हिमालपारीको गाउँ लिमी पाँच महिनाका लागि बन्द

फाइल तस्बिर।

सिमकोट – पछिल्लो हिमपातपछि नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमी पाँच महिनाका लागि बन्द भएको छ।

लिमी प्रवेश गर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी जाने अर्काे कुनै विकल्प नभएपछि पाँच महिनाका लागि बन्द भएको हो।

वडा अध्यक्ष पाल्जोर तामाङका अनुसार लिमी छिर्ने दुईवटै नाका हिमपातपछि बन्द हुँदा लिमी उपत्यका लकडाउनमा परेको हो।

केही दिन अगाडिको हिमपातले लिमी प्रवेश गर्ने बाटोमा रहेको चार हजार छ सय मिटर अग्लो नारा लेक र पाँच हजार मिटर अग्लो न्यालु लेकको बाटो बन्द भएको छ।

यो बाटो अब आगामी जेठ महिनामा मात्रै खुल्ने छ । पाँच महिनाका लागि बन्द भएपछि लिमी आउने जाने कार्य बन्द भएको छ।

ती दुवै नाकाहरुमा चार देखि पाँच फिट हिउँ जम्ने भएको कारण लिमी जाने बाटो बन्द भएका हुन्। नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवा बादल लाग्दा र हिमपात हुँदा बन्द हुने भएपछि सञ्चार सम्पर्कबाट समेत लिमीबिहीन रहँदै आएको छ।

तर बेला बेला आउजाउ भइरहने वल्र्डलिंकको इन्टरनेट सेवा भने अहिले सम्पर्कको माध्यम भएको हल्जी गाउँका स्थानीयले बताएका छन्।

सडक बन्द भएपछि बिरामी तथा अत्यावश्यक काम पर्दा हेलिकोप्टर रिजर्भ गर्नुको विकल्प छैन।

हिमपातपछि बाटो बन्द हुने भएका कारण ६ महिनाका लागि दैनिक उपभोग्य सामान देखि अन्य आवश्यक बन्दोबस्तीका सामान तयारी अवस्थामा राखिने भए पनि यस वर्ष कोरोनाको कारणले त्यो काम पनि हुन सकेन।

तर गत मंसिरमा खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीबाट ढुवानी अनुदानको सात सय क्वीन्टल खाद्यान्न लिमी पुगेको थियो।

लिमी उपत्यकाका साथै हिल्सा नाका पनि हिमपातपछि बन्द छ।

 

पुस २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्