
धनगढी – कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनेको छ।
याेसँगै अब सुदूरपश्चिम विश्वविद्यालय देशकै दोस्रो ठूलो विश्वविद्यालय बनेको छ।
विगत ३ वर्षदेखि कैलाली बहुमुखी क्याम्पसलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने प्रक्रिया सुरु भए पनि सहमति जुट्न सकेको थिएन।
तर आइतबारदेखि भने कैलाली बहुमुखी क्याम्पस सरकारी क्याम्पस बनेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उप–कुलपति प्राध्यापक डाक्टर अम्मराज जोशीले बताए ।
उनका अनुसार तत्कालका लागि १ सय १० जना प्राध्यापकको नियुक्ति दिने, प्राविधिक विषयका सबै विधामा पठनपाठन सुरु गराउने सहमतिसहित क्याम्पसलाई सुप विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने सहमति भएको हो ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्र रहेको महेन्द्रनगरमा आइतबार जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्य थापा, कैलाली बहुमुखी क्याक्पस व्यवस्स्थापन समितिका उपाध्यक्ष नृपबहादुर वड र विश्व विद्यालयका उपकुलपति अम्मरराज जोशीले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
अब आङ्गिक क्याम्पस बनेपछि कैलाली बहुमुखी क्याम्पसमा सञ्चालन हुने नयाँ भर्ना सुप विश्व विद्यालयले नै सञ्चालन गर्ने छ । तर यसअघि भर्ना भई अध्ययन गरिरहेका विद्यार्थीको परीक्षा भने त्रिभुवन विश्वविद्यालयले नै सञ्चालन गर्ने उप–प्राध्यापक जोशीले बताए ।
कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चुडामणी भट्टले आफ्नो पहिलो एजेण्डा पूरा भएको बताए ।
‘स्ववियू निर्वाचनमा मैले कैलाली बहुमुखी क्याम्पसलाई सरकारी क्याम्पस बनाउने एजेण्डा दिएको थिए’ उनले भने–‘आज मेरो एजेण्डा पूरा भएको छ ।’
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उप–कुलपति अम्मरराज जोशीका अनुसार आइतबारपछि सुप विश्व विद्यालयमा २० हजार बढी विद्यार्थी आवद्ध भएका छन् भने ६ सय बढी प्राध्यापक तथा शिक्षक रहेका छन्।
यति ठूलो संख्यामा विद्यार्थी र प्राध्यापक त्रिभुवन विश्वविद्यालयमा मात्रै रहेको उप–कुलपति जोशीले बताए ।
उनले थप ६ वटा क्याम्पसलाई समेत आङ्गिक क्याम्पसमा जोड्ने गरी प्रक्रिया अगाडि बढाइएको बताए ।