पाथिभरा देवीसँग भेट्न म एक्लै बतासिएँ काठमाडौँबाट

जुत्ताको धुलो झार्न खाेजेँ, झरेन ।
हेल्मेट निकालेर मोटरसाइकलको सिसामा अनुहार हेरेँ । चिसोले नाक हल्का रातो थियो ।
गज्याङ्गमज्याङ्ग परेको कपाल मिलाएँ।
परबाट हेरिरहेका दाइ मुसुक्क हाँसे ।
मन्दिर जान आउनु भयो?
थाकेको म, टाउको मात्र हल्लाएर मुस्कानसहित सहमतिको संकेत गरेँ । बोल्ने जाँगर थिएन ।
नाम पनि सोधिनँ । उनकै घरको पिँढीमा गएर थचक्क बसेँ । घरभन्दा पनि उनको त्यो होटल थियो । ढोका अगाडि थरी थरीका माला थिए ।
पूजाका लागि चाहिने सामग्री पनि ।
बिहानको ७ बज्न लागेको थियो । चिसो घट्दै थियो । घामको राप बढ्दै थियो । मौसम सफा थियो । सिधा अगाडिको पहाडको टुप्पो प्रष्टै देखिन्थ्यो ।
हातको पन्जा उतारे । दायाँ हातले टाउको कन्याउँदै उकालो हेरेँ । उनको घर अगाडि हुँदै जान्छ पाथिभारा मन्दिर जाने बाटो । सिँढीको बाटो उक्लिरहेका मानिसहरुको ताँती मधुरो देखोँ ।
‘यो सानो होइन, माथिको त्यो टुप्पामा छ पाथीभरा मन्दिर ।’ मैले नसोध्दै होटलवाला दाइले भनिहाले । उनको अनुहारमा पुलुक्क हेरेँ, उनी हाँसिरहेका थिए, मन्दिर जानेलाई पूजाको सामान बेच्दै ।
उनको अनुहारको मुस्कान देखेर थकाइ हल्का कम भयो । लाग्यो, नचिनेको मान्छे पनि अगाडि आएर मुस्कुराइदिए आनन्द लाग्दो रहेछ ।
‘कति लाग्छ दाइ?’, लाग्ने समय सोधेँ ।
दाइले काचो नरिवल झोलामा हाले । मन्दिर जान हिँडेकी दिदिको हातमा थमाए ।
‘तपाईँको हिँडाइमा भरपर्छ, यहाँका मान्छेलाई दुई घण्टा लाग्छ’, तीन सय पचास रुपैयाँ गोजीमा हाल्दै उनले भने ।
झोलाबाट थर्मस निकालेँ । एक घुट्को पानी घुटुक्क पारेँ । उकालो हेरेँ ।
तल्लो फेदिसम्मको बाटो पिच भएको रहेनछ । बाटोको बिचमा हातमा लौरो समातेका बालक टोलाएर बसेका छन् । उनको परिवार पूजाका सामान किन्दै रहेछन् । केही पर एक जोडी गाइले कुँडो खाँदै छन् । छेउमै बिहान सुकेटारबाट यात्रु ल्याएर आएका जिपको लस्कर छ । पूजा गरेर तिर्थालु बोकेर केहीबेरमा फर्कनु छ ।
‘कहाँबाट आउनुभयो ?’ चढ्नु पर्ने पहाड हेर्दै टोलाएको म झसंग भएँ ।
‘काठमाडौँबाट दाइ ।
‘एक्लै ?’ यात्राभर अचम्म मान्दै धेरैले गरेको प्रश्न थियो त्यो ।
उनले पनि गरे ।
मनमनै अँ भने, टाउको हल्लाएँ ।
…
एक्लै घुम्न निस्कने बानी पुरानै हो ।
फाइदा, आफैसँग कुरा गर्न पाइन्छ । हतार भयो हिँडौँ भन्ने कोही हुँदैन, लामो सास लिन सकिन्छ । डिलमा बसेर मनग्य कहानी बुन्न सकिन्छ, कोट्याएर ब्यूँझाउने कोही हुँदैन । यसो गरौँ भन्ने कोही हुँदैन, उसो गरौँ भन्ने कोही हुँदैन । मन लागेको बेला रोकिनु र बेला हिँड्न पाइन्छ ।
