उपन्यास ‘पल्पसा क्याफे’को नाटक तयारीमा मलाई ‘थ्रिल’ भइरहेको छ

जतिबेला मैले पहिलो चलचित्र ‘होस्टल रिटर्न्स’ मा काम गरेँ, त्यो बेलामा मलाई थिएटर हुन्छ, त्यहाँ नाटक मञ्चन हुन्छ, थिएटरमा हामी बाहिरको दर्शक हेर्न जान पाउँछौँ भन्ने थाहा थिएन।

मैले काम धेरै अगाडि सुरु गरेकी थिएँ, त्यसैले यस्ता ठाउँको बारेमा थाहा थिएन। पहिलो चलचित्रको निर्माण टोलीले नै मण्डला, शिल्पीमा लिएर जानुभएको थियो। त्यसपछि मैले थाहा पाएँ कि अर्को दुनियाँ पनि रहेछ, जहाँ नाटक देखाइन्छ र हामी पैसा तिरेर हेर्न जाने रहेछौँ।

त्यहीबेलादेखि नै मलाई नाटकको मञ्चमा कसरी प्रस्तुति दिने होला? कसरी जान सकिन्छ? होला भन्ने लाग्थ्यो। थिएटरमा काम गर्नु अगाडि कक्षा पनि दिने रहेछ भन्ने थाहा पाउँदा अलि फरक अनुभूति भएको थियो।

तर चलचित्रमा काम गरिसकेपछि फेरि थिएटरमा जाने कुरा सम्भव त्यो बेलामा भएन। नसकिने त थिएन तर मौका मिलेन। मैले पछिल्ला केही वर्षमा नाटकमा काम गर्न पाए हुन्थ्यो, केही सिक्न पाइन्थ्यो कि भनेर कुरा गरिरहेको थिएँ। किनभने जो थिएटर सिकेर चलचित्रमा आउनुभएको छ, उहाँको ‘डाइमेन्सन’ नै फरक हुन्छ। त्यो कुरा मैले पनि सिक्न पाए चलचित्रमा पनि केही अझै राम्रो गर्न सक्थेँ कि भन्ने लाग्थ्यो।

त्यही समयमा मलाई स्वर्गीय पत्रकार गोकर्ण गौतमले अनौपचारिक रुपमा ‘तपाईँलाई ड्रामा गर्न मन छ?’ भनेर सोध्नु भएको थियो। मैले उहाँलाई ‘मन छ, हेरम् न!’ भनेको थिएँ। उहाँले मलाई यस्तो खालको ड्रामा बन्दैछ र अडिसन भइरहेको छ भनेर जानकारी दिनुभयो। मलाई सोध्नुभयो ‘के छ विचार?’ भनेर।

मैले ‘पल्पसा क्याफे’ पढेको भन्दा पनि अडियो बुक सुनेको थिएँ। यसमा नाटक बन्दै भनेपछि म उत्साहित भएको थिएँ। त्यसपछि नाटकका निर्देशक विमल सुवेदीसँग भेटेर अनौपचारिक कुराकानी, अडिसन भयो।

अहिले मैले धेरै कुरा सिक्ने मौका पाएको छु, सिक्दैछु। म नयाँ छु तर मेरो टोलीले मलाई धेरै मेहनत गरेर काम गराउनु भएको छ, उहाँहरुलाई धन्यवाद भन्न चाहन्छु।

काम सुरु भएको दुई महिना भएको छ, अझै धेरै काम गर्न बाँकी छ। पुस्तकमा पढेको जस्तो क्लियर पात्र नाटकमा छैन। मेरो काम सम्पूर्ण रुपमा मैले गर्न पाइसकेको छैन। हामी पात्र कस्तो छ भनेर छलफल गर्न बाँकी छ।

अहिले म थ्रेट भएको छैन, मलाई थ्रिल भइरहेको छ। मेरो लागि यो पूर्ण रुपमा नयाँ अनुभव हो। त्यसैले यो सम्पूर्ण प्रक्रिया नै मैले रमाइलो गरिरहेको छु। कसरी प्रस्तुति दिने होला भनेर डराएको छैन। चलचित्रमा काम गर्दा पनि मलाई संवादहरु चाँडै स्मरण हुने भएकोले धेरै टेक खाएको याद छैन। मञ्चमा प्रस्तुति दिने बेलामा ‘ब्याक स्टेज एन्जाइटी’ हुन्छ होला।

मलाई सोधिएको छ, कि यसैलाई निरन्तरता दिन्छु होला की नाइँ भनेर। यो मेरो पहिलो अनुभव हो। काम देखिसकेको पनि छैन। मलाई गर्न मन लाग्छ, मलाई रमाइलो लाग्छ भन्ने मात्र पनि ठूलो कुरा हैन, मैले कस्तो काम गर्न सक्छु भन्ने पनि ठूलो कुरा हो। त्यसको रिभ्यू आउँछ अनि मैले पछि के गर्छु भन्ने कुरा आउँछ। र म मेरोतर्फबाट सकेसम्म राम्रो काम गर्नेछु।

प्रस्तुति: सुजाता खत्री

माघ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्