विश्वप्रकाश शर्माको सञ्चालनमा आजदेखि टेलिभिजन शो ऐना प्रशारण हुने

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा बुधबारदेखि टेलिभिजन प्रस्तोताका रुपमा आउँदै छन् । उनी प्रस्तोता रहने टेलिभिजन कार्यक्रम ऐना बुधबारदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुनेछ ।

कांग्रेस प्रवक्ता शर्माले सञ्चालन गर्ने कार्यक्रमको पहिलो एपिसोड बुधबार राति ९ बजेदेखि कान्तिपुर टेलिभिजनमा हेर्न सकिने छ ।

सामाजिक विषयवस्तुमा आधारित तर फरक प्रस्तुतिसहितको टेलिभिजन शो ‘ऐना’ व्यापक र खोजमुलक हुने निर्माण कम्पनीको दाबी छ ।

टिभी शोले नेपाली समाजमा हुने विभेद, अन्याय, हानिकारक प्रथा परम्परा जस्ता सामाजिक विषयवस्तुहरुको मानवीय संवेदनशीलताको पक्षलाई उजागर गर्ने निर्माताको भनाई छ । द होराइजन मल्टिमिडिया प्रालिले निर्माण गरिरहेको २६ एपिसोडको यो शो यसअघि गएको कात्तिक पहिलो सातादेखि प्रसारण हुने भनिएको थियो । कोभिड–१९ का कारण शो दुई महिना पछाडि धकेलिएको हो ।

देशका विभिन्न स्थानमा पुगेर सामाजिक सवालमाथि अध्ययन–अनुसन्धान, घटना र पात्रहरुको मिहीन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरी कुनै पनि विषय माथिको सम्पूर्ण ‘प्याकेज’का रुपमाकार्यक्रम ‘ऐना’शो तयार गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

कार्यक्रम छायंकनको लागि द होराइजन मल्टिमिडियाले बालाजु स्थित चलचित्र विकास कम्पनीको परिसरमा छायाँकन सेट निर्माण गरेको छ ।

‘ऐना’ को ’प्रोजेक्ट हेड’ मा राधाकृष्ण धिताल, निर्देशकमा अमनप्रताप अधिकारी, प्रोड्युसरमा जनक पौड्याल, कन्टेन्ट रिसर्चमा प्रकाश लामिछाने, स्क्रिप्ट राइटरमा आन्विका गिरी, डाइरेक्टर अफ फोटोग्राफीमा प्रमोद कार्की, पोष्ट प्रोडक्सनमा रमेश थापाको टिम रहेको छ ।

माघ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्