माघेसंक्रान्तिमा जुधे ३५ हल गोरु, भागाभागमा ३ जना घाइते

नुवाकोट- यस वर्ष माघेसङ्क्रान्तिमा ३५ हल गोरु जुधाइएको छ। गोरु जुधाउने क्रममा भीरतिर गएपछि भागाभागमा तीनजना घाइते भएका छन्।

तारकेश्वर गाउँपालिका–३ तारुका, विदुर नगरपालिका–१० बेत्रावती, पञ्चकन्या गाउँपालिका–३ घलेगाउँ, तादी गाउँपालिका–४ सातबीसे र शिवपुरी गाउँपालिका–३ शेराबगरमा आज गोरु जुधाइ मेला सञ्चालन भएको छ । पाँच स्थानमा गरी हालसम्म ३५ हल गोरु जुधाइएको आयोजकले जनाएका छन्।

सबैभन्दा धेरै तारुकामा १४ हल गोरु जुधाइएको छ । माघेसङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा सञ्चालित गोरु जुधाइ हेर्न तारुकाका हजारौँ दर्शक गोरु पुगेका थिए।

गाउँमा विभिन्न स्थानमा गोरु जुधाउने चलनलाई व्यवस्थित गर्दै २०६२ सालदेखि व्यवस्थित रुपमा एकै ठाउँमा गोरु जुधाउन थालिएको मेला आयोजक समितिका संयोजक तथा तारकेश्वर –३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठले बताए।

विदुर–१० बेत्रावतीमा यस वर्ष वरपरका पाँच हल मात्र गोरु जुधाइएको गोसाकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले बताए । कोरोनाका कारण धेरै प्रचारप्रसारमा जोड नदिई परम्परालाई निरन्तरता दिने उद्देश्यले मात्र थोरै गोरु जुधाइएको उनको भनाइ छ।

यस्तै पञ्चकन्या–३ घलेगाउँमा पाँच हल गोरु जुधाइएको आयोजक नवप्रतिभा युवा समाजका अध्यक्ष शिवहरि विष्टले बताए। विजेता तथा सहभागी गोधनीलाई रु १५, १० र पाँच हजार पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । पञ्चकन्यामा पछिल्लो पाँच वर्षदेखि गोरु जुधाउने मेला सञ्चालन हुँदै आएको छ।

यस्तै तीन वर्षअघिदेखि गोरु जुधाउन थालिएको शिवपुरी गाउँपालिका–५, शेराबगरमा यस वर्ष तीन हल गोरु जुधाइएको आयोजक शेराबगर विकास समाजका अध्यक्ष अभियान आचार्यले जानकारी दिए।

माघ १, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्