माघी: थारु समुदायको लागि अवसर र चुनौति

माघी नेपालमा बसोवास गर्ने विभिन्न समुदायहरुले मनाउने पर्वहरु मध्येको एक पर्व हो जसलाई प्रत्यक्ष र अप्रत्यक्षरुपमा सबै नेपालीहरुले मनाउने गर्दछन्। अनादिकालदेखि तराई र भित्रि तराईमा बसोवास गरिआएका थारुहरुले मनाउने पर्वहरु मध्येका यो पनि एक पर्व हो।

यसको शुरुवात कहिले देखी भएको हो भन्ने यकिन नभए थारु समुदाय अस्तित्वमा आए देखी शुरु भएको विश्वास गरिन्छ र प्रत्येक बर्ष माघ १ गते धुमधामको साथ मनाउने चलन रहिआएको छ। यो माघ महिनामा मनाउने भएकोले यसलाई माघी, तिलासंक्रान्ति, मकरसंक्रान्ति, माघेसंक्रान्ति, खिचरी, माघ जस्ता नामले पनि जान्‍ने गरिन्छ। सूर्य मकर रेखाबाट कर्कट रेखामा जाने भएकोले मकरसंक्रान्ति भनिएको हो भने यो पर्वमा प्रकृतिको उपहार तिलको महत्वपूर्ण स्थान रहेकोले तिलासंक्रान्ति पनि भनिएको हो।

थारु समुदायमा माघीको दिन देखी नै सुर्य तिले तिले बढ्ने भएकोले दिन ठुलो र रात कमशः कम हुने गर्दछन भने जनविश्वास समेत रहेको छ। यसै अवसरमा बर्ष भरिको हर हिसाब फर्छौट गरि आउने सालको लागि योजना बनाउने कार्य गर्ने भएकोले यसलाई नयाँ आर्थिक वर्षको रुपमा पनि लिने गरिन्छ। कतिपय लेखकहरुले यसलाई नयाँ बर्ष र थारु सम्वतको रुपमा पनि आफ्नो धारणा राख्ने गरेको छ । तर शुक्ष्म रुपमा विश्लेषण गर्ने हो भने थारुहरुले सालको पहिलो महिना वैशाख नै मानेको देखिन्छ।

यही महिनामा नै महामानव गौतम बुद्ध को जन्म, ज्ञान प्राप्ति र देह त्याग गरेको थियो। यसै महिनामा थारुहरुको सिरुवा जुरसितल तथा नेवार समुदायको बिस्केट जात्रा मनाउने गर्दछन भने थारु समुदाय संग भाषा बाहेक शारीरिक बनौट, खानपिन, संस्कृति, धर्म इत्यादि धेरै हदसम्म मिल्ने गरेको भारत,श्रीलंका,बंगलादेश,थाइल्याण्ड, म्यानमार, कम्बोडिया, लावोस, भेतनाम,मलेसिया तथा चिनको दाइ अल्प संख्यक समुदायका मानिसहरु पनि थारु समुदायले मनाउने जस्तै सिरुवा जुरशीतललाई ऋतु परिवर्तन स्वरुप नयाँ वर्षको शुरुवात महासोंक्रान, थिनग्यान, पिमाई, लाउ, चौलचाम थ्ले, आथुल अबुरुदुजस्ता नामले मनाउने गर्छन्। थारु समुदायमा नयाँ साल बारे जुन मान्यता रहेकोछ त्यस देशहरु पनि त्यही नै मान्यता रहेको छ।

थारु सम्वतलाई लागि चाहिने आवस्यक तत्वहरु र त्यसले मान्यता पाउने आधारहरु नपहिल्याइकन मनमा जे लाग्यो त्यही घोषणा गरेर भन्दा पनि यसको बारेमा अझै अनुसन्धान र खोज गरी निर्णय गर्नु नै उत्तम हुन्छ।यो पर्वले थारु समुदायमा बिषेश महत्व राख्दछ। थारु समुदाय यसलाई मनाउनको लागि महिनौ दिन अगाडिदेखि तयारीमा जुटेको हुन्छ। कृषिमा अधारित थारु समुदाय भुमिपुत्र र जमिनदार पनि हो। अन्‍न बाली भित्रियाएको समय भएकोले घरमा अन्नको कुनै कमि रहने कुरै भएन। सेवालाई अन्‍नसँग साट्ने परम्परा अनुसार यस समयमा थारुहरु बर्ष भरिको हर हिसाब फर्छौट गर्ने गर्दछन जो की मंसिर महिनादेखि नै शुरु भएको हुन्छ।

