बल्ल भेटियो एउटा भस्मासुर

आफू राजनीतिक प्राणी नभए पनि यस वृत्तका धेरैजना साथी छन् भन्नुमा न गौरव लाग्छ, न हीनताबोध नै। कारण राजनीतिक प्राणी र म दुबै एउटै समाजमा बस्छौँ। एउटै धरातलमा विचरण गर्ने दुई ‘इन्टिटी’का बीच जम्काभेट हुनु किमार्थ पनि नौलो अथवा आश्चर्यजनक हुन सक्दैन र दुई चेतनायुक्त ‘इन्टिटी’का बीच भएको भेट परिचय र परिचय मित्रतामा परिणत हुनु पनि विस्मयकारी होइन।

म व्यक्तिगतरूपमा कम्युनिज्मको आलोचक एवं विरोधी हुँदा पनि यस वृत्तका अनेकौँ पथिक मेरा शुभचिन्तक, मित्र, आत्मीयजन, प्रेमी, शुभेच्छु भएको यथार्थ पनि कुनै आशयले आशंका, संदेह एवं छिद्रान्वेषणको परिधिमा आउँदैन। कारण? कारण सर्वविदित नै छ एउटै परिवेश, एउटै भाषा, एउटै चेतना, एउटै समाज, एउटै धरातलका दुई प्राणीको संयोगले भेट भयो, परिचय भयो, राजनीतिक विचारधारा बाहेकका अन्य थुप्रै मानवीय भाव र अभिरुचिबस दुबैमा मैत्री सम्बन्ध स्थापित भयो।

पवित्र बुद्ध भूमिमा बस्ने भरत भुसाल यसै वृत्तबाट आउने मेरा परम शुभेच्छुक हुनुहुन्छ। सम्माननीय प्रधानमन्त्री श्रीमान केपी ओलीज्यूको भारतीय मिडियामा आएको अन्तर्वार्तापछि उहाँसँग हुने संवादको प्रवाह तीव्र भएको छ। कारण, उहाँलाई अन्तर्वार्तामा अभिव्यक्त भएका सम्माननीय प्रधानमन्त्रीज्यूका विचार, धारणा र अठोटभन्दा यसको पृष्ठभूमिबारे अवगत हुने तीव्र उत्कन्ठा छ।

‘स्वामीज्यू, नेपाली जनमानसको राष्ट्रियता, राष्ट्रप्रेम, स्वाभिमान र यस्तै आदि कुराबारे हामी कम्युनिस्टहरुलाई जति अरु कसलाई नै थाहा हुन सक्छ! त्यसकारण हाम्रा प्रधानमन्त्रीले बोलेको कुरामा नजाऊँ, कुराले लठ्याउने हामी कम्युनिस्टहरुमा विलक्षण प्रतिभा नै हुन्छ। ओलीज्यू वर्तमानमा त्यस विद्याको सबैभन्दा ठूलो शिकारी हो। मलाई यसको पृष्भूमि जान्ने इच्छा छ।’
सर्पको खुट्टा … ( भरतदाइ क्षमाप्रार्थी) सर्पले नै देख्छ। उहाँको शंका निराधार छैन। हाम्रा प्रधानमन्त्रीले भारतीयलाई ठेगान लगाए भनी राष्ट्रियताको उग्र प्रचण्ड ज्वरोसम्म तातेको अपूर्व भावमा सुधीर चौधरीको (प्रधानमन्त्रीज्यूको अन्तर्वार्ता लिने ज़ीन्यूजका पत्रकार) अर्को एउटा अभिव्यक्तिले भने ‘हाइडोज’को प्यारासिटामोल’ कै काम गरिदियो।

