संसद भवनमा आक्रमण, ट्रम्पमाथि महाअभियोग

संसद भवनमा आक्रमणका लागि उक्साउने आफ्नो भाषण पूर्णरुपमा उचित रहेको ट्रम्पको दाबी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद भवनमा हिंसात्मक आक्रमणअघि आफूले गरेको सम्बोधनको बचाउ गरेका छन् ।

आफ्ना समर्थकलाई संसद भवनमा प्रवेश गरि चुनावको नतिजा उल्ट्याउन उक्साउने गरि भाषण गरेका ट्रम्पले त्यसको बचाउ गरेका हुन् ।
गएको बुधबार आफूले गरेको सम्बोधन पूर्ण रुपमा जायज र उचित रहेको ट्रम्पले बताएका छन् ।

ट्रम्पले सो भाषणाको क्रममा आफ्ना आक्रोशित तथा हतियारसहित (केही) आएका समर्थकलाई संसद भवनमा घुस्न सुझाएका थिए । त्यसपछि ट्रम्प समर्थकहरुले तल्लो र माथिल्लो सदनको संयुक्त शत्र जारी रहेका बेला संसद भवनमा आक्रमण गरेका थिए ।

नोभेम्बर ३ मा भएको चुनावमा विजयी जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने प्रयासमा ट्रम्पले आफ्ना समर्थकलाई उक्साएका हुन् ।

संसद भवनमा भएको हिंसामा एक प्रहरी अधिकारीसहित पाँचजनाको ज्यान गयो । तर ट्रम्पले भने सो आक्रमणका लागि उक्साउने आफ्नो कार्य पूर्ण रुपमा उचित रहेको बताएका हुन् ।

संसद भवनमा बिद्रोहका लागि उक्साएको अभियोगमा तल्लो सदनमा डेमोक्र्याटहरुले राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका छन् । ट्रम्पले सो कार्य हाँस्यास्पद भन्दै खारेज गरेका छन् । तल्लो सदनमा बुधबार महाभियोग प्रस्तावमाथि मतदान हुने तयारी छ ।

ट्रम्प जनवरी २० मा सत्ताबाट बाहिरिँदै छन् । जो बाइडेनले सो दिन शपथ लिएर अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हाल्ने छन् ।

महाअभियोग प्रस्तावले देशमा ठूलो मात्रामा आक्रोश खतरा सिर्जना गरेको बताएका ट्रम्पले आफू हिंसाको पक्षमा भने नरहेको दाबी गरे ।

मेक्सिकोसँगको सीमा क्षेत्रमा निर्माण गरिएको पर्खालको केही भाग अवलोकनका लागि टेक्सास जाने क्रममा ट्रम्पले ह्वाइट हाउसमा पत्रकारलाई प्रतिक्रिया दिएका हुन् ।

गएको बुधबार संसद भवनअघि जम्मा भएको समर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले संसद भवनमा मार्च गर्न भनेका थिए ।

आफ्नो भाषणलाई बंग्याएर आफू विरुद्ध प्रयोग गरिएको आरोप ट्रम्पले लगाएका छन् । तर उनकै सहयोगी, रिपब्लिकन नेताहरुसहितले ट्रम्पको भाषण आपत्तिजकन र हिंसाका लागि उक्साउने खालको रहेको भन्दै निन्दा गरेका छन् ।

पुस २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्