नयाँ राजनीतिक दल खोल्नेबारे ट्रम्पले सल्लाहकारसँग छलफल गरेको दाबी

कार्यकाल समाप्त भएर बुधबारदेखि बिदा हुँदै गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राजनीति दल खोल्ने बारे आफ्ना सहयोगी तथा सल्लाहकारसँग परामर्श गरेको खुलेको छ।
द वाल स्ट्रिट जर्नलले स्रोतहरुको भनाई उद्धृत गर्दै गएको हप्ता ट्रम्पले सहयोगी तथा सल्लाहकारहरुसँग नयाँ राजनीतिक दल खोल्ने सम्भावनाबारे छलफल गरेको दाबीसहितको खबर प्रकाशित गरेको हो।
रिपब्लिकन पार्टी भित्रको विवाद तथा मदभेदका कारण ट्रम्पले ह्वाइट हाउसबाट बिदा भएपछि नयाँ राजनीतिक दल खोल्ने सम्भावनाबारे छलफल गरेका हुन्।
राष्ट्रपतिका रुपमा अन्तिम सम्बोधनमा पनि उनले आफूले सुरु गरेको ‘अमेरिका फस्ट’ आन्दोलनको अन्त्य नभइ सुरुवात मात्रै भएको बताएर नयाँ राजनीतिक पार्टीको सम्भावनालाई बल प्रदान गरेको विश्लेषण गरिएको छ।
ट्रम्पको चार वर्षे शासनकालमा अधिकांश समय साथमा रहेको रिपब्लिकन नेताहरु जनवरी ६ मा उनको उक्साहटमा संसद भवनमा भएको हिंसात्मक आक्रमणपछि दूरी बनाएका वा आलोचनामा उत्रिएका छन्।
सिनेट मेजोरिटी लिडर मिच म्याकनोलले ट्रम्प तथा अरु शक्तिशालीको उक्साहटमा संसद भवनमा आक्रमण भएको मंगलबार सिनेटमा बताए।
हिंसात्मक बिद्रोहका लागि उक्साएको अभियोगमा ट्रम्पमाथि महाअभियोग लागेको छ। त्यसमाथि सिनेटमा आउँदा हप्तामा छलफल सुरु हुनेछ। त्यसअघि लिडर मिचको सम्बोधनलाई अर्थपूर्ण मानिएको छ।
पूर्णरुपमा अझै पनि ट्रम्पले नोभेम्बर ३ मा भएको चुनावको नतिजा स्वीकार गरेका छैनन्। सो चुनावमा विजयी भएका जो बाइडेनले बुधबार अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै छन्।
पार्टी भित्र एक्लिँदै गएका तथा समर्थकहरुको आधार बलियो देखेका ट्रम्पले नयाँ पार्टी खोल्नेबारे विचार गरे पनि सो छलफल कति गम्भीर हो भन्ने स्पष्ट नभएको वाल स्ट्रिट जर्नलको खबरमा उल्लेख छ।