नेकपा दाहाल नेपाल स्थायी कमिटी बैठकका निर्णयहरु

पार्टीबाटै हटाउन ओलीसँग स्पष्टीकरण मागिने, पौडेललाई महासचिवबाट हटाइयो

फाइल तस्बिर

काठमाडौँ -नेकपा दाहाल नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट  साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गर्न स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

उनले भने,‘ असंवैधानिक गतिविधिलाई निरन्तरता दिएकाले अब प्रधानमन्त्री ओलीलाई किन पार्टीबाट नहटाउने भन्ने विषयमा उहाँसँग स्पष्टीकरण लिने निर्णय आजको बैठकले गरेको छ।’

शुक्रबारको बैठकमा संसद विघटनको विरुद्धमा जारी आन्दोलनलाई कसरी सशक्त बनाउने भन्नेबारे पनि तिब्र छलफल भएको श्रेष्ठले बताए।

यो बैठकको निर्णय अनुसार आगामी दिनमा आयोजना गर्न लागिएका प्रदेशस्तरीय जुलुस र सभामा यो पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहभागि हुँदैछन्।

यो पक्षले आफ्नो पुस सात गतेको केन्द्रीय कमिटी बैठकमा ओलीलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको छ। त्यसबारे उसले निर्वाचन आयोगलाई जानकारी समेत गराएको छ।

यस्तै आजको बैठकमा विष्णु पौडेललाई पनि महासचिव पदबाट हटाउने निर्णय गरेको श्रेष्ठले जानकारी दिए। बैठकले प्रदेश १ को अध्यक्षबाट देवराज घिमिरेलाई हटाएर उनको ठाउँमा घनेन्द्र बस्नेत चयन गरेको छ भने प्रदेश नम्बर एकको सहइन्चार्जमा सुरेन्द्र कार्की, जयन्ती राई र राजेन्द्र राई चयन गरेको श्रेष्ठले बताए।

बैठकमा संसद विघटन विरुद्ध जारी आन्दोलनमा नागरिक समाज र विपक्ष दलसँग सहकार्य गर्नका लागि पहल जारी राख्ने निर्णय पनि गरिएको छ।

तर एकलरुपमा गरिने आन्दोलनमा कुनै पनि सम्झौता नगरी लाखौ मानिस सडकमा उतार्ने प्रतिवद्धता प्रदेश इन्चार्जहरुले जनाएका छन्।

माघ २, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्