काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियु (दाहाल–नेपाल)ले संसद विघटनको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओलीका कार्टुन प्रदर्शन गरेको छ।

विभिन्न पत्रपत्रिका/अनलाइनमा प्रकाशित प्रधानमन्त्री ओलीका कार्टुनहरु संकलन गरेर अनेरास्ववियुले संसद विघटनको सांकेतिक विरोध गरेको हो। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा कार्टुन प्रदर्शन गरिएको हो।

अनेरास्ववियुका केन्द्रीय सदस्य ईन्द्र  भुसालले कार्टुन प्रदर्शनी प्रधानमन्त्री केपी ओलीबाट भएको संसद विघटनविरुद्धको आन्दोलनको निरन्तरता भएको बताए।

प्रधानमन्त्री ओलीको ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भन्ने अभिव्यक्तिदेखि लिएर अन्य विविध विषयमा उनलाई व्यंग्य गरिएका कार्टुनहरु प्रदर्शन गरिएको थियो।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको देशभर विरोध भइरहेको छ।

बुधबार नेकपा (दाहाल–नेपाल) काठमाडौँ  जिल्ला कमिटीको आयोजनामा प्रज्ञा प्रतिष्ठानमा बृहत कार्यकर्ता भेलाको समेत आयोजना गरिएको थियो।

भेलामा सम्बोधन गर्दै नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले संसद विघटनको चर्को विरोध गरेका छन्।