एसएसबीले भित्र्याउन नदिएपछि कञ्चनपुरका किसानको उखु १२ दिनदेखि खेतमै

धनगढी- कञ्चनपुरको बेलौरी नगरपालिका–१० को सडकघाट स्थित पिलर नम्बर ३५ वरपरको भूभागमा लगाएको उखु र तोरी भारतीय सुरक्षा बल (एसएसबी) ले १२ दिन देखि किसानलाई भित्र्याउन दिएको छैन।

नेपालका तर्फबाट स्थानीय सरकार र सरोकारवालाहरुसँग भएको छलफलपछि ‘नो म्यान्सल्यान्ड’ सम्बन्धी कुनै समस्या नरहेको भन्ने सहमति भएपनि अझै एसएसबीले किसानले लगाएको खेती उठाउन दिएको छैन।

एसएसबीले गरेको अवरोध समाधान गर्न शनिबार भारतको पिलिभित बटालियनका डेपुटी कमाण्डर अमनदीप सिंह छलफलका लागि त्यहाँ आएका थिए। डेपुटी कमाण्डर सिंह नेपालीलाई लगाएको खेती उठाउन दिने आश्वासन दिएर त्यहाँबाट फर्किएका थिए।

शनिबार बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरी र डेपुटी कमाण्डर सिंहबीच दुई घण्टालामो छलफलपछि कमाण्डर सिंहले समस्या समाधान हुने विश्वास दिएका थिए। तर पनि सिंहले भनेको लागू भएन।

शनिबार बेलुका नै पुनः सिंहकै कमाण्डमा खटिएका एसएसबीले अन्नबाली उठाउन रोक लगाएपछि यतिबेला स्थानीय चिन्तित बनेका छन्। त्यहाँबाट निस्किएको केही घण्टापछि नेपाली किसानहरुले काटेको आफ्नै बारीको उखु उठाउन दशगजा क्षेत्र जाँदा पुनः एसएसवीले अवरोध गरेका थिए।

एसएसबी छोटेलाल बङ्गालीले लिखित आदेश नआएसम्म भनसुनको आधारमा ‘नो म्यान्सल्यान्ड’मा हिँडडुल गर्न नदिने भनेर अवरोध गरेका हुन्। एसएसबीले रोक लगाएपछि किसानले १२ दिनदेखि उखु मिलमा लैजान पाएका छैनन्।

१२ दिनदेखि काटेको उखु खेतमै सुक्न थालेको भन्दै किसानले दुखेसो पोखेका छन्। कृषकको समस्यालाई समाधान गर्न भारतीय पक्षसँग बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक एवम् नेकपाका नेता पल्लबराज भट्ट, यज्ञप्रसाद कँडेल, हरिलाल चौधरी, समाजसेवी गोपाल पन्त, हरिश पन्त लगायत स्थानीयहरुले पटक–पटक प्रयास गरेपनि अझै सुल्झिन सकेको छैन।

भारतीय एसएसबीका कारण नेपाली किसान दाजुभाइहरुले काटेको उखु खेतमै सुक्न थालेको भन्दै बेलौरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष हरिलाल चौधरीले आपत्ति जनाएका छन् । भारतको ३५ नम्बर पिलर क्षेत्रबाट १ सय ८० मिटर दक्षिण भारततर्फ नेपालको भू-भाग पर्दछ।

माघ ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्