ट्रम्प-एक्सपिरियन्स र हाम्रो लागि सिकाइ

प्रणय राणा –
संयुक्त राज्य अमेरिका (अमेरिका) मा हालै भएको राष्ट्रपतीय चुनाव अमेरिकामा मात्र नभई पूरै विश्वमा नै चासोको विषय बन्न पुग्यो। उक्त चुनावमा विस्कन्सिन, मिशिगन, पेन्सलभेनिया, जर्जिया, र एरिजोना राज्यहरू स्विंग अर्थात रिपब्लिकन पकडबाट डेमोक्रेट्सको पकडमा पुग्नाले जो बाइडेन डोनाल्ड ट्रंपलाई २३२ का विरुद्ध ३०६ इलेक्टोरल मतले हराउँदै संयुक्त राज्य अमेरिकाका ४६ औँ राष्ट्रपतिको रुपमा निर्वाचित भएका छन्। । ट्रम्प (२०१६-२०२०) ले भने बीसौँ शताब्दी यता राष्ट्रपतिको दोस्रो कार्यकाल जित्न नसकेका विलियम ताफ्ट (१९०९-१९१३), हर्बर्ट हूवर (१९२९-१९३३), जेराल्ड फोर्ड (१९७४-१९७७) , जिम्मी कार्टर (१९७७-१९८१) , र जर्ज बुश सिनिअर (१९८९-१९९३) पछि आफ्नो नाम दर्ता गराएका छन्।
बहुसंख्यक श्वेत-समर्थक अमेरिकीहरुमा अल्पसंख्यक अन्य जाति र आप्रवासी अमेरिकी प्रति घृणा पैदा गरी पहिचानवादी राष्ट्रियताको नारामा पहिलो कार्यकाल जितेका उनले दोस्रो कार्यकालको चुनावमा उही नाराका साथ अगाडि बढे तापनि हार व्यहोर्नुपर्यो। सचेत जनता अनि बलियो प्रजातान्त्रिक जग भएको ठाउँमा पहिचानको राजनीतिले सँधै काम गर्दैन भन्ने कुरा यस चुनावबाट प्रमाणित पनि भयो।
भारत भ्रमण गरेर हिन्दु अमेरिकनको समर्थन जित्न खोज्नुको सट्टा नेपालका नेताहरूलाई भेटेको भए उनीहरुले ट्रम्पलाई ठोस काम केही नगरी जनतालाई पहिचानको राजनीतिमा भुलाएर कसरी वर्षौँसम्म सत्तामा बसिरहने भन्ने अनेक उपायहरु दिने थिए होलान्। ट्रम्पले नेपालबाट सिक्न सक्ने कुरा त यहाँ सटायर नै भयो, तर हामी नेपालीले अनि विशेषगरी भविष्यमा नेपाली राजनीति मार्फत देशको सेवा गर्न चाहनेले चाहिँ अमेरिकी ट्रम्प-एक्सपिरियन्स (अनुभव) बाट वास्तबमै के सिक्न सक्छौं त?
शिक्षा क्षेत्रको बिकाश र सचेत जनशक्तिको आवश्यकता
विकसित राष्ट्र भन्दैमा जनता सबै शिक्षित हुँदैनन् र शिक्षित भए भन्दैमा सबै सचेत हुँदैनन् भन्ने कुरा ट्रम्प-एक्सपिरियन्स बाट धेरै छर्लंग भयो। आर्थिक मन्दीमा डुबेको अमेरिकालाई कठोर परिश्रम बाट उकास्ने ओबामा पछि अमेरिकी जनताले आफ्नै राष्ट्रिय सुरक्षा लाई कमजोर तुल्याउने र गरिब तथा मध्यम वर्गले पाइरहेको स्वास्थ्य सुबिधा हटाउन आफ्नो सम्पूर्ण कार्यकाल कोशिस गर्ने ट्रम्पलाई राष्ट्रपति चुनेका हुन्।
यो शिक्षा अनि चेतनाको कमिले गर्दा भएको हो भन्दा अनुचित नहोला। यसैको कारण पछिल्लो केहि दशकमा हामी नेपालीले हाम्रो सार्वभौमिल्कता अनि राष्ट्रिय अखण्डतामा खलल पुर्याउने धेरै नेताहरु पायौं र त्यस कुरालाई पचायौं पनि।
