सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

सिन्धुली-यहाँको तीनपाटन गाउँपालिका–४ टोड्केपानीमा डबल क्याब बोलेरो आज दुर्घटना हुँदा एकको घटनास्थलमा नै मृत्यु भएको छ। अन्य पाँच घाइते भएका छन्।

दुर्घटनामा सिन्धुलीको तीनपाटन गाउँपालिका–११ का ६५ वर्षीया चम्पामाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

दुर्घटनामा दुधौली नगरपालिका–४ वनधारा ३२ वर्षीया सतिनीमाया तामाङ, ७० वर्षका प्रेमलाल श्रेष्ठ, दुधौली नगरपालिका–३ कालापानी बस्ने ५३ वर्षीय पृथ्बीनारायण श्रेष्ठ, दुधौली–६ हर्षाही ५५ वर्षीया दुर्गा श्रेष्ठ र तिपपाटन गाउँपालिका–१० वाङरिङ ६३ वर्षीया मनमाया गौतम घाइते भएको खत्रीले जानकारी दिए।

घाइतेको आमा मेमोरियल अस्पताल डकाहा र सिन्धुली अस्पतालमा उपचार गरिएको थियो। घाइते उपचारपश्चात फर्किएको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिए।

दुधौली नगरपालिका–४ टोड्केपानीस्थित ग्रामीण सडकखण्डमा डकाहाबाट चकमकेतर्फ जाँदै गरेको स १ च १६७७ नम्बरको डबल क्याप बलेरो आफैँ अनियन्त्रित भई सडक छेउको नालामा पल्टिएको प्रहरीले जनाएको छ ।

माघ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्