हिमपातले चौरी पालन व्यवसाय संकटमा

सिमकोट – पछिल्लो हिमपातपछि हिमाली जिल्ला हुम्लामा चौरी पालन व्यवसाय संकटमा परेकाे छ। चौरी गाई चर्ने क्षेत्र हिमपातले सेताम्मे हुँदा चरन अभावमा चौरी पाल्न कठिन भएकाे हाे।

३४ वटा चौरी गाई भएका सिमकोट गाउँपालिका वडा नम्बर ५ तल्लो गाउँका धनसुर कामीले हिमपातपछि चरनको समस्या भएको बताए ।

अग्ला पाटनमा चर्ने चौरी गाई केही तल्ला पाटनहरु झरे पनि जमिन हिमपातले सेताम्मे हुँदा चर्न समस्या भएको उनले बताए।

जमिनामा चौरी गाई चर्न नपाउने भएपछि घरमा काटेर मौज्दात राखिएको घाँस दिनु परेको र लामो समय हिमपात भइरहेकोले पाल्न कठिन हुने निश्चित रहेकाे किसानहरुकाे भनाई छ।

६०भन्दा बढी चौरी गाई भएका सिमकोट गाउँपालिका वडा नम्बर १ को दोजामका पेमा लामाले हिमपातले चौरी गाईलाई चर्न समस्या भएको बताए । चौरीलाई हिँउमा खेल्न निकाल्नु परिरहेको तर घाँस खाना समस्या भएको उनले बताए। यो समस्या हुम्लाका किसानहरुले बर्सेनि रुपमा भोग्दै आएका छन्।

११६ वटा चौरी गाई भएको नाम्खा गाउँपालिका वडा नम्बर ६ हिमालपारीको लिमी गाउँमा रहेको चौरी श्रोत केन्द्रमा पनि हिमपातपछि चौरीलाई स्याहार गर्न समस्या भएको लिमी हल्जी गाउँका फुन्जोक लामा तामाङले बताए।

उच्च क्षेत्रमा रहेको कारण अन्य स्थान भन्दा लिमीमा बढी समस्या भएको देखिएको हो।

माघ २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्