श्रीमती बेचिइन्, श्रीमानले गरे आत्महत्या

नेपालगञ्ज – बर्दियाकी ३५ वर्षीया महिला । श्रीमानसँगै ज्यालादारी काम गर्थिन् । एक दिन आफन्ती नै पर्ने व्यक्तिले विदेशमा गएर यत्तिकै काम गर्दा राम्रो कमाई हुन्छ भनेर सहानुभूति दर्शायो । घरकै काममा पठाइदिन्छु भन्यो ।

श्रीमान र श्रीमतीका बीचमा छलफल भयो । आफ्नै मान्छेले घरको काममा लगाइदिने र पैसा पनि राम्रो हुने बताएपछि उनीहरु तयार भए । विदेशमा पनि यही आफ्नो घरमा गरेको काम गर्ने त हो नि भन्ने श्रीमान–श्रीमतीको निष्कर्ष निस्कियो ।

सुन्दर सपना बोकेर महिला घरबाट निस्किन् । बिछिया नाका हुँदै भारत प्रवेश भयो । दलालले उनलाई बेग्लोर, मुम्बई हुँदै दिल्ली पुर्‍याए । प्रायः दलालले दिल्लीबाट नै नेपाली चेलीलाई खाडी लैजान्छन् । यी महिलालाई श्रीलंका पुर्‍याइयो ।

श्रीलंकाबाट कुवेत लगियो । कुवेतमा एउटा घरमा राखियो । केही नयाँ मान्छे आए । उनीहरुले हाम्रो गाउँघरमा पशुलाई किन्दाजसरी तलमाथि हेरे । साहुले छान्यो । एक हजार दिनारमा कुरा मिलेछ । सिधा भाषामा भन्दा महिला बेचबिखनमा परिन् । उनलाई साहुले लिएर गयो ।

घरमा लगेपछि उनलाई चौबिसै घण्टा काममा घोटाइयो । खाना पनि राम्ररी दिइएन । सबैले खाना खाइसकेपछि बचेको खाना पाउन पनि मुश्किल हुन्थ्यो । कैयौ दिन त डष्टविनमा फालेर गन्हाएको खाना नाक थुनेर झिकेर खाइन् । शारीरिक, मानसिक यातना दिइयो । मानवीयता देखाइएन ।

महिलाले बडो दुःख पाइन् । एक दिन घरमा श्रीमानलाई फोन गर्ने मौका मिल्यो । श्रीमानलाई फोन गरेर जसरी पनि आफूलाई नेपाल फर्काउन भनिन् । दुःख पीडा सुनाइन् । श्रीमतीको पीडा कुन श्रीमानले सहन सक्छ र ?

श्रीमान दलालको घरमा पुगे । जसरी पनि श्रीमतीलाई नेपाल फर्काइदिन अनुनय विनय गरे । दलालले भने, ‘दुई वर्षसम्म नेपाल फर्काउन सकिँदैन । यदि अहिले नै नेपाल फर्काउने भए ६ लाख रुपैयाँ चाहिन्छ ।’

श्रीमानले ६ लाख रुपैयाँ खोज्न गाउँ चाहारे । गरिबलाई कसले पत्याउने ? पैसा जम्मा गर्न सकेनन् । फेरि दलालको घरमा गए । दलाल आफन्ती नै थिए । अनुनय विनय गरे । यसपाली दलालले उनलाई कुटेर पठायो । एकातिर श्रीमतीको पीडा, अर्कोतिर त्यही श्रीमतीलाई पीडामा पठाउने दलालको कुटपिट । श्रीमानले हार खाए । उनले आत्महत्या गरे ।

महिलाको दुःखकष्टमा परिवर्तन आएन । एक दिन उनी यसै मर्ने उसै मर्ने भन्दै मालिकको चार तले घरको पाइपबाट झुण्डिएर तल ओर्लिन् । घर बाहिर निस्किन् । बाटोमा टेक्सी रोकिन् । सुरुमा आफूलाई लगेर राखेको र बेचेको कार्यालय (घर) मा पुर्‍याइदिन आग्रह गरिन् ।

टेक्सी चालकले यौन सम्पर्क गर्न दिएमात्रै पुर्‍याइदिने बतायो । महिलाले उनको कुरा मानिन् । टेक्सी चालकले यौनशोषण गर्‍यो र उनले भनेको ठाउँमा पुर्‍याइदियो ।

बेच्ने कार्यालयमा पुगेपछि आफूलाई घर फिर्ता पठाइदिन आग्रह गरिन् । त्यहाँका मानिसले आनाकाना गर्न थाले । महिलाले त्यही मर्ने जिद्दि गरिन् । त्यसपछि कार्यालयका मानिसले महिलालाई नेपाली दूतावासमा पठाइदिए ।

दूतावासमा गएकाे तीन महिनापछि महिला नेपाल फर्किन् । दुबईबाट नेपाल फर्किँदा जहाजमा भेटिएकी नेपाली महिलालाई सबै दुःखपीडा सुनाइन् । ती महिलाले उनलाई काठमाडौँमा आएपछि भाडा र छोराछोरीलाई चक्लेट किनेर दिइन् । रित्तो हात विदेश हिँडेकी महिला रित्तो हात नै घर फर्किइन् । यो बीचमा पाइन् त दुःख, पीडा र हण्डर ।

घरमा आइपुग्दा श्रीमान थिएनन् । छोरीलाई सोधिन्, बाबा खोई ? छोरीले पोखरा काममा गएको बताइन् । आउँदा आउँदै श्रीमान बितेको खबर गर्न उचित ठानिएन । उनलाई पनि ज्यालादारी काम गर्ने श्रीमान् पोखरा गएको होला भन्ने विश्वास भयो । केही समयपछि आफन्तीले बेलिबिस्तार सुनाइदिए । महिलालाई झाँगाबाट खसेजस्तो भयो ।

विदेशको भुत अनि आफन्ती दलालको विश्वासमा पर्दा गाउँघरमा ज्याला मजदुरी गरेर चलेको परिवारको स्वरुप नै बदलिन पुग्यो । महिलाले दलालविरुद्ध मानव बेचबिखनविरुद्धको मुद्दा दायर गरिन् । दलाल अहिले कारागारमा रहेका छन् ।

गाउँघरमा दुःखजिलो गरेर बसेको परिवारलाई दलालको प्रवेशले तहसनहस नै बनाइदियो । ४१ वटा संघ संस्थाआवद्ध महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह, नेपाल (एटविन) ले मानव बेचबिखनका पीडितको पहिचानसम्बन्धी अनुसन्धान गर्नेक्रममा यो घटनालाई बाहिर ल्याएको छ ।

एटविनले बाँके, काठमाडौँ र रुपन्देही जिल्लामा अनुसन्धान गरिरहेको छ ।

माघ ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्