प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक पाँच मिनेटमै सकियो

काठमाडौँ– प्रदेश १ को हिउँदे अधिवेशन करिब पाँच मिनेट बसेर सकिएको छ।

बैठक बुधबार दिउँसो २ बजेका लागि आह्वान गरिएको थियो। सोही क्रममा विहान करिब ११ः३५ बजे सभामुख प्रदीपकुमार भण्डारीसँग कार्य व्यवस्था परामर्श समितिको बैठकले अधिवेशनका लागि सहमति बनाएको थियो।

अधिवेशनको सुरुवात गर्दै सभामुख भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीद्वारा बैठकको लागि आह्वान गरेको पत्र पढेर सुनाएका थिए। पत्रबारे जानकारी गराएलगत्तै सभामुख भण्डारीले सातौं अधिवेशन अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरेको घोषणा गरेका थिए।

यसअघि विवादित नेकपाका दुई पक्ष नै प्रदेश १ को प्रदेश सभा बैठक सुचारुका लागि नै सहमत भएका थिए। प्रदेश सभाको नियमित बैठकपूर्व सभामुख प्रदीपकुमार भण्डरीसँग बसेको कार्य व्यवस्था परामर्श समितिको छलफलपछि आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले सदन सहज ढंगबाट सुचारु गर्दै विजनेस दिने कुरामा तयार रहेको बताए।

मुख्यमन्त्री शेरधन राईविरुद्ध परेको अविश्वासको प्रस्ताव फिर्ता लिन सुझाव दिएको मन्त्री कार्कीले बताए।

नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सातौं बैठकका लागि कम्तीमा प्रदेश प्रमुखले पठाएको पत्र सुनाएर अर्को सूचना नहुञ्जेलसम्मका लागि बैठक स्थगित गर्न सहमत भएको बताएका थिए।

सदन सुचारु गर्नका लागि उनले निलम्बित १६ सांसदहरुले समेत उपस्थिति जनाउन सक्ने गरी व्यवस्था गरिएको उनको भनाइ थियो।

उनले भने, ‘यो निलम्बनको विषय राजनीतिक भएको हुँदा यस विषयमा पछि छलफल हुनेछ।’

अर्को बैठकका लागि सभामुखले आवश्यकता हेरिकन आह्वान गर्ने उनले बताए।

बैठकपछि पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा नेकपाकी सांसद सीता थेबेले निलम्बन गरिएका सांसदको विषय सभामुखको क्षेत्राधिकार भित्र पर्ने हुँदा कारबाही टुंगो लाग्ने बताइन्।

माघ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्