हुम्लामा कोरोना संक्रमित घटे, अब एकजना मात्रै

सिमकोट- कोरोना संक्रमित निको भइ डिस्चार्ज हुनेको संख्‍या बढ्दै गएपछि अब हुम्लामा एकजना मात्रै कोरोना संक्रमित रहेका छन्।

लामो समय कोरोना संक्रमणका हिसावले ग्रीन जोनका रुपमा रहेको हुम्ला जिल्लामा गत असोजयता जिल्ला भरि ९१ जनामा कोरोना संक्रमण देखिएको थियो। तर तीमध्‍ये अधिकांश निको भएर घर फर्किएपछि हाल संक्रमित संख्या एकजना मात्र रहेको अस्पतालकी सिनियर अनमी सरिता बोहराले बताइन्।

उनले भनिन्, ‘केही दिन अगाडी सिटिजन्स बैंकका दुई जना कर्मचारीहरुमा कोरोना देखिएकोमा एकजनालाई कोरोना संक्रमण जटिल बन्दा काठमाडौं रिफर गरिएको र अर्की एकजना महिला कर्मचारी मात्र जिल्लामा कोरोना संक्रमितको रुपमा रहनु भएको छ।’

हुम्लामा बाँकी ८९ जना कोरोना संक्रमित सबै जनाले कोरोना जितिसकेको छन्। गत असोज ३ गते हुम्लामा पहिलो पटक नेपालगंजबाट हवाई जहाजमा आएकी युवतीमा कोरोना देखिएको थियो। त्यसपछि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, शिक्षक र विधार्थीमा कोरोना संक्रमण देखिएको थियो।

हाल कोरोना परिक्षणको दायरा पनि घटेको छ। कारोना संक्रमणका त्रास कम भएको भन्दै केही दिन अगाडीबाट हुम्लामा आउने हवाई यात्रुको अनिवार्य कोरोना रिपोर्ट समेत नपर्ने निर्णय भएको थियो। परीक्षण कार्य कम भएपछि त्यसको स्थानीय स्तरमा बिरोध पनि हुदै आएको छ । तर पनि कोरोना परिक्षणको दायरा बढाउने तर्फ भने कुनै पहल हुन सकेको देखिदैन।

माघ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्