प्रजातान्त्रिक मुलुकहरुमा चुनावमार्फत इच्छाइएको परिवर्तन ल्याउने जनताको हातमा भएकोले जनता सचेत, सक्षम र उदारवादी विचारधाराका हुन अत्यन्तै जरुरी हुन्छ। भविष्यमा हुन सक्ने कुनै पनि राजनैतिक प्रकोप जसले नेपाल र नेपाली जनता दुवैलाई खतरा सिर्जना गर्न सक्दछ, त्यस्ता खालका परिस्थितिको सामना गर्न यस किसिमको जन-सागर आवश्यक भएकोले यसको निर्माणार्थ धेरै भन्दा धेरै लगानी शिक्षा क्षेत्रमा हुन जरुरी देखिन्छ। हुन त शिक्षा क्षेत्रको विकास नेपालको सबै राजनीतिक पार्टीको घोषणापत्रमा सँधै अटाएकै हुन्छ, तर यत्तिका वर्षसम्मको ट्रेन्ड हेर्दा शिक्षा क्षेत्रमा हुनुपर्ने अनुपातको विकास भएको देखिन्न। ९०% भन्दा बढी शिक्षकहरु शिक्षण इजाजतपत्र परिक्षामा अनुतिर्ण हुने घटना नौलो छैन यहाँ।
यस्ता शिक्षकबाट शिक्षा ग्रहण गरेका विद्यार्थीहरुको स्तर कस्तो होला र तिनले उपयुक्त समयमा देशको लागि कस्तो भूमिका निर्वाह गर्लान् ? यस्तो भैरहंदा पनि देशले दरिलो शिक्षा नीति अवलम्बन गर्न सकेको छैन; कारण, अधिकांस हाम्रा नेतालाई यसको महत्व थाहा भएन। जेल-जीवन अनि चाकडी मात्र योग्यताको मापन भयो। त्यसैले होला गणतान्त्रिक संविधानमा गाडी हाँक्ने ड्राइभर हुन एस. एल. सी. पास भनियो, तर देश हाँक्नेलाई कुनै शैक्षिक योग्यताको हद राखिएन- ती ६०१ ले ठूलो पापको भरि बोकेका छन्।
तसर्थ, हाम्रो शिक्षा प्रणालीको यथास्थिति (बेसलाइन) बुझेर व्यापक सुधार अनि पुनर्संरचना गर्नुपर्ने देखिन्छ। शहरी तथा ग्रामिण क्षेत्र बीच शैक्षिक पूर्वाधार, शिक्षण गुणस्तर आदि कुराको अन्त्यन्तै ठूलो खाडल भएकोले न्यायसंगत विकास (इक्वीटेबल डेवेलप्मेंट) मोडेल लागु गर्न अपरिहार्य भैसकेको छ।
डेमोक्रेसीको कमजोरी
अघिल्लोसँग सम्बन्धित कुरामा ट्रम्प-एक्सपिरियन्स बाट नेपालले सिक्ने अर्को कुरा के हो भने बहुमतले लिएको निर्णय देशको लागि सधैं अनुकूल हुन्छ भन्ने छैन। डेमोक्रेसी (प्रजातन्त्र, लोकतन्त्र जे भने पनि) को ठूलो कमजोरी यो पनि देखियो- संसारकै नमुना मानिएको राष्ट्रमा पनि ट्रम्प जस्ता चुनिन केहि गार्हो रहेनछ।
झनै यसले नेपाल जस्तो देशको लागि प्रत्यक्ष राष्ट्रपति व्यवस्था उपयुक्त हो कि हैन भन्ने गम्भीर प्रश्न समेत खडा गरेको छ। के नेपालको हालकै अवस्थामा प्रत्यक्ष राष्ट्रपति प्रणाली उपयुक्त छ? त्यसका लागी हाम्रा लोकतान्त्रिक जग बसिसकेका छन् त? अर्को जरुरी प्रश्न, के हाम्रो राजनीतिमा बाह्य हस्तक्षेप हावी छ ? हामी सबैलाई यसको जवाफ राम्रो संग थाहा छ- “अत्ति नै छ ”। तसर्थ, प्रत्यक्ष राष्ट्रपति व्यवस्था बारे गहन अध्यन, विश्लेषण तथा राष्ट्रिय बहस जरुरि देखिन्छ ।
रसियाबाट प्रभावित र संचालित विक्टर यानुकोवीचले २०१० मा युक्रेनको प्रत्यक्ष राष्ट्रपति पद ग्रहण गरेपछि युक्रेनको के हविगत भयो? ठुलो सर्बभौम संकटबाट गुज्रदै युक्रेन युरोपियन युनियनमा गाभिए तापनि क्राइमिया क्षेत्र रसियालाई बलि चढाउनु पर्यो।