नाम धेरै पटक सुनेको थिएँ पाथिभराको । सुनेदेखि नै आउन मन थियो । कहिले कसरी जाने टुङ्गो थिएन, न त तयारी नै । धेरै पटक योजना पनि बन्यो तर पूरा हुन सकेको थिएन । झापामा सहकर्मी दाजुको बिहे खाने बहानाले मलाई पाथिभरासम्म पुर्याएको थियो ।
मंसिर १४ गते आइतबार बिहान ९ बजे हिँडेको म करिब १२ घण्टामा इलामको फिक्कल पुगेको थिएँ । इलामको श्री अन्तुडाँडाबाट देखिने सूर्योदयको मोहकता धेरैको मुखबाट सुनेको थिएँ । बिहान उठ्न अल्छी लाग्यो, गइनँ हेर्न । बसेको होटलका दाइले मौसम खराब छ, आजभोलि राम्रो देखिँदैन भने मेरा लागि झन बहाना बन्यो ।
नजिकै छ भन्ने सुनेकाले दार्जिलिङ्ग जाने रन्को बोकेर नेपाल भारत सीमाको सुन्दर पशुपतिनगर पुगे । कोरोनाका कारण दुवैतिरबाट हुने सवारी आवतजावत रोकेको रहेछ । तर मान्छेहरुलाई भने रोकेको थिएन । त्यताको गाडी चढ्ने जाँगर चलेन । बेलुकासम्म फुङलिङ पनि पुग्नु थियो ।
आधा घण्टामा फिक्कल झरे । दुई बज्न लागेको थियो । फिक्कलको चिया बगान, बाटो छेउका अम्लिसोका झाडीसँगै एक्लै गुनगुनाउँदै करिब ६ बजे पाँचथरको फिदिम र करिब साढे आठबजे ताप्लेजुङको फुङलिङ आइपुगेको थिएँ ।
सुत्नुअघि फुङलिङमा बास बसेको होटलका दाइले भनेका थिए, ‘बिहान पाँच बजे उठेर हिँड्नुहोला तीन बजेसम्म फर्किसक्नुहुन्छ । साढे पाँच बजे उठेर हिँडेको म करिब ७ बजेतिर तल्लो फेदी आइपुगेको थिएँ ।
…
टि..टि..टिट,
धुलो उडाउँदै बिच बजारमा ढलमलाउदै जिप आइपुग्यो । उकालो चढेर बायाँ मोडिनुपर्छ तल्लो फेदि पुग्दा । उडाएको धुलो कम नहुँदै जिपबाट फटाफट सबै झरे । बसेका दाइ उठेर अलिअघि सरे ग्राहकको आशमा । कोही पनि उनको पसलतिर आएनन् । निराश हुँदै सँगैको पसलमा गएर बसेँ ।
७ बजिसकेको थियो । हेल्मेट होटलकी दिदीले राखिदिइन् । पूजाको सामान झोलामा हालेँ । केहीबेर अघि निकालेको टोपी लगाएँ ।
‘उकालो चढ्दा लौरो चाहिन्छ होला लिएर जानुस्’ घर अगाडि राखिएका चाङ देखाउदै दाइले भने।
‘चाँहिदैन दाइ ।’ मैले भनेँ उनी हाँसे ।
झोला बोकेर म हिँडे । ‘राम्रोसँग जानुहोला ।’ ‘धन्यवाद दाइ’ पछाडि नफर्की फटाफट अघि बढेँ ।
उकालो सिँढीको पहिलो पाइला टेक्दा घडी हेरेको ७ बजेर पन्ध्र मिनेट गएको थियो । अबको कम्तिमा तीन घण्टा सकसपूर्ण हुने उकालो हेर्दा मैले अनुमान गरिसकेको थिएँ ।
उकालो चढ्नु अघि सबैले निधारमा हात राखेर टुप्पो हेरेको मैले होटलको पिँढीमा बसेको बेला देखेको थिएँ ।
गोजीबाट मोबाइल निकाले पहिलो पाइलाको भिडियो खिचेँ । मनमनै सोचे, यो दिनको प्रतिक्षा धेरै दिनदेखि थियो । यहाँ आए भन्ने भन्दा पनि एक्लै आए भन्ने नै मेरो लागि पनि अचम्मको आभास थियो । हुन न त म धेरै ठाउँमा एक्लै गएको छु । तर यो मेरो लागि सबैभन्दा लामो यात्रा थियो ।