अन्‍नको व्‍यवस्थापन गर्नुको साथै अगामी वर्षको लागी योजना बनाउनुको साथै घरमा मुन्सी,कामदार, नोकर चाकर राख्ने काम समेत यसैको शुभ अवसरमा गर्ने गर्दछन्। कृषि बाहेकको अन्य कामको लागि विभिन्न समुदायका व्‍यक्तिहरुसँग पनि यसै समयमा सम्झौता गर्ने गर्दछन्। जस्तै- फलाम तथा गरगहना बनाउने कामको लागि, कपाल काट्ने तथा पुजा पाठमा सघाउने आदि  अर्थात उनीहरुको कामको प्रकृति अनुसार एक वर्षअको लागि काममा लगाउने वा हटाउने के गर्ने हो त्यसको लागि सम्झौता गर्ने गर्दछन्। जुन अहिलेसम्‍म अलिखित इतिहासको रुपमा रहेको छ। किनभने थारुको बोली गोली सरह हुने गरेकाले जे निस्कियो त्‍यो पछि फर्किदैन भन्‍ने शैली अहिलेसम्‍म कायमै छ। तर अहिले सबै समुदायका ब्यक्तिहरुले आफ्नो सीप अनुसारको काम गर्ने भएकोले यस्तो परम्परा क्रमश हट्दै गइरहेको छ। यो सेवालाई तत्काल मुद्रासँग साट्ने चलनको पनि शुरुवात भएको छ। यस पर्वले सामाजिक संरचना मजबुत बनाउनुको साथै समाजमा रहेको विभिन्‍न जातिय समुदायबीचको अन्तर सम्बन्धलाई पनि मजबुत बनाउने काम गरेको छ।

यता, सोही अवसरमा थारु समुदायमा माइन्जन, जेबार,मुली, बरघर, चुन्‍ने परम्परा पनि माघीले नै निर्धारण गर्दै आएको छ। जसले गाँउघरमा हुने सानोतिनो झगडा, असहमति तथा विवाद सजिलै सँग समाधान गर्ने गरिन्छ। यही मोडेल अहिले सरकार संघीयताको अभ्‍यास अन्तर्गत स्थानीय, प्रदेश र संघमा चलाइरहेको छ। तर यो चलन अहिले पनि थारु समुदायमा कायम भए पनि सरकारले भने यसलाई कानुनी मान्यता दिन चाहेको छैन। चौकीदार र गोराइत राख्‍ने, हटाउने वा नयाँ राख्ने पनि यसै समयमा निधो गर्ने चलन रहिआएको छ।

थारु समुदायले आफ्नो घर, आँगनलगायत अन्य स्थानहरुको विशेष किसिमले सरसफाई गर्नुको साथ साथै लिपपोत गरी चिटिक्क पारेको हुन्छ। यस पर्वले थारूहरु बीचको सम्बन्ध सौहार्दपूर्ण र मजबुत बनाउनुको साथै पुरानो रिसीइबी, बैमनश्‍यता, रिस-राग, द्वेष, इर्ष्या, लोभ र मोहलाई हटाउने गर्दछन्। परिवार वा साथीभाइमा जे जस्तो किसिमको मनमुटाव भएपनि निसङ्कोच मान्यजन तथा पुर्खाको हातबाट शुभआशीर्वाद थाप्‍ने र शुभकामना आदानप्रदान गर्ने गर्दछन् थारु समुदाय माघी महोत्सवमा।

माघीलाई एकआपसमा लड्ने काम भएमा कमजोरी र ‘भाइ फुटे गवाँर लुटे’ साबित हुन सक्छ भने यसलाई थारुको विविधतामा एकताको रुपमा लिएमा थारुको नयाँ शक्तिको रुपमा नयाँ मार्ग दर्शनको रुपमा स्थापित हुन सक्छ जरैदेखि।

मेलमिलापछि यस पर्वमा विभिन्‍न किसिमका मिठा-मिठा परिकार बनाइ खाने चलन समेत छ। माछा-मासुका शौखिन थारू समुदाय माघीको तयारीका लागि माघी आउनुभन्दा एकदिन पहिले नै माछा मार्ने गर्दछन्। प्रकृतिमा रम्‍ने जाति भएकाले थारु समुदाय प्राय: नदीको छेउछाउ बसोवास गरेका हुन्छन् भने प्रत्येक गाउँमा कम्तिमा पनि एउटा पोखरी रहेकै हुन्छ। उनीहरु माघीको दिन बिहानै त्‍यो पोखरीमा नुहाएर मात्र तिलको लड्डु खाने गर्दछन्। यसलाई नै उनीहरु तिलासंकराइत (माघी) भन्‍ने गर्दछन्।

