दाङ – लमही बजार नजिकको क्रिकेट मैदानको एक कुनाको घरमा भूकम्पले क्षति पुर्‍याएको सूचना आयो ।

मानिस घर भित्रै घाइते अवस्थामा रहेको खबरपछि सुरक्षा निकायको टोली घटनास्थलमा पुग्यो । सशस्त्र प्रहरीको टोली उद्दारमा खटियो । गम्भीर घाइतेलाई एम्बुलेन्समा राखियो । सामान्य घाइतेलाई सुरक्षित स्थानमा सारियो । केही समय पछि अवस्था सामान्य बन्यो ।

शुक्रबार २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा दाङको लमहीमा अभ्यास मार्फत भूकम्पको जोखिमबाट जोगिने उपायको बारेमा सचेतना प्रदान गरिएको छ।

लमही नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेड क्वाटर अर्जुन खोला, सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर गण हेड क्वाटर ज्वालामाई गण र नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा अभ्यास गरिएको हो।

‘यो अभ्यासले भूकम्प आयो भने न आत्तिएर सुरक्षित स्थान तर्फ लाग्नुपर्ने कुरा सिकाएकाे लमहीका युवा सुमन कालाथोकीले भने, ‘भूकम्पबाट हुने क्षतिबाट बच्न सकिदो रहेछ।’

भूकम्प आफैले मानिसको ज्यान लिने भन्दा पनि मानिसले बनाएको संरचनाको कारणले गर्दा मानवीय क्षति हुने गरेको छ । ८० देखि १०० वर्षको अन्तरालमा ठूलो भूकम्प जाने गरेको छ । हरेक दिन जसो पराकम्प जाने गरेको छ ।

सघन शहरी भवन निर्माण आयोजना दाङका प्रमुख शसिन्द्रकुमार देवले घर नक्सा पास गरेर सुरक्षित घर निर्माण गर्न सल्लाह दिए ।

‘भूकम्पलाई रोक्न सकिँदैन । यसबाट बच्न सुरक्षित आवास चाहिन्छ’, उनले भने, ‘खुला स्थानमा छौँ भने खुला ठाउँमा सुरक्षित हुनुपर्छ । घर भित्र छौँ भने घर भित्रै सुरक्षित हुनुपर्छ।’

मापदण्ड अनुसार बनाएको घर मात्रै सुरक्षित रहने उनले बताए । कमजोर घर सुरक्षित हुँदैन।

भिडियाे: