दाङ – माघेसंक्रान्तिको अवसरमा लाग्ने मेला महोत्सवमा प्रशासनले रोक लगाए पनि मन्दिरमा दर्शनका लागि भने भक्तजनको घुइँचो लागेको छ । लमही नगरपालिका–९ रिहार स्थित माघेसंक्रान्तिमा तप्तकुण्डमा स्नान गर्न, मन्दिरमा पूजाआजाका लागि भक्तजन पुगेका छन् ।

यसअघि रिहारमा औपचारिक रुपमा मेला–महोत्सव आयोजना गरिन्थ्यो । तर, यसपटक कोभिड–१९ ले गर्दा औपचारिक रुपमा मेला महोत्सव आयोजना गरिएको छैन । भक्तजनहरु भने दर्शनका लागि छिमेकी देश भारतको उत्तरप्रदेशका विभिन्न जिल्लाबाट यहाँ आएका छन् ।

‘राति ९ बजे आइपुगेका हौँ । योसँगै तीनपटक भयो रिहार आउन थालेको’ भारत बहराईच घर भएका राज सेवनले भने, ‘यसपटक त मेला लागेको रहेन छ । पूजा सकियो अब घर फकिन्छौँ ।’ पारिवारिक सुःख र पशु चौपायालाई रोग व्याधीले नसताउने धार्मिक विश्वासका साथ यहाँ पूजा आरधनाको साथै स्नान गर्न आउने गर्छन् ।

रिहारमा आउने भक्तजनको विशेष आकर्षण भौरी (ढुंगा) बोकेर मन्दिर परिक्रमा पर्ने गर्छ । को बलियो भन्ने मान्यताका साथ ढुंगा बोकेर मन्दिर परिक्रमा गर्ने कार्य पहिलेदेखि नै चलिआएको छ । द्वापर युगमा ऋषिमुनिहरुले बिहार गरेको स्थलको रुपमा रिहार परिचित छ ।

विगतका वर्षमा लाग्ने मेला भन्दा यसपटक व्यवस्थापन पक्ष बलियो देखिएको मेला अवलोकन गर्न आएकाहरुले प्रतिकृया दिएका छन् ।

बगारबाबासहित भैने पर्शुु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिर जस्ता तीर्थाटन पर्यटकहरुको लागि धार्मिक संरचना रहेका छन् । यो धामको इतिहास पाँच हजार वर्ष पुरानो मानिन्छ । द्वापर युुगमा ग्वालाहरुले गाई चराउने र गाईले बगारबाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ ।

राजमार्गको दायाँबायाँमा फैलिएको रिहार धाम एकसय हेक्टर क्षेत्रफलमा रहेको छ । रिहारमा तिर्थाटनका पर्यटकहरुले बगारबाबाको पूजा गर्दछन् । बगारबाबा खुशी भएमा सन्तान र धन सम्पत्ति लाभ हुुन विश्वास छ ।

रिहारलाई यदुवंशी अर्थात यादवहरुले  आफ्नो पुर्खाको  उदगमस्थल मान्दै आएका छन् । जुन कारणले बगारबाबा क्षे त्र यदुवंशीहरुको  सांस्कृतिक धरोहरका रुपमा लिने गरेका छन् । अर्काे तर्फ रिहारमा थारु जातीहरुको पनि संस्कृति जोडिएको छ । थारु जातीहरुले रिहार क्षेत्रमा परापुर्वकालदेखि नै गाई चराउने, गोठ राख्ने र बगारबावालाई पूजाआजा गर्दै आएका छन् ।

रिहार धाम यादव र थारु जाती दुवैको धरोहर हो । रिहारमा द्वापर युगमा दंगीशरण राजा र यदुवंशीको  बीचमा घोडीको  विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान रिहार आएको  किम्बदन्ती पनि छ  ।