केही पर हातमा लौरो बोकेका दाइ देखिएको पल्लो डाँडातिर नजर लगाउँदै थिएँ । भर्खर उदाएको रातो सूर्यले पाखो चम्काइदिएको थियो । लौरो समातेर टुक्रुक्क बसेका बावु भन्दैथिए ‘जाउँ बाबा’ ।
केही पर सानी नानीको साथमा दुई महिलाहरु पछाडि फर्कँदै अघि बढ्दै थिए । अनुमान लगाए, परिवार हुनुपर्छ ।
दूरी करिब साढे चार किलोमिटर मात्र छ तल्लो फेदीबाट पाथीभराको टुप्पो । सुरुसुरुका पाइलामा उत्साहित हुन्छ मन । ढुङ्गा ओछ्यार बनाएको बाटोमा पाइला चाल्न सजिलो नै लाग्छ । फर्किएर आइरहेका मानिसको अनुहारमा देखिने उत्साहाले थकान भुलाइ दिन्छ । निधारमा पाथिभरा माताको टीका टल्किएको हुन्छ । हातमा फूल र प्रसादले भरिएका झोला हुन्छन् । कतिपयको हातमा टाउको छिनाएको बोका हुन्छ । सजिलै अनुमान गर्न सकिन्छ मन्दिरमा चढाएर आएको ।
उनीहरु ओरालो बाटोमा कुदिरहेका हुन्छन् ।
खाली ठाउँबाट हलुका टाउको उठाएर हेर्ने हो भने नजिकै देखिन्छ मन्दिर भएको टुप्पो । उकालो लाग्दै जादा पर सरेको अनुभव हुन्छ ।
मलाई त मन्दिर भन्दा बाटोकै यात्रा रमाइलो लागिरहेको थियो ।
करिब साढे ८ बजिसकेको थियो माथिल्लो फेदी पुग्दा । हिसाब लगाए एक घण्टा भन्दा बेसी लागेछ । । सुनाउँदा, ‘चाडै आउनुभयो’ चिया खान बसेको होटलको दाइले भने । चियाको ग्लास मेरो हातमा थमाउँदै भने ‘यसरी नै हिँड्नुभयो भने अबको करिब दुई घण्टामा पुग्नु हुन्छ ।’
‘ए धेरै रहेनछ’, मन खुशी भयो ।
तल्लो फेदीबाट कहीँ नबसेर सरासर हिँडेको थकाइ लागिसकेको थियो । खुला ठाउँ र आँगनमा परेको पारिलो घामले मलाई लोभ्यायो । रतन कार्की दाईको करुणा होटलमा थकाइ मार्ने निर्णय मेरो लागि यात्राको एउटा अर्को अध्याय बन्यो ।
रतन दाइ,
रतन कार्की दाइको पनि आफ्नै कहानी छ । करुणा होटलका मालिक उनको घर केही तल छ । उनले भने ‘हिँडेर दुई घण्टा लाग्छ ।’ पाँचथरबाट उनका पुर्खा ताप्लेजुङको उकालो लागेछन् । उनी यही जन्मिए, हुर्किए । यतैका सरकारी विद्यालयमा पढे । पचासको दशकमा उनी काठमाडौँ हानिए उच्च शिक्षाको लागि।
साथमा थिए दाइ । पढाइमा तेज । पढ्दा पढ्दै उनले आर्मीमा नाम निकाले, सेकेण्ड लेफ्टिनेन्ट । सरकारी जागिर खान उनका दाइले करकाप गरे । भविष्य सुरक्षित बनाउन सरकारी जागिर अनिवार्य ठानेका थिए उनका दाइले । भाइलाई पनि त्यही बाटो देखाए । स्नातकको पढाइ छोडेर उनले सिपाहीमा जागिर खाए । माओवादी द्वन्द्व चर्कियो । दाजु भाइलाई गाउँ फर्कन मुस्किल भयो ।
