चिकित्सक संघ कोशी विराटनगरमा चुनावको सरगर्मी, अध्यक्षको दाबेदारीमा दुई डाक्टर

डा. कैलाश श्रेष्ठ (बायाँ), डा. फरवर्ड सिलवाल (दायाँ)

काठमाडौँ – नेपाल चिकित्सक संघ कोशी विराटनगरको निर्वाचनमा वर्तमान अध्यक्ष डा. फरवर्ड सिलवाल र डा. कैलाश श्रेष्ठबिच प्रतिस्पर्धा हुने भएको छ।

माघ ४ र ५ गते विराटनगरमा हुने निर्वाचनका लागि दुवै उम्मेदवार आ–आफ्नो प्यानलसहित भेटघाटमा व्यस्त छन् । डा. सिलवाल आफ्नो दोस्रो कार्यकाललाई निरन्तरता दिने पक्षमा देखिएसँगै परिवर्तनका लागि आफूले उम्मेदवारी दिएको डा. श्रेष्ठले बताउँदै आएका छन् ।

संघभित्र रहेका साथीहरुको सल्लाह अनुसार दोस्रोपटक मैदानमा आएको बताएका डा. फरवर्ड सिलवालले चिकित्सकको अधिकार र क्षमता अभिवृद्धिका लागि उम्मेदवारी दिएको बताउँछन्। तीन वर्षीय कार्यकालमा गरेका कार्यको मूल्यांकन चिकित्सकहरुले गर्ने बताएका उनले बाँकी रहेका अधुरा कार्यलाई पूर्णता दिन आफू सक्षम रहेको उल्लेख गरे।

दन्त रोग विशेषज्ञ ४६ वर्षीय चिकित्सक सिलवालले चिकित्सक संघको भवन निर्माणका लागि आफूहरुले संघीय सरकार, प्रदेश र स्थानीय सरकार समक्ष सहकार्य गर्नका लागि आह्वान गरिरहेको बताए। हाल भौतिक संरचना निर्माणका बजेट रेडबुकमा पार्न सफल भएको बताएका उनले चिकित्सककै हितका लागि नयाँ संरचना आवश्यक भएको दाबी गरे । भवन निर्माणका लागि संघीय सरकारबाट ५० लाख रुपैयाँ बजेट विनियोजन भएको संघले जनाएको छ।

संघको महासचिव हुँदै अध्यक्षको जिम्मेवारीमा पुगेका सिलवालले विगतभन्दा राम्रो काम गरेको दाबी गर्छन् । उनले भने, ‘हिजोको दिनमा संघमा करिब ४ सयको संख्यामा चिकित्सक आवद्ध रहेका थिए। तर, अहिले सो संख्या बढेर १ हजार २ सय भन्दा धेरै भएको छ। यसले पनि संघले सदस्यता र पेशमा जोडिएकाको हकमा राम्रो कार्य गरेको छ।’ कोभिड–१९ का समयमा फ्रन्टलाईनमा कार्यरत चिकित्सक तथा नर्सहरुले पारिश्रमिक भत्ता लगायत सेवा नपाएको गुनासो आइरहँदा संघले आफ्नै ढंगबाट पहल गरेको उनले दाबी गरे।

उनले भने, ‘कोभिडका समय हाम्रो जिम्मेवारी जनताको जीवन रक्षा थियो। तर स्वास्थ्यकर्मीको आर्थिक पाटोलाई समेत ध्यान दिएर सरकारसँग वार्ता गरिरहेकाछौँ। अग्रपंक्तिमा कार्यरत चिकित्सकलाई आवश्यक पर्ने पीपीइ, मास्क, पञ्जा, सेनेटाइजर, लगायतका सामाग्री समेत उपलब्ध गराएका छौँ।’

अर्कोतर्फ, अध्यक्षको दावेदारी गरिरहेका ६० वर्षीय डा. कैलाश श्रेष्ठले चिकित्सा क्षेत्र बढि गैरराजनीतिक बनाउने र चिकित्सकको क्षमता अभिवृद्धिमा जोड दिने बताउँछन्। २७ वर्ष सरकारी सेवामा काम गरेका डा. श्रेष्ठले चिकित्सा क्षेत्र बढि राजनीतिक क्षेत्रमा रुमलिएको गुनासो गरे। ‘संघ राजनीतिक रुपमा बढि घेरियो, चिकित्सकहरुलाई त्यसबाट बाहिर निकाल्दै सहीमार्गमा लाग्नुपर्छ भन्नेतर्फ अब हामी केन्द्रित भएका छौँ’ उनले भने । राजनीतिककै कारण कोशी क्षेत्रका धेरै चिकित्सकहरु संघभित्र अटाउन नपाएको उनले बताए ।

सर्वसाधारण, निजी र सरकारी अस्पतालबिच देखिएको अन्तरलाई कम गराउने तर्फ आफ्नो समूहको प्राथमिकतामा रहेको उनले बताए। चिकित्सकहरु कम पारिश्रमिकमा खटिनुपरेको गुनासो बढ्दै गर्दा उनले निजी अस्पतालसँग आवश्यक पहल गर्ने र धेरै स्थानमा काम गर्नुपर्ने बाध्यताबाट चिकित्सकलाई बाहिर निकाल्ने बताए। उनले भने, ‘हामी चिकित्सकको पारिश्रमिकको विषयमा गम्भीर छाैँ। सुरक्षाका विषयमा गम्भीर छौँ। जसको निराकरणका लागि हाम्रो समूह आउनु आवश्यक छ।’

उपचारका क्रममा भएका दुर्घटनामा चिकित्सकको मात्र जिम्मेवारी नहुने बताएका उनले जनतालाई सहज ढंगबाट परामर्श दिन नसक्दा समस्या उत्पन्न भएको उल्लेख गरे। उपचारका लागि अस्पताल पुग्ने विरामी र अभिभावकहरुका परामर्श गर्न छुट्टै प्रावधान नभएको हुदाँ समस्या देखिएको बताउँदै उनले परामर्श र सरसल्लाहको सन्र्दभलाई समेत जोड दिने र चिकित्सकप्रति हेर्ने दृष्टिकोणमा समेत फरकपन ल्याउनेतर्फ आफू सजग रहेको बताए। डा. श्रेष्ठले काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालबाट एमबीबीएस र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमएस गरेका हुन्।

नेपाल चिकित्सक संघको स्थापना २००७ सालमा विराटनगरमा भएको हो। त्यसपछि काठमाडौँमा २०११ सालमा यसले स्थान पाएको हो। कोशी संघमा हाल १ हजार २ सय ८१ जना चिकित्सक आवद्ध छन्। संघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, र ६ सदस्यगरि कुल १३ जनाको कार्यसमिति रहनेछ।

माघ १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्