मासु नखानेहरु तिलको लड्डु, भुजाको डल्ला (लाइ), च्यूराको लड्डु,तरुल, अल्हुवा (सखरखण्ड), ढिकरी, तेलपौर रोटी, तिलखिचरी इत्यादि खाने चलन छ भने मासु खानेहरु सो अवसरमा खसी, बंगुर, हाँस,परेवाको मासु खाने गर्दछन् । काठमान्डौमा थारुहरु बसोबास गर्दा देखी यो पर्व व्यक्तिगत रुपमा मनाउँदै आएपनि यसलाई सामूहिक रुपमा उत्सवको गरी २०५९ सालदेखि शुरु गरेको हो। त्यसपछि नेपाल सरकारले यसलाई विशेष रुपमा सम्बोधन गरी थारु समुदायलाई विदा दिने निर्णय गर्‍यो र सोही राष्ट्रिय पर्वको रुपमा सुचिकृत गरी सार्वजनिक विदा दिन थालेको हो।

अहिले जिल्ला-जिल्ला तथा अन्तर्राष्ट्रिय स्तरमा, अमेरिका, आष्ट्रेलिया, दुबई, मलेसिया जस्ता देशको विभिन्न ठाउँहरुमा पनि थारु समुदायले माघी महोत्सव धुमधाम साथ मनाउन थालिएको छ। महोत्सवलाई उत्सवको रुपमा मनाउँदै थारू संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, सांस्कृतिक झाँकी,थारूहरूको मौलिक खानाको परिकार, घोंघी, ढिक्री, सितुवा, परेवाको मासु, गंगटो जस्ता परिकारहरु रहेका हुन्छन भने थारु परम्परा झल्किनेनाचगानजस्ता कार्यक्रम पनि प्रस्तुत गर्ने गरिएको छ।

महोत्सवमार्फत थारुहरुले आफ्नो माग, मुद्दा पनि उठाउने अवसर प्राप्त गर्दछ भने यसबाट सरकारको अवधारणा बुझ्नमा मदत पुग्ने माध्‍यमको रुपमा लिएका हुन्छन्। नेपाल सरकारका मन्त्री तथा नेताहरुले थारु महोत्सवको अवसरमा थारुहरुको माग मुद्दाको बारेमा विभिन्‍न आश्वासन दिएर पूरा गर्ने प्रतिवद्धता व्‍यक्त गरे पनि त्यो हालसम्म आश्वासनकै रुपमा रहेको देखिन्छ। जे जसो भए पनि यसले थारुहरुको आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ भने विश्वमा नेपाल र नेपालीलाई चिनाउने काम गरेको छ। जसबाट सँस्कृतिको प्रचार प्रसार भई पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्न गई नेपाल भ्रमणको प्रचार प्रसार पनि हुन पुगेको छ। यसले देशभरी छरिएर रहेको थारु समुदायलाई एकतावद्ध गरी एक आपसमा चिरपरिचित हुन समेत सहयोग पुर्‍याएको छ।

माघीमा संस्कृतिसँगै विकृति पनि !


हाल संस्कृतिको रुपमा थारु समाजमा विकृति पनि त्यतिकै भित्रिन थालेको छ।आफ्नो कला संस्कृतिभन्दा पनि अरुको संस्कृतिको नक्कल गर्ने चलन दिनप्रदित युवाहरुमा बढेको छ भने खानपनिमा जाँड रक्सीलाई प्राथमिकता दिने गरिएको छ। तर उक्त विकृतिहरुलाई रोक्न थारु कल्याणकारीणी सभाले आफ्नो विधानको उदेश्यमा उल्लेख गरेपनि रोकिनुका साटो झन बढदै गइरहेको छ।

खानपीनको लागि कुनै बन्देज नभएको यो पर्वमा पुषको अन्तिम दिन नै पकाउनमा थाल्छन्। खास गरी महिला दिदी बहिनीहरुको यसलाई सफल बनाउनमा महत्वपूर्ण भूमिका रहेको हुन्छ । उनीहरुको कला कौशलले नै विभिन्‍न किसिमको परिकार तयार भइ पूरै गाँउ नै सुगन्धमय भएको हुन्छ। माघको पहिलो दिन विहानै नजिकको नदी तलाउ, इनार पोखरी आदिमा स्नान गरी घरको देउतालाई जल चढाई ठूलाबडाको आशीर्वाद लिएर मात्र खानेकुरा खाने चलन छ। तर अहिले यो चलन पनि काठमाडौँमा हराउँदै जान थालेको छ। थारु युवाहरुले यसलाई विस्तारै अस्वीकार गरी आयातित फेशनलाई ग्राहयता दिन थालेका छन् भने डिजे र आयातित गीतमा नाँचगान गर्न थालेका छन्।

