चार पूर्वप्रधानन्यायाधीशलाई राणाको जवाफः बाहिरको कुरा सुन्दैनौँ

काठमाडौँ – प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै चार पूर्वप्रधानन्यायाधीशहरुले जारी गरेको विज्ञप्तिलाई लक्षित गरी प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले जवाफ दिएका छन्।

विघटन विरुद्ध परेका रिटको विषय केन्द्रित बहस आइतबारदेखि सुरु भएको हो।

आइतबार विघटनविरुद्ध परेका रिटको सुनुवाइको क्रममा अधिवक्ता सुनिल पोखरेलले पूर्वप्रधानन्यायाधीहरुको प्रसंग उठाएपछि राणाले ‘मिलाएर’ जवाफ दिएका हुन्।

पोखरेलले भारतमा इन्दिरा गान्धीलाई सर्वोच्च अदालतले हाइकोर्टको आदेश उल्ट्याउँदै प्रधानमन्त्रीमा पुनर्स्थापित गरिदिएपछि संविधानमाथिकै सबैभन्दा ठूलो आक्रमण अदालतबाट भएको उल्लेख गर्दै अहिलेको सन्दर्भमा नेपालमा दोहोरिन नहुने जिकिर गरे।

संविधानको रक्षा गर्ने मामिलामा सर्वोच्च अदालतको भूमिका महत्वपूर्ण हुने भएकाले अहिले संसद विघटनलाई बदर गरेर संविधानको रक्षा गर्ने दायित्व सर्वोच्चमा आएको उनले बताए।

त्यससँगै पोखरेलले संविधानको रक्षाको सन्दर्भमा पूर्व प्रधानन्यायाधीशको भनाइलाई पनि आएको बहसका क्रममा उल्लेख गरे। उनले भने, ‘संविधानको रक्षा गर्ने सन्र्दभमा सर्वोच्च अदालतको ठूलो भूमिका छ। पूर्व प्रधानन्यायाधीश ज्यूहरुको भनाइ पनि सुनिएको छ। अदालतले त्यसलाई पनि विचार गर्नुपर्छ।’

पोखरेलले आफ्ना भनाइ सक्ने वित्तिकै इजलासबाट प्रधानन्यायाधीश राणाले हाँस्दै ‘बाहिरको कुरा थाहा नहुने’ उल्लेख गरे। राणाले भने, ‘हामीले बाहिरको कुरा देख्ने सुन्ने होइन। यहाँ जे उपलब्ध छ, त्यसैलाई हेर्नुपर्छ। त्यस्ता कुरा आँखा, कान र हार्टमा छैन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि पुस २४ गते चारजना पूर्वप्रधानन्यायाधीशले विरोध जनाउँदै विज्ञप्ति जारी गरेका थिए।

मिडिया र सार्वजनिक रुपा त्यसको पक्ष र विपक्षमा चर्को बहस भए पनि आइतबार भने उक्त प्रसंग संवैधानिक इजलासमा प्रवेश गरेको हो।

पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संसद विघटन असंवैधानिक रहेकोले सर्वोच्च अदालतबाट सदर हुन नहुने आशय व्यक्त गरेका थिए।

माघ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्