ओलीलाई दाहालको प्रश्न

संसद विघटनमा कतै भारतको साथ त छैन ?

फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णय, त्यसबाट सिर्जित सत्तारुढ नेकपाको विभाजनको अवस्था र उनकोे पछिल्लो समय भारतसँग बढेको सम्पर्कप्रति नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गम्भीर प्रश्न उठाएका छन्।

यसअघि पार्टी एकता टुटाउन विदेशी शक्तिहरुले षड्यन्त्र भइरहेको बारम्बार अभिव्यक्ति दिँदै आएका दाहालले ओलीले पार्टीमा अल्पमतमा परेपछि राजीनामा दिनुको साट्टो संसद विघटनसँगै पार्टी विभाजन गर्ने बल कतै भारतबाटै प्राप्त गरेको त होइन भन्ने प्रश्न उठाएका हुन्।

तर उनले यसमा भारत नभई ओली मात्रै दोषी रहेको भन्दै भारतको घुमाउरो रुपमा बचाउ समेत गरेका छन्। ११ दिन अघि ओलीले आफूलाई दर्जन भन्दा बढी आरोप लगाएको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको मञ्च बाटै उभिएर दाहालले बुधबार ओलीलाई लोकतन्त्रप्रति माया र सम्मान दुवै नभएको र विदेशी शक्तिको मन्त्री सुनेर संसद विघटन र पार्टी विभाजनको निर्णय लिएको हुने सक्ने आशंका गरे।

उनले भने, ‘विदेशी शक्ति आएर मन्त्री सुनाए र ओलीजीले त्यो मन्त्र सुन्नु भयो।’ भारतीय टेलिभिजन जी न्युजसँगको ओलीको अन्तर्वार्ता पनि नाटक भएको दाहालले किटान गरे। उनले भने, ‘ओली र जी न्यूजबीच नाटक नै भएको भन्ने पटाक्षेप भइसकेको छ। अब एभरेस्टको नाम फेर्ने रे जी न्यूजले।’

पार्टीमा विवाद उत्कर्षमा पुगेपछि प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक जारी रहेका बेला बालुवाटारमा गत असार १४ गते आयोजित मदन भण्डारी जन्मजयन्ती कार्यक्रममा आफूलाई पदबाट हटाउन भारतीय दूतावाससँग मिलेर आफ्नै पार्टीका नेताहरुले होटल–होटलमा गतिविधिहरु गरिरहेको आरोप लगाएका थिए।

ओलीको त्यो अभिव्यक्ति भारतीय मिडियामा उल्लेख्य कभरेज पाएको थियो भने यता नेपालमा दाहाल र उनलाई समर्थन गरिरहेका नेकपाका वरिष्ठ नेताहरुले स्पष्टीकरण मात्र नभएर पार्टी र सरकारको बदनाम गरेको आरोप लगाउँदै ओलीको राजीनामा समेत माग गरेका थिए।

बामदेवले ओलीविरुद्धको मोर्चाबन्दीबाट पछि हटेपछि भदौ २६ मा कार्यदल बनाएर ओली पाँच वर्ष नै प्रधानमन्त्री बन्ने, दाहाल कार्यकारी अध्यक्षमा रहिरहने भन्ने गत वर्ष मंसिर चार गतेको सचिवालय बैठकको निर्णयलाई पुनव्र्याख्या गरेर विवाद मत्थर पारिएको थियो ।

तर त्यसको केही सातापछि नै पार्टीको निर्णयविपरीत विवादास्पद निर्णयहरु बढाउँदै लगेको प्र्रधानमन्त्री ओलीले राजीनामाको दबाब थेग्न नसकेपछि यही पुस पाँच गते संसद विघटन गरेका थिए। त्योसँगै ३० महिना अघि एक भएको नेकपा विभाजित अवस्थामा पुगेको हो ।

‘असारमा मलाई भारतले हटाउन खोजेको छ, मेरा साथीहरुले पनि हटाउन खोजेका छन् भन्नुहुन्थ्यो। त्यतिबेला हामीले तपाईँलाई हटाएनौँ। भारतले भन्दैमा नहटाउने भन्यौँ, ‘प्रचण्डले ओलीलाई सार्वजनिक रुपमै सोधे, ‘अहिले संसद भंग गर्ने, पार्टी विभाजन गर्ने काम भारतले भनेर गरेको हो? सारा जनताले बुझेका छन्। यसलाई के भन्नुहुन्छ केपी जी? मेरो प्रश्न तपाईँलाई। यसलाई के भन्नुहुन्छ?’