त्‍यसैगरी माघीको साँझपख आफ्नो घरको साथै राजाजी थान, डिहबार थान, ग्रामथानलगायतको घार्मिक स्थानमा तथा पुर्खाको नाममा समेत दियो तथा धुप समेत बाल्ने गर्दछन्। यस पर्वमा थारुहरुले चेलिबेटीहरुलाई आ-आफ्नो गच्छे अनुसार पोको पारेर कोशेली उपहार दिने गर्दछन। जसलाई कतिपय थारुहरुले ‘निसराउ भन्छन्। तर अहिले आएर यो चलन घट्न थालेको छ।

अहिले यो चलन पनि काठमाडौँमा हराउँदै जान थालेको छ। थारु युवाहरुले यसलाई विस्तारै अस्वीकार गरी आयातित फेशनलाई ग्राहयता दिन थालेका छन् भने डिजे र आयातित गीतमा नाँचगान गर्न थालेका छन्।

विस्तारै थारु समाजमा ‘निसराउ’ दिनै छाडेका छन् चेलीबेटीलाई किनकी अहिले थारुहरुको सामाजिक र आर्थिक हैसियत खस्किँदै गएको छ। उनीहरु दिनप्रतिदित आर्थिक रुपमा कमजोर हुँदै गइरहेका छन् भने मोर्डन जमाना भन्‍दै कतिपयले यो संस्कारलाई नै तिलान्जली दिन थालेका छन्। पहिले माघीमा दिनहुँ घरमा पाहुना आउने भए पनि अहिले शहर केन्द्रित भएकाले माघीको यो चलनलाई अहिले आफू-आफूमै सीमित राख्‍न थालिएको छ।

यसका साथै अरु पर्व जस्तै माघीमा पनि नजिकको धार्मिक स्थलमा मेला लाग्ने गर्दछ। जसमा यो समुदायले सबै किसिमको दुखलाई बिसाएर मनोरञ्न गरिरहेको हुन्छ । साँझ पख जमिमिदार, माइन्जनको द्वारमा उनीहरुकै ब्यवस्थापन वा सामूहिक व्यवस्थापनमा बिभिन्न किसिमको नाच गान गरि मनोरञ्जन गर्दछन्। जसमा थारुहरुको साथै अन्य समुदायहरुको पनि त्यतिकै सहभागिता रहेको हुन्छ ।मौलिक नाच धुमरा, सखिया, मान, सोरैठ इत्यादि प्रमुख रहेको हुन्छ । आजकल आधुनिक नाचमा युवाहरुले विशेष जोर दिने गरेको छ।

थारु समुदाय पहिला जमिनदार अहिले ‘कमैया’ !


तराइमा एकछत्र रुपमा कृषिको सुरुवात र अन्‍नहरुको पुजारी, जमिनहरुको हकदार थारु अहिले आएर सामाजिक, आर्थिक कारणले जमिनदारबाट कमैयामा परिणत भएको छ। उनीहरुलाई पहिला जमिनको मालिक भनिए पनि अहिले उनीहरुलाई त्‍यही जमिनमा काम गर्ने कमैयाको दर्जा दिन थालिएको छ। त्‍यतिबेलाको राणा, राजा र पञ्‍चायकालमा थारुहरुको जमिन जसरी तमसुक र मीत लगाएर खोसियो, त्‍यसले उनीहरुको सामाजिक, आर्थिक र सांस्कृतिक चलनमै धक्का पुग्न गयो। उनीहरु क्रमश: जमिनदारबाट जमिनमा काम गरिदिने कमैया हुन पुगे। त्‍यतिबेलाको शासकको नीति र योजनाले थारुहरुको जमिनमाथि जथाभावी कर, माछामा पनि कर, धानमा पनि कर मात्र होइन नेपाली भाषामा तमसुक लेखाएर जमिन खोस्‍ने काम भयो माघी लगायत पर्वहरुको नाममा। खासगरी पश्‍चिमका अधिकांश क्षेत्रमा थारुहको आर्थिक र सामाजिक मूल्‍य मान्यतालाई भत्काएपछि उनीहरु एकपछि अर्को गर्दै कमैया, भूमिबिहीन बन्‍न बाध्‍य भए आफ्नै जमिनमा।