पानीको भाँडो चुलोमा राख्दै उनले भने ‘दाइले सेनाको जागिर छोडे ।’ उनी पनि गाउँ आएको बेला माओवादीको अपहरणमा परे । जसोतसो करिब एक महिनापछि माओवादीको कब्जाबाट भाग्न सफल भए । ताप्लेजुङ, पाँचथर र इलामका डाँडापाखा छलेर उनी साउदी उडे ज्यान जोगाउन ।
देशमा शान्ति आयो । करिब १० वर्ष खाडीको बसाईपछि उनी गाउँ फर्किए । उनको दैनिकी होटल व्यवसाय बन्यो ।
केही तल उनकी श्रीमतीको होटल छ । ‘म यो होटल चलाउँछु, श्रीमती तलको ।’ मुस्कुराउँदै उनले भने, ‘दाइ अहिले गाउँमा सरकारी स्कुलको हेडमास्टर हुनुहुन्छ ।’
जिन्दगी चलेकै छ । कार्की दाइ मजासँग हाँसे ।
…
म्याँ…
बाख्राको पाठो कराएको सानो स्वर कानमा पर्यो । सेतो रङ्गको सानो पाठो उकालो लाग्दै थियो । साथमा चारजना थिए । सानो बाबु पाठोलाई बाटो देखाउँदै थिए । उनीहरुलाई सानो फेदीभन्दा तल बिहान भटेको थिएँ । हात कठ्याङग्रिएपछि तताउन घामको पर्खाइमा बाटो छेउमा बसेको बेला उनीहरु भेटिएका थिए ।
पाथिभरालाई चढाउन लग्दै थिए शायद, अनुमान लगाएँ, ‘परिवार हुनुपर्छ’ ।
‘म पनि लाग्छु दाइ ।’ बिदा मागेँ ।
कार्की दाइले थर्मसमा चिया भरिदिए । म पनि त्यही परिवारको पछिपछि लागेँ ।
हिँड्दा पाठोको आवाजले झस्काउँथ्यो । मन मनै साच्थे यो बिचरालाइ के थाहा कहाँ जाँदै छु भन्ने । त्यो सानो बालकलाई पनि थाहा थिएन होला शायद उसलाई कहाँ लैजाँदैछौँ भन्ने । किन लैजाँदैछौँ भन्ने । बस्, परिवारलाई थाहा थियो यसको रगत चढायो भने पाथिभरा माता खुशी हुन्छिन् ।
परिवारले आफ्नो खुशीका लागि सानो पाठोको सहारा लियो, नादान पाठो शायद नजानेरै भए पनि परिवारको खुशी जोड्न लागि पर्यो ।
उकालो लाग्दै गर्दा त्यस्ता धेरै पाठा देखेँ जसले अरुको खुशीका लागि ज्यान दिए ।
…
‘अब कति लाग्छ ?’
सँगै हिँडेका एकजना मित्रले सोधे । बाटोमा भेटेका हामी गफिँदै जाँदा साथी भएका थियौँ । इलामबाट उनीहरुको परिवार नै मन्दिर दर्शन गर्न आएको थियो । उनको यो दोस्रो पाथिभरा यात्रा थियो ।
उक्लँदै गरेका सबैले फर्कँदै गरेकालाई सोध्ने प्रश्न हो यो । मैले पनि धेरै पटक सोधेँ ।
अब १५ मिनेटमा पुग्नुहुन्छ नरोकिएरै दाइ ओरालो कुदे ।
सबै गलल्ल हाँसे ।
१५ मिनेट अघिमात्र केही तल ओरालो झरिरहेकोलाई सोधेका थियौँ । उनले पनि १५ मिनेट नै भनेका थिए ।
‘यो १५ मिनेट कहिल्यै नसकिने भयो’ उकालो लाग्दै गरेको लस्करबाट एकजनाले भने ।
फेरि सबै गलल्ल हाँसे ।
माथिल्लो फेदीसम्म खासै उकालो छैन । त्यो भन्दामाथि उक्लिन अलि जोड लागाउनुपर्छ । हुस्सु लाग्न थाल्छ । घाम देखिँदैन । चिसो बढ्दै जान्छ । हावामा अक्सिजन कम भएको महसुस हुन थाल्छ ।
…
बाबु ! बाबु !