दुवै समाचारबारे नेपालका सोसल मिडियादेखि खल्तीका मिडिया हुँदै ‘मेन स्ट्रिम’का मिडियालाई हेर्ने स्वर्ण अवसर पाइयो। यसले आम नेपालीदेखि प्रबुद्ध समुदायसम्मको मानसिकता छर्लङ्ग बनाएको थाहा हुन्छ। प्रधानमन्त्रीद्वारा अभिव्यक्त भएका महान वाणीले नेपाली राष्ट्रियता सम्बर्धित भएको निष्कर्षमा पुगी आफ्नो क्षमताभन्दा बढ़ी उफ्रिने वर्गसँग विनीत भावमा सोध्न चाहन्छु- के उहाँको पूरै अन्तर्वार्ताको ‘एटिच्यूड’ नेपाली राष्ट्रियता र स्वाभिमानभन्दा भारतको आलोचना र विरोधमै लक्षित थिएन? सामान्य जनले बुझने हैसियत नराखे पनि विद्वतवर्गलाई यो बुझ्न आफ्ना विद्यावारिधिका थेसिस पल्टाई राख्नु पर्दैन। यस्तो जटिल, विकट र डावाँडोल स्थितिमा के प्रधानमन्त्रीले भारतलाई चिढ्याउने ‘कालीदासीय’ चरित्रको प्रदर्शन गर्ने धृष्टता गर्नुहुन्छ? यहाँनिर अर्को एउटा परम स्मरणीय कुरा के छ भने ज़ीन्यूजले भारतको राष्ट्रवादी खेमाको प्रतिनिधित्व गर्छ। के सुधीर चौधरी प्रधानमन्त्रीले दिएका गफ कुनै आदर्श विधार्थीका माफिक सुन्दै बस्न सक्थे।

भरत दाइ, तपाईँले गरेको आशंका दुरुस्त छ। त्यस इन्टरभ्यूको स्क्रिप्ट नै प्रधानमन्त्रीलाई उपलब्ध गराइएको थियो र त्यो नियोजित थियो। यो बुझ्न अथवा यसको पुष्टि नालन्दा विषयक उहाँको उद्गारले नै छर्लङ्ग हुन्छ- एउटा विशेष प्रजातिको आक्रमणकारीले आफूलाई औषधि नै नदिई निको बनाई दिएको र यस्तो विलक्षण ज्ञान विधर्मीमा नरहोस् भन्ने हेतुले उसले नालन्दा विश्वविधालयलाई ध्वस्त बनाई दियो। भनी राख्नु परेन त्यो आक्रमणकारी कुन विशेष सम्प्रदाय अथवा धर्मसँग सम्बन्धित थियो।

राष्ट्रिय स्वयंसेवक संघ र भारतीय जनता पार्टीको प्रमुख एजेन्डा बोकीदिनु भयो हाम्रा प्रधानमन्त्रीले भारतको चलनचल्तीको विरोध गर्ने नाटकका क्रममा।

भरत दाइ, म भारतमा रहँदा राष्ट्रिय स्वयं सेवकको सक्रिय कार्यकर्ता थिएँ। भनिराख्नु परेन जनसंघदेखि जनता पार्टी हुँदै भारतीय जनता पार्टीको उत्साहित प्रचारक एवं कार्यकर्ता थिएँ। अटलजीको सट्टा (उनको उदारवाद) आडवाणी एवं उनकै जस्ता ‘हार्ड लाइनर’ नरेन्द्र मोदीको विचारसँग सामीप्य राख्थेँ।

मोदी अर्जुनभन्दा पनि कुशल धनुशास्त्री हुन्। उनले एकै बाणले चौतर्फी आक्रमण गर्ने कुशलता राख्छन्। उनले बल्ल नेपालमा ‘गेम’ खेल्ने शुरुवात गरेका हुन्, हेर्दै जानुस उनको लक्ष्यभेदन केके र कहाँसम्म हुन्छ?

अब हेर्नुस्, म व्यक्तिगत रूपमा तपाईँको मित्र भए पनि समग्रमा तपाईँले बोकेको विचारधाराको समूल उच्छेदन हेर्न इच्छुक धर्मरत, धर्मचर सन्यासी हुँ।

बल्ल एउटा भस्मासुर भेटेका छौँ। सलाई खुशी पार्दै, नचाउँदै, उसको नाचमा लयबद्ध ताल एवं संगीतको पुट दिँदै उसलाई आफ्नै शिरोच्छेदन हेतु उत्साहित र प्रेरित गर्नु म जस्तासम्मको धर्म नै हो। म सत्य र सत्यको योजना,कार्यविधि र यसले प्राप्त गर्ने लक्ष्यबारे गोपनीयता राख्दिन। नारदझैँ पहिला नै उद्घाटित गरिदिन्छु ( कंसलाई मार्न कृष्णको जन्म सम्बन्धी जानकारी कंसलाई कृष्ण जन्मिनुभन्दा पहिला नै दिएजस्तो)। गोपनीय संग्रामको मजा नै के! विधर्मीलाई पहिला नै सूचित गर्नु सत्यकै आचरण हो।

मलाई कुनै आश्चर्य भएन, सम्माननीय प्रधानमन्त्रीज्यूद्वारा ‘बुस्ट’ गरिएको राष्ट्रवादको ग्राफ केही घन्टा न बित्दै ओरालो लाग्यो। सगरमाथा विषयक ज़ीन्यूजका सम्पादकको सामान्य अभिव्यक्तिले हाम्रो राष्ट्रियता, सार्वभौमिकता र यस्तै अन्य केके कुरा खण्डित हुन पुगे। सामान्य जनको के कुरा, नेपालका ‘मेनस्ट्रिम’का दैनिक अखवार नै ट्याब्लोइड शैलीमा प्रस्तुत भए। हो, यही हो हामी नेपालीको विशुद्ध मानसिकता र ‘अन्डरस्टान्डिङ!’