आर्थिक रुपमा कमजोर भएपछि शाहकहरुले माघीलाई अवसरको रुपमा लिए र त्‍यही मौका छोपेर गाउँ गाउँमा थारुहरुको नाँचगान र चेलीबेटी किनबेच अर्थात कमैया राख्‍ने चलन चलाए। यसले थारु समुदायलाई कमैयाको दर्जा दियो। थारु पुरुषहरुलाई माघीको मौकामा मीत लगाउने र जमिन हात पार्ने अनि महिलाहरुलाई घरमा काम गर्ने अवसरको रुपमा अँगाले राज्‍यबाट सञ्‍चालित सुब्बादेखि अञ्चलाधीशसम्‍मका शासकहरु। पछि कमैया बसेकाहरु पनि छुट्टी पाउने र आफ्नो मन अनुसार खान लाउन पाउने छुट दिए। यसलाई थारु समाजले मुक्तिको दिन/ दिवसको रुपमा पनि अंगाले जुन अहिले पनि तितो सत्‍यको रुपमा जीवित व्‍यक्तिहरु छँदैछन्।

यही माघीमा कमैया बस्नको लागि मोल मोलाइ गर्ने र सम्झौता गर्ने जस्ता काम पनि हुने/गर्ने गरेको तितो यथार्थ पनि कतिपय थारु समुदायमा प्रचलन चलाइएको थियो। माघीको समयमा थारुलाई माघी मनाउनको लागि विभिन्न प्रलोभनमा पारी आफ्नो स्वार्थ पूरा गर्ने गर्थे अनाहकमा।

हाल सरकारले कमैया मुक्त घोषणा गरे पनि उचित व्‍यवस्थापन गर्न नसकेको कारण उनिहरुको जीवनस्तरमा अझै पनि अपेक्षाकृत सुधार हुन सकेको देखिदैन भने अप्रत्यक्ष रुपमा अझै पनि कतिपय स्थानमा कमैया रहेको अनुमान गर्न सकिन्छ।

माघी पर्वमा थारु समुदायभित्रै विवाद !


माघी पर्व कुनै निश्चित क्षेत्रको थारु समुदायको मात्र नभई विश्वमा छरिएर रहेका सम्पुर्ण थारुको पर्व हो। अझै भनौ भने यो सम्पुर्ण नेपालीहरुको पर्व हो। यसलाई संकुचित मानसिकताले कतिपय लेखकहरुले पहिला लेखेको लेख र अहिलेको आफ्नै लेखमा विवादित कुराहरु लेखेर यसलाई पश्चिमा थारुहरुले मनाउने पर्वको रुपमा एकै चोटी मिलेर कलम चलाएको छ। जसले थारु समुदायहरु बिच एक आपसमा क्षेत्रीय अधारमा विभेद उत्पन्न गरेको देखिन्छ।

हो, विभिन्न स्थानमा छरिएर रहेको थारु समुदायले यो पर्व मनाउने तरिकामा केही न केही विविधता छ यसलाई विवधता भित्रको एकता मानी शक्तिको रुपमा परिभाषित गर्नु पर्नेमा आफै तेरो मेरो भने पछी अरुले झन के गर्ला? यसतर्फ सबै सचेत हुनु पर्ने देखिन्छ। कसैले यसलाई नयाँ वर्षको रुपमा मनाउन थालेका छन् भने कोहीले यसलाई नयाँ आर्थिक वर्षको रुपमा मात्रै मनाउन थालेका छन् थारु समुदायभित्रै। यसैमा धेरै पटक विवाद समेत उत्पन्‍न भएको छ जसले थारुहरुबीचको एकतामा भाडिने काम भइरहेको छ।

अन्त्‍यमा, माघीलाई विकृति होइन संस्कृतिको रुपमा मनाउनु पर्नेमा जोड दिनु अहिलेको आवश्‍यकता देखिएको छ। माघी मनाउने विषयलाई लिएर पटक-पटक विभाजन र पुर्व र पश्चिममा छुट्याएर विवाद सिर्जनाक भएको पाइएको छ। तर यदि माघीलाई एकआपसमा लड्ने काम भएमा कमजोरी र ‘भाइ फुटे गवाँर लुटे’ साबित हुन सक्छ भने यसलाई थारुको विविधतामा एकताको रुपमा लिएमा थारुको नयाँ शक्तिको रुपमा नयाँ मार्ग दर्शनको रुपमा स्थापित हुन सक्छ जरैदेखि। माघी थारुहरुको एकताको शक्ति बनोस् । जय हो माघी !!

माघ १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्