ट्रम्पलाई पनि आफ्नो कार्यकालको सुरुवातबाट रसियाको सहयोगमा चुनाव जितेको भन्ने लाल्छना लाग्यो र पछि मुलर प्रतिवेदनले पनि त्यसै तर्फ संकेत गरेपछि प्रतिनिधि सभा बाट महाभियोगको लागि सिफारिस गरिए तापनि माथिल्लो सदनबाट त्यसलाई खारेज गरियो। संसदीय व्यवस्थामा प्रधान मन्त्रीलाई अविश्वासको मतले हटाए जस्तै गरि प्रत्यक्ष राष्ट्रपतिलाई हटाउन उति सजिलो हुने रहेनछ भन्ने कुरा ट्रम्प-एक्सपिरियन्स बाट सिक्न सक्दछौं।
अन्तमा जनता नै जनार्दन
जनमत भन्दा ठूलो केहि र कोही पनि हुन्न। विभिन्न कारणले भोट दिएर पहिलो कार्यकाल जिताए तापनि देशको लागि प्रतिकूल साबित भएका व्यक्तिलाई सचेत जनताले कसरी गलाहत्यउनु पर्ने रहेछ भन्ने कुरा हामी ट्रम्प-एक्सपिरियन्स बाट सिक्न सक्छौं।
प्रजातन्त्र भन्ने शब्दमा राजा र प्रजाको आभास भयो भनेर ६२-६३ को आन्दोलनमा लोकतन्त्रको नारा लगाइयो, अनि लोकतन्त्र भारतमा बढी प्रचलित शब्द भएकोले अहिले फेरि नगरिकतंत्र भन्ने तन्त्र नेपाली राजनीतिमा छाइरहेको छ। तर यी कुनै पनि जादुका तन्त्र त होइनन् ! आफ्नो अमूल्य भोट के का लागि जाँदैछ भन्ने चेतना जनतामा नभए सम्म कुनै पनि तन्त्रले यहाँ काम गर्ने वाला छैन।
सुसंस्कृत राजनीतिका खम्बाहरु जनता स्वयम् भएकाले अहिलेको पिंढीले सचेत जनता मार्फत बन्ने सचेत समाजको निर्माणमा पूरा जोड दिनुपर्छ। परम्परागत बुझाईको कर (आर्थिक-कर) तिरेर मात्र हाम्रो जिम्मेवारी पुरा हुँदैन। आर्थिक करका साथ-साथै हामी जनताले आफ्नो बौद्धिक र समय-कर पनि देशको लागि निरन्तर तिरिरहनु पर्दछ, अनि मात्र वास्तवमै देशमा पर्याप्त जनसहभागिता सहितको सुसंस्कृत राजनीतिको माहोल बन्नेछ।
आधुनिक नेपालको इतिहासमा जम्मा दुई काल-खण्डमा बहुसंख्यक नेपली जनता एकजुट भएको देखिन्छ; बडा महाराजधिराज पृथ्वीनारायण शाहको नेतृत्वमा नेपाल एकीकरण ताका र नेपाली कांग्रेसको नेतृत्वमा जनता राणा शासनविरुद्ध उत्रिँदाको ताका ।
बहुसंख्यक जनताको चाहना भएकाले यी बाट आएका परिवर्तन दिगो रहन पुगे। तत्पश्चातका परिवर्तनमा सिङ्गै देश एक भएको देखिँदैन। नेतृत्व वर्गले जनता एक ढिक्को बनाउने एजेण्डा नपाएर पो हो कि त जनतामाझ फूटको बिज रोपेर शासन गरेको देखिन्छ।
श्वेत-समर्थक अमेरिकीहरुको आडमा फूटको राजनीति गरि शासन गरेका ट्रम्पको न कार्यकाल दीगो रह्यो, न त उनले अप्नाउन खोजेका योजनाहरु। उनको सम्पूर्ण ४ वर्षे कार्यकालमा अमेरिका भित्रि र बाह्य दुवै रुपमा अस्थिर रहन पुग्यो। यस अर्थमा विभिन्न नाराका पछाडि जनता फुटाएर शासन गर्ने हैन जनता जुटाउने नेतृत्व पाउँदा मात्र देशले दीगो विकास र स्थिरता पाउन सक्दछ भन्ने कुराको एक अनुस्मारक पनि हो हाम्रो लागि ट्रम्प-एक्सपिरियन्स।
(यो लेख चुनावमा हारको नतिजा ग्रहण गर्न नसकेका डोनाल्ड ट्रम्पको उक्साहटमा जनवरी ६ मा भएका अराजक गतिविधिहरु हुनुपूर्व लेखिएको हुनाले यसमा उक्त बिषयबारे समिक्षा गरिएको छैन।)