‘मायालु हजार हुन्छन्’ गाउने गायक ध्रुब केसी अस्वस्थ

काठमाडौँ– गायक ध्रुव केसी केही समयदेखि अस्वस्थ भएका छन्। गायकका भान्जा प्रविण निरौलाका अनुसार उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकले बताएका छन्।

निरौलाका अनुसार केसीलाई पछिल्लो १० वर्षदेखि पार्किन्सन्सको समस्या थियो। पछिल्ल्लो एक महिनादेखि उनलाई ‘सिजर’ हुने समस्या थियो।

‘पछिल्लो केही दिन असाध्यै गाह्रो भएको थियो, आज उहाँलाई अलि सञ्चो छ,’ निरौलाले भने, ‘पछिल्लो ३ वर्षदेखि उहाँलाई भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा राखेर स्याहार गरिँदै आएको छ।’

गायक केसीले ‘मायालु हजार हुन्छन्, बगीजाने खोला, सबले भन्छन्, तिम्रो माया कागजको र अभिनेता भुवन केसीसँग ‘अरु कालो रेलको धुँवाले’ गीत गाएका छन्। ७६ वर्षका केसीको जन्म २००१ मंसिर १ मा भएको थियो।

गायक केसी अभिनेता भुवन केसीका काका हुन्। नेपालमा गायनमा नाम कमाएका केसी केही समय भारतमा अभिनयको लागि संघर्ष गर्न गएका थिए । लेखक समीक्षक तथा चलचित्र निर्देशक प्रकाश सायमीले सामाजिक सञ्जालमा उनको अवस्था चिन्ताजनक भएको बताएका छन्।

उनले लेखेका छन्, ‘संगीतकार गोपाल योञ्जन, नारायण गोपालसकित उत्कृष्ट सहकार्य गरेका स्वर्णीम युगका चर्चित गायक ध्रुव केसीले हरिप्रसाद रिमाल, भुवन केसी, उर्मिलाकुमारी श्रेष्ट, कमला श्रेष्ठ, तारादेवी आदिसँग युगल गीत गाएका छन्।’ सायमीले गायक केसीलाई सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

माघ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्