वडाध्यक्षको निर्देशनमा दलित बस्तीमा डोजर चल्यो, पीडितको विचल्ली

वीरगञ्ज– नेपाल रेल्वेको जग्गामा बसोबास गर्दै आएका दलितहरुको बस्तीमा डोजर चलेपछि त्यहाँ बस्दै आएका स्थानीय विचल्लीमा परेका छन्।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ परवानीपुरस्थित रेल्वेको जग्गामा बस्दै आएका दलित बस्तीको १२ वटा घरमा डोजर चलेपछि उनीहरुको विचल्ली भएको हो।

केही दिनअघि वडा नम्बर २१ का वडाध्यक्ष हबिब मियाँकै उपस्थितिमा रेल्वेको जग्गामा वर्षौदेखि घर बनाएर बस्दै आएका १२ परिवारको घरमा प्रशासनले डोजर चलाएको थियो।

पूर्वसूचना बिना वडाध्यक्ष मियाँको निर्देशनमा आफूहरुको घरमा डोजर चलाइएको पीडितले गुनासो गरेका छन्।

पीडितहरुले आफूहरुलाई अन्यत्र बस्ने सुविधा हुनुपर्ने माग गर्दै बुधबार वीरगञ्जमा पत्रकार सममेलन पनि गरेका छन्। पत्रकार सम्मेलनमा उनीहरुले पूर्वाग्रही ढंगले वडाध्यक्षकै मिलेमतोमा केही घरहरुलाई मात्र भत्काएर आफूहरुलाई घर न घाटको बनाइएको गुनासो गरेका छन्।

घर भत्काइएपछि आफूहरु अहिले रोडमै त्रिपाल टाँगेर बस्नुपर्ने बाध्यता आएको पीडित गिरिजा देवीले बताइन्। उनले वर्षौदेखि रेल्वेको जग्गामा बसोबास गर्दै आएपनि अहिले अचानक घर भत्काउँदा बालबच्चासहित चिसोको मौसममा घरबारविहीन बनेको दुखेसो पोखिन्।

‘केही पनि नभनिकन वडाध्यक्षसहित प्रहरीको टोली डोजरसहित आएर घर भत्कायो,’ उनले भनिन्, ‘हामीहरुलाई घरको सामानसमेत निकाल्न दिएनन्, अहिले घर भत्केपछि जताततै त्रिपाल टाँगेर बस्दै आएका छौँ।’

घर भत्काइएपछि जाडोको मौसममा साना नाति–नातिनी थप विचल्लीमा परेको उनले बताइन्।

अर्की पीडित उर्मिला क्षेत्रीले घर भत्काउनुअघि सूचना दिनुपर्नेमा खबरै नगरेर घरमा डोजर चलाइएको बताइन्।

‘मेरो सासु–ससुरा पनि त्यही रेल्वेकै जग्गामा घर बनाएर बस्दै आएका हुन्, पछि हामी पनि त्यही घरमा बसेका हौँ। अहिले घर भत्काउँदा हामीहरु कहाँ जाने अब?,’ उनले प्रश्न गरिन्।

वडाध्यक्षले नै डोजर चलाउन लगाएपछि आफूहरुको घरपनि डोजरले भत्काउने चिन्ताले सताउन थालेको पत्रकार सम्मेलनमा सहभागी रेल्वैकै जग्गामा बसोबास गर्दै आएका रामदेव रामले बताए। स्थानीय जनप्रतिनिधिले आफ्ना घर भत्काउने धम्की दिइरहेको उनले बताए।

 स्थानीय नेता राधा कृष्ण रौनियारले रेल्वेको जग्गामा बनेका अरु घरपनि भत्काउने बताए। यसबारे बुझ्न वडाध्यक्ष हबिब मियाँलाई पटक–पटक फोन गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।

पुस २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्