विश्वकै उत्कृष्ट संविधान भन्ने केपी ओलीले तीन वर्षमै संविधानको उल्लंघन गरेः उपेन्द्र यादव

जनकपुरधाम–  जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पर्ने षडयन्त्रमा लागेको अरोप लगाएका छन्।

बुधबार सप्तरीको राजविराजमा आयोजित विरोधसभामा बोल्दै अध्यक्ष यादवले संविधान बनाउनेहरु नै संविधानको उल्लंघन गर्ने काममा लागेको बताए।

उनले विश्वकै सर्वोत्कृष्ट संविधान भन्ने केपी शर्मा ओलीले तीन वर्षमै संविधानको उल्लंघन गरेको बताए।

‘केपी ओली लगायतका कांग्रेसका नेताहरुले अन्तरिम संविधानमा दिइएको आधारको उल्लंघन गरेर नेपालको संविधान २०७२ जारी गरेका थिए। त्यतिबेला त्यसको विरोधमा मधेशी जनता बाहिर आए,’ उनले भने, ‘त्यसै संविधानलाई उत्कृष्ट संविधान भनियो तर आज त्यो संविधान तीन वर्ष पनि चलेन। उत्कृष्ट भन्नेबाटै उल्लंघन भयो।’

यादवले नेपालको संवैधानिक व्यवस्था लुडोको खेल जस्तै भएको दावी गरे। उनले भने, ‘यो संविधान त लुडो जस्तै भएको छ। विभिन्न संघर्षपछि अधिकार भेटियो त्यसलाई पनि खाएर पुनः तल नै झर्‍यो।’

त्यस्तै विरोध प्रदर्शनमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशी जनताको हत्या गराउने केपी ओलीले संविधानको हत्या गरेको अरोप लगाए।

उनले भने, ‘जब मधेशी, दलित, जनजाती, थारु, आदिवासीहरु आफ्नो अधिकारको लागि सडकमा आए तब बेइमान केपी ओली तिनीहरुको हत्यामा उत्रे। पहिले मधेशी जनताको हत्या गरे, आज संविधानको हत्या गरे।’

राजेन्द्र महतो।

केपी ओली प्रतिगमनकारी नभएर महाप्रतिगमनकारी रहेको महतोले आरोप लगाए। पुस ५ गते केपी ओलीले लोकतन्त्रमाथि प्रतिगमन गरेको उनले बताए।

माघ ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्