केपी ओलीलाई टाउको हल्लाउने मान्छे मात्रै मन पर्छः माधव नेपाल

दाङ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको जिब्रो खुकुरीको धारभन्दा तिखो भएको टिप्पणी गरेका छन्।

दाङको तुलसीपुरमा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले केपी ओलीसँगको आफ्नो संगत ४८ वर्ष लामो भएको भन्दै उनले यो अवधिमा केपी ओलीलाई सहेर बस्नुपरेको दुःख पोखे।

उनले भने, ‘केपी ओली सन्की शासक बने। उनलाई वादविवाद कहिल्यै मन पर्दैन।’

पार्टीभित्रको वादविवाद र अन्तरसंघर्षले पार्टी बिग्रिनेभन्दा पनि झन् बलियो बन्ने नेपालले तर्क गरे।

उनले भने, ‘केपी ओलीलाई टाउको हल्लाउने मान्छे मात्रै मन पर्छ। वादविवाद गर्नेलाई उनले सहँदैनन्।’

ओलीको सनकको कारण देश अप्ठ्यारो अवस्थामा फसेको उनले बताए। केपी ओलीले पछिल्लो पटक केन्द्रीय सदस्यमा मनोनयन गरेकाहरु मध्य दुई सय जनाले केन्द्रीय सदस्य त्याग गरेको नेपालको दावी छ।

‘सन्की महाराज केपी ओली हुन्। उनका हनुमान झन् खतरनाक बनेर निस्किएका छन्,’ उनले सम्वोधनको क्रममा भने, ‘केपी ओलीका हनुमानले पार्टीमा अरुलाई कहिल्यै अवसर दिएनन्।’

संघर्षलाई अझ उचाइमा पुर्‍याउन कार्यकर्ताको साथ चाहिने उनले बताए। सम्वोधनको क्रममा धेरै समय केपी ओलीको विरोधमा खर्चिएका नेपालले आन्दोलनको आधिबेहरी सिर्जना गर्ने चेतावनी दिए।

कार्यक्रमलाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सम्वोधन गर्दै प्रधानमन्त्रीले संसद विघटन गर्नु असंवैधानिक कदम भएकोप्रति कसैलाई दुविधा नरहेको बताए। भेलालाई लुम्बिनी प्रदेश ईञ्चार्ज युवराज ज्ञवाली, कृष्णबहादुर महरा, ओनसरी घर्ती लगायतका नेताहरुले सम्वोधन गरेका थिए।

माघ ३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्