खाने तेलको मूल्य बृद्धि गर्ने बाराका दुई तेल उद्योगलाई तीन/तीन लाख रुपैयाँ जरिवाना

सांकेतिक तस्बिर।

वीरगञ्ज– बढी मूल्यमा खाने तेल बिक्री गर्ने बाराका दुई वटा तेल उद्योगलाई तीन–तीन लाख रुपैयाँ जरिवाना गरिएको छ। बाराको महालक्ष्मी एण्ड सोल्भेन्ट रिफाइनरी प्रालि र अन्नपूर्ण भेजिटेबल प्रालिलाई तीन–तीन लाख रुपैयाँ जरिवाना तिराइएको हो।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा दुवै उद्योगलाई नगद जरिवाना गरेको हो।

तेलको मूल्य बृद्धि भएको उपभोक्ताहरुबाट गुनासो आएपछि विभागले ती दुबै तेल उद्योगको अनुगमन गरी मूल्य बृद्धि भएको बारेमा सोधपुछ गरेको थियो। सो क्रममा उद्योगीले कच्चा पदार्थको पैठारीमा नै मूल्यबृद्धि भएको दावी गरेका थिए।

विभागले पैठारीको कागजात र तेलको मूल्य बृद्धिलाई तुलना गर्दा बढी मूल्यमा तेल बिक्री गरेको पाइएकोले तत्कालै तीन लाख जरिवाना गरिएको विभागका निर्देशक शिवराज सेढाइले जानकारी दिए। दुबै उद्योगले गुणस्तर अनुसारको एमआरपी मूल्य बढी राखेको पाइएकोले ऐन अनुसार कारबाही गरिएको सेढाइले बताए।

‘तेलको मूल्य बृद्धि भएको उपभोक्ताको गुनासो आधारमा अनुगमन गर्दा ती दुबै उद्योगले गुणस्तर अनुसार भन्दा एमआरपी बढी राखेको पाइयो,’ उनले भने, ‘त्यसै कारणले उद्योगलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरिएको हो।’

पछिल्लो समय खाने तेलको मूल्य बृद्धि भएसँगै आम उपभोक्ताका साथै खुद्रा बिक्रेता समेत मारमा परेका छन्।

पछिल्लो केही महिनायता खाने तेलमा २० देखि ५० रुपैयाँसम्म बृद्धि भएको छ। तेल उत्पादन गर्ने उद्योगीले भने खाने तेलको उत्पादन गर्ने कच्चा पदार्थमा मूल्य बृद्धि भएकोले बजारमा तेलको मूल्य बृद्धि भएको बताउँदै आएका छन्।

माघ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्