दिनभर बदलीको सम्भावना कुन–कुन क्षेत्रमा, कता घाम लाग्छ?

काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पूर्वी र मध्य भू–भागमा हाल बंगलादेश र आसपासमा बनेको निम्न चापीय प्रणालीको प्रभाव रहेकाले मौसम प्रभावित भएको हो ।

अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो लागेको छ।

बिहीबार दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै राति पनि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही देशका बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

यसैबिच देशको उच्च हिमाली भू–भागका एक–दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको साथै विभिन्न भू–भागमा बादलका कारण राम्रोसँग घाम नलाग्दा दिउँसोको तापक्रममा हल्का गिरावट आउने छ ।

तराईका केही भू–भागमा बिहान र दिउँसोको समयमा बाक्लो हुस्सु–कुहिरो समेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्