अनिल बस्नेतको व्यसायिक यात्रा

आइटीको जागिर छोडेर सुरु गरेको ‘मेट्रो तरकारी’

अनिल बस्नेत।

काठमाडौँ– बेलुका अफिसबाट घर फर्किने बेला आमाको फोन आउँथ्यो– ‘तरकारी सकिएको छ, ल्याएर आउनू।’ उनी आमाको ‘अर्डर’ अनुसार कहिले तरकारी, कहिले मासु लगायत भान्साका लागि चाहिने सामान बोकेर घर जान्थे।

आमाले भान्साका लागि मगाएको सामानबाट उनको दिमागमा नयाँ ‘आइडिया’ फुर्‍यो– अनलाइनबाट तरकारी बेच्ने।

उसो त उनले उद्यम गर्ने सोचिरहेका थिए। तर अरुभन्दा केही फरक गर्न चाहन्थे। त्यो फरक आइडिया आमाले अह्राएको कामबाट पाए।

‘मैले अनलाइन व्यापार पहिलेदेखि नै गर्ने सोच बनाएको थिएँ। त्यो समयमा धेरै अनलाइन व्यापार नभए पनि दुईचार वटा सुरु भइसकेका थिए,’ उनले भने, ‘कसैले इलेक्ट्रोनिक त कसैले फेशनको सुरु गरिसकेका थिए। तर म अलि पृथक खालको प्रोडक्टलाई लिएर काम गर्ने सोचमा थिएँ। आमाले गराएको कामबाट त्यो सोचले पूर्णता पायो।’

‘आइडिया’ आए पनि अनलाइनबाट तरकारी बेच्ने भन्ने ‘फाइनल’ भएको थिएन। उनले ‘आइडिया’ साथीहरुलाई सुनाए। छलफल पनि गरे। त्यसपछि उनको ‘आइडिया’ फाइनल भयो।

र सुरु भयो, ‘मेट्रो तरकारी’।

चारजना साथीहरु मिलेर सन् २०१२ मा मेट्रो तरकारी सुरु त भयो तर सबै जिम्मेवारी उनकै काँधमा थियो। ‘धेरै बजेट नभएका कारण अफिस नराखेर काम सुरु गरियो। त्यो समयमा धेरै अर्डर पनि आउँदैन थियो,’ उनले भने।

काम सुरु गर्दा आफूसँग २० हजार रुपैयाँ मात्र भएको उनी बताउँछन्। उनी हुन्, ‘मेट्रो तरकारी’का संचालक अनिल बस्नेत ।

अनिल भन्छन्, ‘मसँग लगानी गर्न २० हजार रुपैयाँ मात्र थियो। अफिस थिएन। मान्छेहरुलाई अनलाइनका बारेमा बुझाउनै गाह्रो थियो।’

लगानी थोरै भएपनि आफूसँग आइटी सम्बन्धी ज्ञान, सीप र अनुभव भएकाले नयाँ काममा निकै मद्दत पुगेको अनिल बताउँछन्।

‘मैले आइटी पढेको हुँ र आइटी कम्पनीका ६ वर्ष काम गरेँ,’ अनिल भन्छन्, ‘जसको मद्दतले आफैले वेबसाइट बनाएँ। त्यो समयमा वेबसाइट बनाउन एक डेढ लाख खर्च हुन्थ्यो।’

उनी आइटीको जागिर छाडेर पूरा समय यसैमा लागेका थिए। अरु साथीहरु भने कम्पनीमा काम गरिरहेका थिए।

‘करिब दुई वर्ष एक्लै काम गरेँ। अर्डर आएपछि कालिमाटी गएर तरकारी ल्याउने, डेलेभरी गर्न घर–घरमा एक्लै पुग्थे,’ अनिल सुनाउँछन्, ‘अर्डरका लागि स्ट्याण्डबाइ हुनु पर्थ्यो। मार्केटिङ पनि गर्नुपर्थ्यो।’

अनिलको यो सिलसिला चलिरह्यो।

उनलाई यतिमा सिमित हुनु थिएन। उद्यमी बन्न आइटीको जागिर छाडे। पूरा समय यसैमा लगाए। तर त्यो अनुसारको प्रतिफल पाइरहेका थिएनन्। त्यसपछि उनले आफ्नो अनलाइन व्यवसायलाई फराकिलो बनाउनतर्फ लागे।