हात गालामा राख्दै उनी भन्दै थिइन्। काखमै निदाएको बच्चाले आँखा खोलिरहेको थिएन । छेउमा बसेका श्रीमान् मलिन अनुहार लगाएर एकटकले हेरिरहेका थिए । उकालो सँगसँगै चिसो पनि बढ्दै थियो । आमाले बाबुको हातमा आफ्नो हात रगडिन् । बाबुले आँखा खोलेनन् ।
भाइसँग पानी छ ? उक्लिँदै गरेका मेरा गोडा रोकिए ।
उनले मतिर नै हेरिरहेकी थिइन् ।
चिसो ढुंगाको भर्याङमा बसेर उनी र उनका श्रीमान् छोरालाई निद्राबाट ब्युँझाउने प्रयास गर्दै थिए । आत्तिएका थिए ।
पानी छैन । चिया छ । मिठो लागेकाले कार्की दाइको होटलबाट तातो पानी राख्ने थर्मसमा चिया भरेको थिएँ । झोलामा दाइले नै दिएको प्लास्टिकको कप पनि थियो ।
बाबुले चिया खान आँखा खोलेन । सबैले अनुमान लगाए चिसो लाग्यो । उचाइमा अक्सिजनको मात्रा कम भएकाले बाबु थाक्यो ।
चियो तातो थियो । कपमा औला डोवेर आमाले बाबुको मुखमा लागाइ दिइन् । बाबुले आँखा खोल्यो । छेउमा बसेका बुवा मुस्कुराए । मेरो छेउमा उभिएका मित्र पनि हाँसे । यो उनकै परिवार रहेछ ।
मुखले फुकेर चिया सेलाइन् आमाले । बुवाले गोजीबाट मीठाइ झिके । बाबुले खान मानेन । मैले झोलाबाट बेकरी कुकिज झिके । आमालाई दिए । उसले खायो । आमाको अनुहारमा पनि मुस्कान देखेँ मैले ।
‘अंकललाई धन्यवाद भन्’, बाबुको अनुहारमा हेर्दे आमाले भनिन् । आँखा पुरै खोलिसकेको बाबुले मतिर पुलुक्क हेरे । म मुस्कुराएँ । माथि पुगेर धन्यवाद भन्ने हस् भन्दै झोला भिरे । उकालो लाग्दै गर्दा फर्किएर हेर्दा आमा मुस्कुराइ रहेको देखेँ ।
परिवारलाई छोडेर मित्र मसँगै उकालो लागे । हामी गफिदै अगाडि बढ्यौँ । अगाडि बढ्दै जादाँ घण्टीको आवाज सुनिन्थ्यो । मन्दिर नजिकै छ भन्ने आभास हामीले पायौँ । निधारमा रातो टीका, मुस्कान ओरोलो झर्ने सबैको अनुहारमा थियो ।
करिब ११ बजिसकेको थियो मन्दिरको गेटमा पुग्दा । टुप्पामा पुगेपछि गौरीशंकर हिमाल देख्न पाइन्छ भन्ने आश क्षणभरमै आएको तुवालोले ढाकिदियो ।
राम्रोसँग हेर्न नपाउदै हेर्दाहेर्द माथिदेखि नै सबै हिमाल ढाकिए। हिमाल हेर्न मन्दिर नछिरेर अगाडि बढेको म झोला बोकर लुरुक्क फर्किएँ । बाटो छेउको बारमा लस्करै झुण्डिएका घण्टी बजाउँदै मन्दिर उक्लिए एक्लै ।
सँगै आएका मित्र गेटमै रोकिए परिवारको पर्खाइमा ।