बल्ल एउटा भस्मासुर भेटेका छौँ। सलाई खुशी पार्दै, नचाउँदै, उसको नाचमा लयबद्ध ताल एवं संगीतको पुट दिँदै उसलाई आफ्नै शिरोच्छेदन हेतु उत्साहित र प्रेरित गर्नु म जस्तासम्मको धर्म नै हो।

हाँसो उठ्यो भरत दाइ, तपाईँको महान विचारधाराले कस्तो ‘स्कुलिङ’ गराएको रहेछ!

सुधीर चौधरीले सागरमाथा बारे यति मात्रै भनेका थिए -यस टाकुराको पहिलो अग्ल्याइ नाप्ने काम एकजना बंगालीबाबुले गरेका थिए। तर भारतमा त्यस बेला ब्रिटिश शासन भएकाले उनलाई यसको श्रेय नदिई कुनै एभरेस्ट थरका ब्रिटिश प्रशासकलाई यसको श्रेय प्रदान गरी उनका नामबाट यसको नामकरण गरियो। उनले यति मात्र माग गरेका थिए कि कम्तीमा अब भारतीयले यसलाई सच्याउनुपर्‍यो र भारतीयहरुले यस प्राकृतिक सम्पदालाई ती बंगालीकै नाम दिनुपर्‍यो। उनले आफ्नो अभिव्यक्तिमा बारम्बार यो प्राकृतिक सम्पदा नेपाल र तिब्बतको सीमानामा भएको उल्लेख गरेका थिए।

बस के थियो, उनको अभिव्यक्ति प्रसारित हुनसाथ नेपालीको राष्ट्रियता, अखण्डता र स्वाभिमानमा बज्र प्रहार भए। सोसल मिडियादेखि अनलाइनका स्क्रिन हुँदै अखबारका पाना रंगिए।

हामी नेपालीहरु यस नेपाली सम्पदालाई सगरमाथाका नामले बोलाउँदा गौरवान्वित हुन्छौँ। तिब्बती, चिनियाँहरुले अर्कै नामले बोलाउँछन्। विश्वले एभरेस्टका नामले चिन्छ। हाम्रै पर्यटन मन्त्रालयले पश्चिमा जगतमा यसको प्रचार एभरेस्टका नामले गर्छ। सागरमाथाका नामले गरे कसले चिन्ने!

यस्तोमा यदि भारतीयहरुले यसलाई अर्कै कुनै नामकरण गरी बोलाउँछन् भने के आपत्ति? आखिर पहिलो पटक यसको अग्ल्याइ नापने श्रेय के हामी ती बंगालीबाट खोस्न सक्छौँ?

नेपालीको यस हीन मानसिकतालाई कसरी विश्लेषण गर्ने भरत दाइ! कतै यो तपाईँकै विचारधाराले गरेको विजारोपण त होइन? के भारत विरोध नै नेपाली राष्ट्रियताको एकमात्र सूचक हो?

मैले पुस २९ गते साँझमा एउटा लामो पोस्ट लेख्दै सुधीर चौधरीलाई धन्यवाद दिएँ र सगरमाथाको प्रचार जुनसुकै भाषामा भए पनि गरिरहन अनुरोध गरेँ। भारतीयहरुले सगरमाथालाई जे नामले बोलाए पनि भारतको एक प्रतिशत जनताले यहाँको भ्रमण गरिदिए मलाई औधी खुशी हुन्छ। राति ९ बजे सुधीरले आफ्नो कार्यक्रममा नेपालले छापेको अखबारको कटिङ देखाउँदै प्रष्ट गरिदिए उनको आशय सगरमाथा माथी दाबी गर्ने नभएको, मात्र भारतीयहरुले यसको नामकरण बंगाली बाबूको नाममा गर्नु पर्ने जिकिर गर्दै नेपालमा अर्को ऋतिक रोशन काण्ड दोहरिन नदिन उपकार गरिदिए।

माघ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्