त्यसै क्रममा उनी ‘आइडिया स्टुडियो’सँग जोडिन पुगे।

‘आइडिया स्टुडियो’मा अनिलले ‘मेट्रो तरकारी’ को आइडिया पठाए। उनको आइडिया ‘सिलेक्ट’ भयो।

उनका लागि त्यो आशाको किरण बन्यो। २०१६ मा भएको आइडिया स्टुडियोको सिजन–१ जिते पनि। आफूले त्यो सिजनमा व्यापार सम्बन्धी धेरै कुरा सिक्ने अवसर पाएको उनी बताउँछन्।

‘आइडिया स्टुडियोमा दुई महिनाको अवधिमा कम्पनी रजिस्ट्रर कसरी गर्ने, एचआर पोलिसी कसरी बनाउने, इन्भेष्ट कसरी गर्ने, फाइनान्स कसरी म्यानेज गर्ने लगायतका कुरा सिकियो,’ उनले भने।

उनी अघि भन्छन्, ‘त्यहाँ हुँदा मार्केटिङमा धेरै मद्दत भयो। प्रिजेन्टेशन दिँदा धेरै मान्छेले देख्नुभयो। आफूलाई त्यो मार्केटिङ गर्न धेरै कष्ट लाग्थ्यो। तर बिना लगानी मार्केटिङ तथा ब्राण्डिङ भयो। धेरैसँग चिनजान भयो। बैंकहरुका मान्छेहरुसँग चिनजान भयो। बैंकबाट किसानहरु चिनजान भयो। राम्रो नेटर्वक बन्यो। कसरी काम गर्ने सबै कुरा सिकियो।’

अहिले पनि उनीहरुले आफूलाई ‘गाइड’ गरिरहेको अनिल बताउँछन्।

‘आइडिया स्टुडियो’ उनका लागि ‘टर्निङ पोइन्ट’ बन्यो। उनको व्यवसाय फराकिलो भयो। धेरैले ‘मेट्रो तरकारी’का बारेमा थाहा पाए।

त्यसपछि उनलाई काम गर्न सजिलो भयो। विजेता भए वापत पाएको पैसा उनले व्यवसायमा लगाए। कार्यालय बनाए। एकजना कर्मचारी पनि राखे। ‘स्टुडियोबाट आइसकेपछि एकजना स्टाफ राखेर आफूले म्यानेजमेन्ट लेबलमा बसेर काम गरेँ,’ उनले भने।

उनी ‘आइडिया स्टुडियो सिजन–३’ मा ‘जज्’ पनि भए।

आइटी छोडेर उद्यमी बन्‍ने यात्राको चुनौती


गरिरहेको काम छोडर अर्को काममा हात हाल्दा चुनौती त थपिने नै भए। उनले पनि चुनौतीको सामना गर्नु पर्‍यो।

अनिलका लागि उद्यमी बन्न त्यति सजिलो थिएन। मध्यमवर्गीय परिवार। बुबा सरकारी जागिरे र आमा गृहणी। बाआमालाई छोरो इन्जिनियर, डाक्टर बनोस् या सरकारी जागिर गरोस् भन्ने थियो।

उनले परिवारको सपना पनि पूरा गरे, सफ्टवेयर इन्जिनियर बनेर। तर ६ वर्षमै जागिर छाडेर उद्यमको बाटोतिर लागे। उनले रोजेको बाटो परिवारलाई मन परेन।

‘हाम्रो परिवारमा सबै सरकारी जागिरे हुनुहुन्छ। त्यसैले परिवारले त्यही चाहनुहुन्थ्यो,’ उनी भन्छन्, ‘मलाई भने केही फरक काम गर्नुपर्ने भएकाले जागिर छाडेँ। यो कुराले परिवार र आफन्त खुसी भएनन्।’

परिवारले उनलाई सरकारी जागिर गर्न ‘प्रेसर’ नदिएका होइनन्। तर आफूले देखेको सपना साकार गर्न दृढ भएर लागिपरेको उनी बताउँछन्।