तर उनले यसको दोष भारतलाई दिन नखोजेको भन्दै भारतको घुमाउरो बचाउ गरे। उनले भने, ‘मैले यो भारतलाई केही भन्न खोजेको होइन, भ्रम नपरोस्।’

योसँगै दाहालले पार्टीलाई कुनै जानकारी नदिई भारतीय प्रधानमन्त्रीको विशेष ‘दूत’ भन्दै कस्तो दूत बोलाएर तीन घण्टा मध्यरातमा बालुवाटार के छलफल गरेको हो? भन्ने प्रश्न पनि ओली सामू तेर्साएका छन्।

उनले भने, ‘ओलीले कस्तोलाई विशेष दूत भनेर बोलाउनु भयो? तीनतीन घण्टा एक्लै बालुवाटारमा के गर्नु भयो, परराष्ट्रको मानिस समेत नराखीकन?’ दाहालले ओलीमा संविधान, लोकतन्त्र, संघीयता, गणतन्त्रप्रति जबाफदेहीता शून्य भएको पनि दाबी गरे। पार्टीका सबै तहमा अल्पमतमा परेपछि राजीनामा नदिएर संसद भंग गर्ने? पार्टी विभाजन गर्ने तागत कहाँबाट आयो? दाहालको ओलीलाई अर्को प्रश्न थियो।

उनले भने, ‘हामीलाई पहिले धम्की दिनुहुन्थ्यो। मलाई हटाउन खोजे कुर्सी भाँचिदिन्छु। मलाई त लागेको थियो एउटा कुर्सी मात्रै भाँचे अर्को बनाउला? तर उहाँमा संविधान, संघीयता, लोकतन्त्र, गणतन्त्र सबै नै भाँचभुच, राष्ट्रनै भाँचभुच पार्ने छाट आयो। के गरी सहने? सामान्य मानिस यस्तो स्वभावको हुन्न। नराम्रो काम गर्दा डर किन लागेन उहाँलाई?’

दाहालले ओलीका सबै गतिविधि कुनै तान्डव या भांग खाएर नाचेको जस्तो देखिने आरोप लगाए। ओलीमा ‘आइ एम द स्टेट’ भन्ने तानाशाह प्रवृति देखिएको र केही महिनामै हिटलर जसरी ओली ढल्ने दाहालको दाबी थियो। दाहालले ओलीलाई भने, ‘भ्यागुतोको भुँडी फुलेजस्तो आफूलाई ठूलो मान्ने। ओलीले पेट फुलाउँदै गएका छन्। हामी हेरिरहेका छौँ कुनै दिन भ्याट्ट फुट्छ।’

माधव नेपाल एक नम्बर अध्यक्ष उद्घोष


पार्टी फुटाउनुमा प्रचण्डभन्दा माधवकुमार नेपालको बढी भूमिका रहेको आरोप ओली पक्षले लगाउन थालेको छ। तर उनी प्रचण्डको मामुली कार्यकर्ताको हैसियतमा आफूबाट अलग्गिएको टिप्पणी ओलीले सार्वजनिकरुपमै गर्र्दै आएका छन्।

बुधबारको दाहाल–नेपालको भेलामा फरक दृश्य देखियो। अघिपछिका बेलामा दुवै जना प्रमुख अतिथि बन्दै आएका थिए। बुधबार नेपालले बैठकको अध्यक्षता गरिरहेका थिए।

‘पार्टी बचाउन मैले ओलीलाई एक नम्बर अध्यक्ष छोडेको थिए। तर उहाँले त्यसको मर्म बुझ्नु भएन। मिल्नेको कुरा अर्कै हुन्छ, ‘नेपाललाई इंगित गर्दै दाहालले भने, ‘प्रचण्डसँग माधव नेपाल मिलेको भन्दै सरापेका छन्। पूर्व एमाले फुटाएको आरोप उहाँलाई लागेकोृ छ। त्यस्तो होइन। म माधवभित्र गएँ। म मिले। उहाँलाई एक नम्बरको अध्यक्ष भन्दा मलाई आनन्द आउँछ। आज प्रमुख अतिथि बन्नु भएको छ।’

