पाँच वर्षपछि हत्या अभियुक्त पक्राउ

सांकेतिक तस्बिर।

नेपालगञ्‍ज-अदालतबाट जन्म कैदको सजाय सुनाइएका नेपालगञ्जका हरि वली र विवाद पाठकलाई प्रहरीले पक्राउ गरेको छ।

नेपालगञ्जका युवा चेतन मानन्धरलाई २०७२ असार २८ गते दिउँसो तीन बजे धम्बोझीचोक नजिक खुँडा प्रहार गरेर हत्या गरिएको घटनाका अभियुक्त वली र पाठकलाई प्रहरीले पक्राउ गरेको हो।

घटनामा संलग्न १५ जना संलग्न रहेका थिए। त्यसमा नौ जना पक्राउ परेर थुनामा रहेका छन्। दुई जना अहिले पक्राउ परेका छन्। एकजना धरौटीमा छुटेका छन्। तीन जना अझै फरार रहेका छन्।

फरार रहेका पाँच जनामध्ये दुई जनालाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको हो। पक्राउ परेका वली र पाठक नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ कारकादोका हुन्।

बाँकेका एसपी ओमबहादुर रानाले अभियुक्तहरु नेपालगञ्जमा लुकेर बसेको सूचनाका आधारमा पक्राउ गर्न सफल भएको बताए। उनले फरार रहेका तीन जनाको खोजी भइरहेको बताए।

प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरेर अरु तीन वटा घटना सार्वजनिक गरेको छ। पुस २७ गते आफ्नै भाइको हत्या गर्ने इसराइल खाँ पक्राउ परेका छन् । घरासयी विवादमा खाँले १७ वर्षका भाई रहिस खाँको हत्या गरेका थिए।

प्रहरीले आज नै विमानस्थलबाट चार ग्राम ९ सय ६० मिलिग्राम ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ। विमानस्थलमा सामान दिन भनि भित्र प्रवेश गर्न थालेका मुगुका पदम मल्लको साथबाट ब्राउनसुगर बरामद भएको हो।

प्रहरीले अवैध रुपमा ल्याइएको १० वटा खच्चर बरामद गरेर भन्सार बुझाएको जानकारी दिएको छ।

पुस २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्