सपना पछ्याउन दृढ भएर लागिपरेको ८ वर्ष पुगे पनि विगत ७ वर्ष आफ्ना लागि निकै चुनौतीपूर्ण रहेको अनिल बताउँछन्।

‘काम गर्दै गर्दा ८ वर्ष भयो। तर सात वर्ष निकै संर्घष गरियो। एक्लै राति पनि काम गरियो। एक्लै अर्डर गर्ने, डेलेभरी गर्ने, बिहान ३ बजे उठेर कालिमाटी गएर तरकारी ल्याउने, मार्केटिङमा हिँड्ने सबै एक्लै गरियो,’ उनले भने, ‘परिवारसँग भेट्ने पनि फुर्सदै थिएन।’

परिवारले ‘तरकारी बेच्ने काम थाल्यो’ भनेर असन्तुष्टि देखाए। समाजका मान्छेले पनि त्यसै भने। ‘के गरेको होला?’ भने।

एकातिर व्यापार कसरी बढाउने भन्ने चिन्ता अर्कातिर परिवार तथा समाजले गर्ने व्यवहारले उनलाई यो काम बेकारमा गरेजस्तो लाग्थ्यो।

‘यो काम किन गरेछु, भएको काम किन छोडेछु भन्ने लाग्यो,’ अनिल भन्छन्, ‘यति मात्र होइन विदेश जाने सोच पनि आयो। यसरी सुरु गरेको आफ्नो काम छाड्न हुन्न लाग्यो।’

परिवारिक समस्यासँगै उनले आर्थिक समस्या पनि भोग्नु पर्‍यो।

‘एकदिन चावहिलबाट तरकारीका लागि ४५ सयको अर्डर आयो। तर आफूसँग एक हजार रुपैयाँमात्र थियो। सामान किन्न पनि पुग्थेन। अनि साथीभाइसँग माग्नु पर्‍यो,’ उनले आफूले भोगेको आर्थिक समस्या सुनाए।

कतिपटक त सामान डेलिभरी गर्दा पेट्रोल सकिएर बाइक डोहोर्‍याउँदै सामान पुर्‍याएका छन् उनले। ‘पैसाको कमि हुँदा राम्रो सम्बन्ध भएका साथीभाइहरुले पनि साथ छोडे,’ उनले तितो अनुभव सुनाए।

अनिल भन्छन्, ‘मैले जति चुनौतीको सामना गर्नु पर्‍यो, सायद मेरो परिवार व्यापारिक क्षेत्रको नभएर पनि हो जस्तो मलाई लाग्छ।’

समय लागेपनि आज आफ्नो कम्पनी खडा गरेका छन्। उनी अहिले आफू सन्तुष्ट गर्नसक्ने अवस्थामा पुगेको बताउँछन्।

‘व्यापारिक घरानाबाट भएको भए यो लेबलमा आउन मलाई ३–४ वर्ष लाग्थ्यो,’ उनले भने, ‘व्यापारिक पृष्ठभुमि नभएका कारणले अलि समय लाग्यो। तर आफूले सन्तुष्ट गर्ने ठाँउमा पुगेको छु।’

अझै धेरै काम गर्न बाँकी रहेको उनी बताउँछन्। तर नेपालमा कामलाई सम्मान गर्ने चलन अझै विकास नभएको उनले गुनासो गरे।

‘विदेशमा यसरी तरकारी बेच्दा हाइप्रोफाइलको विजनेश मानिन्छ। अनलाइन विजनेशमा गनिन्छ,’ उनले भने, ‘नेपालमा भने अनलाइनबाट बेचे पनि घरमा पुर्‍याउन जाने हो। उनीहरुको हेर्ने नजर तल्लोस्तरको हुन्छ।’

तर बुझेका ग्राहकहरुले भने राम्रो काम गरेको भने प्रशंसा गर्ने गरेको उनले सुनाए।

उनको कामलाई जसले जसरी हेरे पनि उनले बनाएको कम्पनीमा अहिले २४ जनाले प्रत्यक्ष रोजगार पाएका छन्।