प्रचण्डले थपे,‘ ओलीले मलाई एमाले फुटाउन आएको, सिध्यायो भनेछन्। नेपाललाई प्रचण्डले कच्याचकुचुक पारिदिन्छ पनि भन्दा रहेछन्। साथीहरु आत्तिएका छन्। तर यसमा भ्रम नराखे हुन्छ।’ राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि पार्टी एकता गर्दा बदलामा ओलीबाट अपमान मात्रै पाएको गुनासो गर्दै आएका दाहालले फरक प्रस्तुतीबाट आफ्नो पीडाको विस्फोट गर्ने कोशिस गरे।

अघिपछि औपचारिक शब्दावलीको प्रयोग भाषणमा गर्र्दै आएका दाहालले बुधबार अनौपचारिक शैलीमा ओली लक्षित प्रश्नहरुको भेल बगाए। पार्टी विभाजनपछि ओलीबाट आइरहेका सार्वजनिक अभिव्यक्ति र भइरहेका क्रियाकलपालाई दाहालको आपत्ति थियो। अन्त्यमा ओली कदमविरुद्ध निर्भिक रुपमा भोलीबाटै दोस्रो चरणको आन्दोलन गर्ने र त्यसमा लाखौ मानिस उतार्ने उनको उद्घोष थियो।

पार्टीले काम गर्न नदिएको प्रमाण पेश गर्न चुनौति


ओलीले आफूलाई पार्टीले काम गर्न नदिएका कारण संसद भंग गरेको तर्कलाई पनि दाहालले चुनौति दिएका छन्। उनले प्रश्न गरे, ‘पार्टीले सरकारलाई काम गर्न कहाँ दिएन, कहाँ बाधक बन्यो? एउटा मात्रै प्रमाण पेश गर्न चुनौति दिन्छु।’

दाहालले थप प्रश्न गरे, ‘बरु पार्टीले गरेको निर्णय कार्यान्वयन नगर्दा बिग्रेको हो। सर्वदलीय संयन्त्र बनाउन मानिएन। महामारी नियन्त्रणका सामग्री खरीद गर्दा भ्रष्टाचार कसले गर्यो? पार्टीलाई किन विश्वासमा लिन नसकेको?’

आयोगले सूर्य चिन्ह नदिए कयामत आउँछ


आफूहरु आधिकारिक भएको दाबी गर्दैै आएका दाहालले निर्वाचन आयोगप्रति भरोसा प्रर्दशन गरे।

उनले संविधान, राजनीतिक दल ऐन र पार्टी विधानमा बहुमत हुनलाई गणपुरक संख्या चाहिने र विधान संशोधन गर्न केन्द्रीय कमिटी दुई तिहाई बहुमत चाहिने स्पष्ट व्यवस्था हुँदाहुँदै त्यो भन्दा बाहिर गएर ओलीले विधान संशोधन गरेर ११ सय ९९ पुर्याएको भन्दै आयोगमा दिनु नाटक मात्रै भएको प्रचण्डको भनाई छ।

उनले भने,‘ हामीले अनुशासनहिन क्रियाकलापले ओलीलाई हटाएको अवस्थामा आयोगले ओलीलाई अध्यक्ष भनिराख्न मिल्छ भनेर हामीले आयोगलाई सोधेका छौँ।’ आयोगले पनि तथ्यमाथि नै फैसला गर्ने भनेर आफूहरुलाई विश्वस्त हुन आग्रह गरेको दाहालको दाबी छ।

उनले भने, ‘आयोगले हाम्रो पार्टीको नाम नेकपा र चुनाव चिन्ह सूर्य नै दिने छ। यदि त्यसो भएन भने यहाँ कयामत आयो भन्छन् नि, यहाँ आँधिहुरी, बतास आउँछ। केपी ओलीले संविधान मिचेजस्तै गरेर, उनले संविधानको मुटुमाथि छुरा प्रहार गरे जस्तै संवैधानिक आयोगहरुले त्यही गर्न थाले भने यो देश र नेपाली जनता हेरेर बस्न सक्छन्? हेरेर बस्न सक्ने छैनन्। त्यस्तो हुने छैनन्।’

पुस २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्