कविता

बाबा आज केही भन्न मन लाग्यो

मेरा मोडिएका ती औँलाहरु तिम्रो हातले एक–एक गरी खोलिए
मेरा लडखडाएका ती पाइलाहरु हरेक पटक तिम्रो सहाराले उभिए

मेरो मुखबाट आवाज ननिस्किँदा, मेरो इसारा नै काफी थियो तिम्रो लागि
मैले देखेका सपनाहरुलाई आफ्नो बनायौँ, तिम्रा सारा इच्छा र आकांक्ष त्यागी

बिहानीपख म उठ्नुभन्दा पहिले नै तिमी हिँडिसक्थ्यौ आफ्नो काम गर्न
साँझ जब म टन्न खाएर निदाउँथे तब फर्कन्थ्यौ घर तर्फ

नादान थिएँ म जो सोच्ने गर्थे समयसँग तिमीसँग हामीलाई दिन
त्यो बाल मसितष्कलाई के थाहा, हाम्रै निम्ति त लुटाएका छौँ तिम्रो जीवनको हरेक क्षण

स्मरणमा छ मेरो अझै, पसलको त्यो कपडा देखाउँदै म टकटक्याउने गर्थे तिम्रो रित्तो गोजी
तिमीले देखाएको त्यो नाई भन्ने इसाराले फर्कन्थे रिसाएर केही नबोली

भोलिपल्ट बिहान उठेपछि खाटको सिरानमा म देख्थे त्यही उपहार
कति अतुलनिय छौ तिमी बाबा, तिम्रो माया साह्रै अपार

आँशु तिम्रा आँखाबाट पनि बग्छन् होला तर हामी सामु सधैँ मुस्कुराउँछौ
कैयौँ रात छटपटिँदै बित्छन् होला तिम्रा तर हामी तिम्रै आश्रयमा निदाउँछौँ

हाम्रा भविष्यबारे सदा चिन्तित तिमी, आफ्नो इच्छालाई भने निकै पर छोडेर आयौ
एक पटक नसोची किनिदियौ नयाँ मोबाइल तर आफूले भने त्यही वर्षाैँ पुरानो चलायौ

शब्दमा बयान गर्न सकुँला र म तिमीलाई? तिम्रो चाहुरेको अनुहारका ती रेखाहरुले मेरो भाग्य रेखा कोरेका छन्
तिम्रा पट् पट् फुटेका ती गोडाहरुले मलाई जीवनमार्ग देखाएका छन्

तिम्रो देहबाट बगेको हरेक पसिनाको थोपा थोपा मिलेर नै त ब बनेकी छु बाबा
तिमी मेरो ठूलो आकाश हौ जहाँ पखेटा फिँजाएर म उड्न सकेको छु बाबा

चाहना यति मात्र छन् मेरा, मलाई सक्षम बनाउन दिनरात खटिँदा खटिँदै बुढो भएको त्यो शरीरको लाठी बन्न सकूँ
मेरा पाइलाहरु अघि चाल्नका निम्ति घस्रिँदा घस्रिँदै फुटेका ती गोडाहरुको म मलम बन्न सकूँ

तिम्रा आँखामा झल्किएका ती गर्वका किरण र हश्रायुको कारण बन्न सकूँ
आमा सरह त भन्दिँन म, तर बाबा तिम्रा हरेक दुःख र सुखमा म पनि तिम्रो सारथी बन्न सकूँ।

प्रनिशा आचार्य,

ग्लोबल कलेज अफ मेनेजमेन्ट,

कक्षा ११

 

माघ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्