ललितपुरको पुलचोकमा उनको प्रमुख कार्यालय छ भने नख्खुमा नयाँ ‘आउटलेट’ संचालनमा ल्याएका छन्। अझै ८ वटा ठाँउमा नयाँ ‘आउटलेट’ खोल्ने योजना रहेको उनले बताए।

‘तरकारी छानेर किन्ने ग्राहकहरुलाई ध्यानमा राखेर मार्टहरुसँग एशोसिएट गरेर मेट्रो तरकारीको सेक्सन राख्ने छौँ,’ उनले भने।

आफूले गरेको मेहनतले यहाँसम्म आइपुग्दा धेरै फाइदा नभएपनि डेढ दुई करोड ‘भ्यालुयशन’ भएको कम्पनी खडा गरेको अनिलले बताए।

अब पहिले जस्तो कुद्ने समस्या पनि हराएको छ। कम्पनीसँग पहिले एउटा मात्र मोटरसाइकल थियो भने अहिले ६–७ वटा छन् र गाडी पनि।

अझै धेरै गर्न बाँकी रहेको उनी बताउँछन्। कम्पनीलाई दिएको समय देख्दा आमाले ‘कस्तो काम गरेको?’ भनेर कुरा सुनाउने गरेको उनले बताए। ‘छोरी जसरी माया गरेर हुर्काएको कम्पनीलाई धेरै अगाडी बढाउनु छ,’ उनले भने, ‘कम्पनी मेरो दोस्रो छोरी हो।’

कम्पनी सुरु गर्दा छोरी जन्मिएकाले दुबैलाई सँगसँगै हुकाएकाले आफूले कम्पनीलाई दोस्रो छोरीको दर्जा दिएको अनिलको भनाइ छ। छोरीलाई भन्दा बढी समय कम्पनीलाई दिएको उनको भनाइ छ।

उनको परिवार अझैपनि उनको काममा खुसी छैन। श्रीमतीको सहयोग भएपनि परिवारले आफ्नो कामलाई त्यति मन नपराएको गुनासो छ उनको। भन्छन्, ‘एक दिन मेरो कामलाई मेरा आफन्त र परिवारले सम्मान गर्नेछन्।’

मेट्रो तरकारीमा के–के पाइन्छ?


मेट्रो तरकारीमा तरकारी, डेरी, फलफूल, खाद्यन्न, लोकल वस्तु, बेकरी लगायतका सबै वस्तु पाइने उनी बताउँछन्।

‘हामीसँग ताजा तरकारीहरु छन्। सबै किसिमका तरकारी पाइन्छन्’, उनले भने, ‘हामी सोझै किसानहरुसँग जोडिएकाले किसानहरुले हाम्रोमा तरकारी पुर्‍याइदिनुहुन्छ। र अरु कालिमाटी तथा बल्खुबाट पनि ल्याउँछौँ।’

किसानहरुले उत्पादन गरेको तरकारी हामी आफै लिन जाने गरेको पनि उनी बताउँछन्। मेट्रो तरकारीसँग पाँच सय किसान जोडिएका छन्।

ती किसानहरुले घरघरमा गएर तरकारी बेच्नुपर्ने बाध्यता र कालिमाटी तथा बल्खुका बिचौलीयाबाट पनि मुक्ति पाएको उनको भनाइ छ।

‘हामीसँग किसानहरु पनि जोडिएका छन्,’ उनले भने,‘उहाँहरुले कालिमाटी तथा बल्खुका व्यापारिसँग डिल गर्नुभन्दा कम्पनीसँग गर्नुमा धेरै फाइदा छ। बिचौलियाको डर भएन।’

आफूहरु धेरै ठाँउका किसानसँग जोडिएको भएपनि तरकारी संकलन गर्न काठमाडौँ, ललितपुर र भक्तपुर पुग्ने गरेको उनी बताउँछन्।

अनलाइनमा पाइने तरकारीको मूल्य कालिमाटी बजारको खुद्रा मूल्यमा आधारित रहेको अनिल बताउँछन्।

कोरोना भाइरसको प्रभाव कति ?


