वर्षभरिको योजना बुन्दै नेतृत्व छान्दै थारु समुदाय

दाङ – लमही नगरपालिका–४ का उमाकान्त चौधरी अर्काे माघसम्मका लागि गाउँको अगुवा (कट्कन्दार) चुनिएका छन्।

माघ ३ गते मजगाउँमा भएको ‘भुरा खेल’ अर्थात गाउँको वार्षिक भेलाले चौधरीलाई आगामी एक वर्षको लागि अगुवा चुनेको हो । उनी लगातार तेस्राेपटक गाउँको अगुवा चुनिएका हुन्।

अब गाउँको सार्वजनिक कामको छिनोफानाे अगुवाको नेतृत्वमा हुने भेला–बैठकले गर्नेछ। माघलाई थारु समुदायले नयाँ वर्षको रुपमा मनाउने गरेको छ।

‘परापूर्वकालदेखि चल्दै आएको यो लोकतान्त्रिक विधि र प्रकृया हो । यही प्रकृयाले गाउँ चल्छ’, उमाकान्त चौधरीले भने, ‘बाउ–बाजेले जसरी गाउँको नेतृत्व गर्नु भयो । त्यसैगरी हामीले अहिले नेतृत्व गर्न आईपुगेका छौँ।’

सिँचाइ र खेतीपातीसँग गाउँको अगुवाई जोडिएको हुन्छ । बर्खा लाग्दा कुलो खन्ने, सफा गर्ने, गाउँमा बाटो बनाउने, सरसफाई गर्ने जस्ता काम पनि गाउँको अगुवाको निर्णयमा भर पर्छ ।

गाउँमा हुने सार्वजनिक वादविवादको मिलापत्रको लागि भूमिका समेत खेल्ने गरिएको छ । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका पश्चिम क्षेत्रका थारु बस्तीमा अहिले वार्षिक योजना बनाउने र गाउँको नयाँ नेतृत्व चयन गर्ने क्रमले तीव्रता पाएको छ ।

माघ महिना भित्र यी सबै विषय टुंग्याउनुपर्ने हुन्छ । जिल्ला अथवा ठाउँ अनुसार नेतृत्वकर्ताको पद फरक फरक छ । तर, काम भने उही गाउँ चलाउने हो ।

एक वर्षका लागि गाउँको बडघर, भलमन्सा, कट्कन्दार, घरको अगुवा, गुरुवा तथा अन्य प्रतिनिधि छनोट गर्न भुरा खेल खेल्ने गर्दछन्।

भुरा खेलमा नेतृत्व चयन पनि गर्दछन् । बडघर अर्थात कट्कन्दारले गाउँको विकाससँगै विवाह तथा परम्परागत सांस्कृतिक कार्यक्रममा नाच, पूजापाठ, अंशबण्डा, झैझगडा मेलमिलाप र गाउँको रीतिथिति बसाल्ने काममा आफ्नो नेतृत्वदायी भूमिका निर्वाह गर्दछन्।

स्थानीय तहको निर्वाचनपश्चात जनप्रतिनिधि चयन भए पनि थारू गाउँमा बडघरको भूमिकालाई अहिले पनि महत्वपूर्ण मानिँदै आइएको छ । जनप्रतिनिधिले पनि गाउँको विकासका लागि श्रमदान जुटाउन बडघरमार्फत सहायता लिनुपर्छ ।

समुदायमा रहेको सकारात्मक अभ्यास, परम्परा र संस्कृति संरक्षणका लागि योगदान पुर्‍याउन र प्रजातान्त्रिक प्रक्रियामा आधारित बडघर प्रथालाई जीवन्त राख्नुपर्नेमा थारु अगुवाहरुको जोड छ ।

थारु संस्कृतिबारे अध्ययन गरेका उदयराज आलेले कट्कन्दारको चलन परम्परागत चलन भएको बताए । ‘कटकन्दारलाई गाउँ चलाउने जिम्मेवारी दिइएको हुन्छ । गाउँमा विकास निर्माणको काम, कुलो पानीको काम, सामाजिक काम, धार्मिक कामहरुमा अगुवाई गर्छ । गाउँ घरमा कसैको झगडा भयो, बेमेल भयो भने मिलाउने काम समेत गर्ने गरिन्छ’, आलेले भने, ‘पुरानो प्रथा हो । राम्रा कुराहरु पनि छ । जसले गाउँ राम्रोसँग चलायो । हरेक वर्ष उही छानिन्छ । गाउँलेले छनौट गर्ने भएकाले राम्रो मान्छे आउँछ । प्रजातान्त्रिक चलन हो ।’

यो चलनलाई सरकारी निकायले भने मान्यता भने दिएको छैन। मान्यता दिन माग उठ्ने गरेको छ । प्रशासनिक निकाय बिस्तार भएपछि यी पुराना इकाइले मान्यता पाउन छाडे ।

‘गाउँ चलाउनको लागि कटकन्दारहरु योग्य मानिन्थे । चलाउँदै आएका थिए’आलेले भने, ‘प्रशासनिक, राजनीतिक इकाइ गाउँ गाउँमा पुगेपछि यो चलन कमजोर हुँदै गयो । यो प्रथालाई मान्यता दिनुपर्ने भन्ने माग अहिले पनि उठ्ने गरेको छ।’

माघ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्