काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले काठमाडौँमा बृहत कार्यकर्ता भेला गरेको छ। नेकपा काठमाडौँ जिल्ला कमिटी दाहाल–नेपाल समूहले कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा भेलाको आयोजना गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ।

संसद विघटनविरुद्ध नेकपा दाहाल–नेपाल समूहले निरन्तर प्रदर्शन तथा भेलाहरुको आयोजना गर्दै आएको छ। यसै क्रममा बुधबार दाहाल–नेपाल पक्षको काठमाडौँ जिल्ला कमिटीले भेलाको आयोजना गरेको हो।

भेलामा  सम्बोधन गर्दै नेकपा (दाहाल–नेपाल) अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको चर्को आलोचना गरेका छन्।