प्रदेश १ मा थप २५ जनालाई कोरोना, ३४ जना डिस्चार्ज

मोरङ– प्रदेश १ मा थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश १ सामाजिक मन्त्रालयका अनुसार बुधबार ५ सय ७३ जनामा गरिएको पीसीआर परीक्षणका क्रममा ११ महिला र १४ पुरुषमा संक्रमण पुष्टि भएको हो।

यसक्रममा मोरङमा १०, झापामा ५, सुनसरीमा २, भोजपुर, तेह्रथुम र पाँचथरमा समान १ र प्रदेश १ बाहिरका ५ जना रहेको मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगर महानगरपालिकामा ४, ग्रामथान गाउँपालिकामा २, बुढीगंगा गाउँपालिकासँगै पथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैंचा नगरपालिकामा समान १ जनामा संक्रमण देखिएको छ।

झापाको बुद्धशान्ति गाउँपालिकामा २, गौरीगञ्ज, भद्रपुर र विर्तामोड नगरपालिकामा समान १ जनामा संक्रमण पुष्टि भएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकामा समान १ जनाको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ।

त्यसैगरि पहाडी क्षेत्रतर्फ भोजपुरको भोजपुर नगरपालिका, तेह्रथुमको म्याङलुङ र पाँचथरको फिदिममा समान १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म प्रदेशमा कोरोना संक्रमितको संख्या ३० हजार ४९ पुगेको छ।

प्रदेश १ मा बुधबार ३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार निको भएर डिस्चार्ज भएकाहरु सबै होमआइसोलेसनका रहेका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ३ सय ७२ पुगेको छ।

पुस २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्