थपिएका हुन् ।

राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको शपथ ग्रहण (जनवरी २०) सम्म जिम्मेवारीमा रहने साेचेको भए पनि सोमबार मध्यरात (स्थानीय समय) देखि लागु हुने गरि राजीनामा दिने निर्णयमा पुगेको वुल्फले आफ्ना स्टाफलाई पठाएको पत्रमा उल्लेख छ ।

उनी सन् २०१९ को नोभेम्बरदेखि कार्यबाहक आन्तरिक सुरक्षा मन्त्रीका रुपमा कार्यरत थिए । संघीय आकश्मिक व्यवस्थापन एजेन्सीका प्रमुख पिट गेनोरले कार्यबाहक आन्तरिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् ।

संघीय अनुसन्धान ब्यूरो (एफबिआई) ले ट्रम्पका समर्थकहरुले हतियारसहित अबको केही दिन देशभर हिंसात्मक प्रदर्शनको तयारी गरेको चेतावनी दिएका बेला वुल्फले राजीनामा दिएका हुन् ।

बुधबारको घटनापछि तीन मन्त्रीले राजीनामा दिइसकेका छन् । यसअघि शिक्षा मन्त्री बेट्सी डेभोस र यातायात मन्त्री एलिन चाओले राजीनामा दिएकी थिइन् ।

पुस २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्