झन् झन् चर्किँदै गायक खरेल र विन्ध्यवासिनीको विवाद

तस्बिरः प्रमोद खरेलको फेसबुकबाट फाइल तस्बिर

काठमाडौँ – गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिक प्रालिबिचको विवाद झन् झन् चर्किँदै गएको छ।

प्रतिलिपि अधिकारका विषयमा चर्केको विवादले उग्र रुप लिएपछि यो मुद्दा न्यायालयमा प्रवेश गरेको छ।

गायक खरेलले प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै उजुरी दिएपछि प्रहरीले विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मीलाई पक्राउ गरेको छ।

अब यो मुद्दाको फैसला अदालतले गर्ने प्रहरीले जनाएको छ।

विन्ध्यवासिनीसँग सम्झौता गरेको करार समय सकिएपछि ‘प्रणय’ एल्बम फिर्ता माग्दा नदिएर सामाजिक सञ्जालमार्फत तथानाम टिप्पणी गरेपछि आफूले प्रहरीमा उजुरी दिएको गायक प्रमोद खरेलको भनाई छ।

यसअघि कम्पनीले आफूले उत्पादन गरेको गीत गायक खरेलले बिनाअनुमति गाएको आरोपसहित एक करोडको क्षतिपूर्ति दाबी गर्दै कम्पनी रजिस्ट्रार कार्यालयमा उजुरी दिएको थियो।

गायक खरेल भने गीतको सर्वाधिकार आफूसँग रहेको र ‘प्रणय’ एल्बमको निर्माता नै आफू रहको दाबी गर्दै आएका छन्।

उनका अनुसार एल्बमको प्रकाशन तथा बिक्री वितिरणको सम्झौता पाँच वर्षको थियो । तर सम्झौता सकिँएपछि एल्बम फिर्ता माग्दा आफूमाथि मानसिक आक्रमण भएको उनको भनाई छ।

तर विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवाश रेग्मी भने कम्पनीको अनुमति बिनै गीत गाएर खरेलले करोडौँ रकम अनाधिकृत रुपमा कमाएको दाबी गर्छन्।

गायक खरेल र विन्ध्यवासिनीबीचको विवादमा कलाकार तथा निर्माता विभक्त भएका छन्। सामाजिक सञ्जालमा उनीहरुबिच याे मुद्दामा  दोहोरी चलिरहेको छ।

माघ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्