कोरोना भाइरसले उनको व्यवसाय पनि अछुतो रहन सकेन। सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनका कारण उनको व्यवसायमा पनि असर पर्‍यो।

अनलाइन व्यवसाय अरुका लागि अवसर भएपनि आफ्ना लागि चुनौती भएको उनी बताउँछन्। ‘नयाँ अनलाइनहरुका लागि लकडाउन अवसर भयो,’ उनले भने, ‘हाम्रो पुरानो कम्पनी भएकाले त्यसका लागि तयार नै भएनौँ।’

लकडाउनका समयमा अर्डरहरु बढी आएपनि त्यो आफूहरुले धान्न नसकेको उनी बताउँछन्।

‘लकडाउन अघि २५–३० वटा अर्डर आउँथ्यो। तर लकडाउनमा ५–६ सय अर्डर आयो। त्यो अनुसारको हामीसँग रिर्सोसेज् तथा डेलिभरी सिस्टम थिएन। त्यति मात्र होइन पासको कुरा पनि थियो। तर पनि विस्तारै मिलाएर हामीहरुले काम गर्‍यौँ,’ उनले भने।

यस विपतिका बेला अनलाइन माध्यम निकै महत्वपूर्ण थियो। तर सरकारले त्यसको महत्वलाई बुझ्न नसकेको उनको गुनासो छ।

‘लकडाउन गर्ने वित्तिकै अनलाइन व्यापारीलई खोज्नुपर्ने थियो। डेलेभरी च्यानलका लागि। तर खोजेन। यतिकै लकडाउन गर्‍यो। अनलाइनमा काम गरेको मान्छेलाई थाहा हुन्छ कहाँ, के कसरी , सोलसल डिस्टेन्स गर्ने सबै थाहा थियो। तर सरकारले वास्ता गरेन। मेहनत गरिएको छ। सरकारलाई कर तिरिरहेका छौँ। किसान पनि हामीसँग जोडिएका छन्। तर वास्ता भएन,’ उनले भने।

अनलाइन व्यवसायमा कस्तो छ समस्या?


अहिलेको परिस्थितिमा अनलाइन व्यापार निकै महत्वपूर्ण भएको उनी बताउँछन्। तर सरकारले अनलाइनका लागि राम्रो नीति बनाउन सकेको छैन। सरकारले अनलाइन व्यापार भनेर नछुट्याएको उनको गुनासो छ।

‘सरकारले अनलाइन व्यापारलाई वर्गीकरण गरेको छैन,’ उनले भने, ‘यो कम्पनी पनि प्राइभेट जस्तै दर्ता गरिन्छ। यो अनलाइन कम्पनी हो। यसले अनलाइनका माध्यमबाट काम गर्छ। आफ्ना सामान बिक्री वितरण गर्छ भन्ने हुनुपर्ने तर त्यस्तो छैन। यदि अनलाइन तथा पसल छुट्याएर दर्ता गर्ने हो भने सरकारलाई मोनिटरिङ गर्न सजिलो हुन्थ्यो। व्यापार पनि राम्रो हुन्थ्यो।’

व्यवसाय व्यवस्थित हुन कति समय लाग्छ?


उद्यम गर्ने वित्तिकै फाइदा खोज्ने नेपालीहरुको बानी रहेको उनी बताउँछन्। कुनै पनि व्यवसाय गर्न धैर्य महत्वपूर्ण कुरा रहेको उनको बुझाइ छ।

‘उद्यमी भनेको चाइनिज बाँस जस्तै हो। चाइनिज बाँस जसरी पाँच वर्षसम्म २–२ इन्च बढ्छ पाँच वर्षपछि एकै चोटी २०–२० फुट बढ्छ रे। त्यस्तो खालको हामी हुनुपर्छ। कुनै पनि आइडिया या व्यवसाय पिकअप लिन ५ वर्ष जति समय लाग्छ। पाँच वर्षपछि ग्रोथ अलि चाँडै हुन्छ। मेरो केसमा पनि त्यही भयो। पाँच वर्षसम्म पनि व्यवसाय ग्रोथ भएन भने छोड्नु पर्छ,’ उनले भने।

तर उद्यम गर्न पाँच वर्षको योजना भने हुनुपर्ने उनी बताउँछन्।

माघ १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्