गिद्धेभीरमा टिपर दुर्घटना, तीनजनाको मृत्यु

विराटनगर – सोलुखुम्बु जिल्लाको गिद्धेभीरमा भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु र एकजना गम्भीर घाइते भएका छन्।

सुनसरीस्थित प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका अनुसार सोलुदूध कुण्ड नगरपालिका ११ स्थित गिद्धेभीरमा आइतबार राति भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो।

मृत्यु हुनेमा बा ४ ख ७९८० नम्बरको टिपरका चालक धादिङका कमल मगर, मकवानपुर बागमति गाउँपालिकाका राजकुमार मगर र सप्तरी सुरुंगा नगरपालिका कृष्णलाल चौधरी रहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए।

उनका अनुसार चालकबाहेक मृत्यु भएका दुई र घाइते भएका एकजना हाइड्रोपावरका कामदार हुन्।

सोलु खोलामा निर्माण सम्पन्न भएको २३.५ मेघावाटको अपर सोलु हाइड्रोपावरका लागि रड र ग्याबिन आसार्दै गरेको अवस्थामा टिपर राति करिब ११ बजे दुर्घटना भएको र तीनजनाको घटनास्थलमै मृत्यु भएको उनले बताए।

दुर्घटनाका क्रममा टिपर गिद्धेभीरबाट करिब ३ सय मिटर तल खसेको प्रहरीको भनाई छ।

सोही दुर्घटनामा मकवनपुरको बागमती गाउँपालिकाका रमेश मगर गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइते अवस्थाका मगरलाई दुर्घटनास्थलको सडकबाट करिब सय मिटर तल भेटिएको थियो। उनको राति नै उद्धार गरि उपचारका लागि फाप्लु अस्पताल लगिएको प्रहरी प्रवक्ता तिमल्सिनाले जानकारी दिए।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

स्थानीय कल्पना राईका अनुसार बर्सेनि सो स्थानमा सडक दुर्घटनामा मानवीय क्षति हुने गरेको छ।

माघ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्