थारु समुदायमा माघीको रौनक

दाङ–माघेसंक्रान्तिमा लाग्ने मेला तथा महोत्सवमा रोक लगाइएको भए पनि थारु बस्तीमा‘ माघ’ पर्वको रौनक छाएको छ। थारु समुदायले‘माघ’लाई नयाँ वर्षको रुपमा मनाउने भएकाले पनि यसको महत्व बढेको हो।

सरकारले पनि थारु समुदायको‘माघ’ पर्वलाई लक्षित गर्दै लुम्बिनी प्रदेशमा माघ १ र २ गते गरी दुई दिन सार्वजनिक बिदा दिएको छ।

‘माघ’ पर्वको तयारी महिना दिन अघिबाट सुरु हुन्छ। खानाका परिकारहरू पकाउनका लागि काठ, दाउरा अन्दी चामलको गुलियो जाँड, रक्सी, वनबाट मालु र सालको पात टिपेर ल्याई दुना, टपरी बनाउने गरिन्छ। यो पहिलो चरणको तयारी हो।

यस पटक थारु समुदायको मुख्य चाड‘माघ’लाई कोभिड–१९ ले प्रभाव पारेको छ। गाउँमा ठूलो जमघट तथा मेला महोत्सव लगाउन रोक लगाइएको छ। घर परिवारमा स्वास्थ्य सावधानी अपनाएर पर्व मनाउन अनुरोध गरिएको छ।

माघीकाे अघिल्लाे दिन ‘जिता मार्ना दिन’ अर्थात सुंगुर मार्ने चलन छ। रातभर ढमार गीत गाएर जाग्राम बस्ने परम्परा छ। यो परम्परा नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन।

‘बुढा पुरानाले ढमार गाउने गर्छन्। रातभर जाग्राम बस्ने र बिहान नुहाउने चलन छ’,’ थारु पत्रकार छविलाल कोपिलाले भने, ‘पुरानो संस्कार यथावत छ । तर, नयाँ पुस्तामा हस्तान्तरण पनि जरुरी छ।’

माघ १ गते खोला, नदी, तलाउमा स्नान गर्ने, चेलीबेटीको लागि निसराउ, मासको दाल, चामल र नुन’ निकाल्ने गरिन्छ। त्यसपछि सेवा ढोग लाग्ने र आशिर्वाद लिने चलन छ। माघ १ गते बाट थारु समुदायमा नयाँ वर्षको सुरुवात हुन्छ।

वर्षभरीको पारिवारिक र गाउँको सार्वजनिक योजना बनाउने गरिन्छ। यो प्रचलन अझै छ। परिवारमा भिन्न हुने टुंगो पनि यसैबेला गरिन्छ। गाउँमा अगुवा, कट्कन्दार, भलमन्सा चुन्ने पनि गरिन्छ। यो लोकतन्त्रिक प्रकृया थारु समुदायमा वर्षौं अघिदेखि चल्दै आएको छ। अहिले पनि चलिरहेको छ।

थारु संस्कृति अध्ययनकर्ता उदयराज आलेले थारु समुदायको परम्परा मान्ने चलनमा सुधार आएको बताए।

‘परम्परागत रुपमा मान्दै आएको चलनमा केही सुधारहरु आएको छ। सुधार भन्नाले अत्याधिक मादक पदार्थ सेवन र अत्याधिक माछा मासु खाने प्रचलनलाई केही सुधार गरेको पाइन्छ,’ उनले भने, ‘विगतमा जस्तो दुःख छैन। जाड रक्सीमा धेरै अन्न खर्च गर्ने चलन थियो। थारु समुदायमा माछा मासु नखाने पूर्ण शाकाहारी अभियान पनि चलेको छ। व्यवस्थित किसिमले ‘माघ’मान्न थालेका छन्। यो राम्रो हो।’

परम्परालाई मान्दै जाने र सुधार गर्दै जने दुवै कुरा राम्रो भएको तर्क उनको छ।

पुस २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्