कोभिड-१९ महामारीको एक वर्ष र यसले प्रदान गरेको तीन अन्तरदृष्टि

हामी विश्वव्यापी स्वास्थ्य संकटको सामना गरिरहेका छौं।  कोभिड-१९ (सार्स कोभ-२ भाइरस) महामारीलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिएको (जनवरी २०, २०२१) एक वर्ष पुगेको छ।  चिन को वुहानबाट सुरु भएको कोरोनाभाइरस संक्रमण करिब १९१ देश मा फैलिएको छ।  डिसेम्बर २४, २०२० मा अन्टार्टिका मा ३६ जना मा कोभिड-१९को संक्रमण देखिएसँगै, कोरोनाभाइरसको प्रकोप अब   प्रत्येक महादेशमा समेत पुगिसकेको छ ।

२०२० मा कोभिड-१९ महामारीले विश्वलाई चकित मात्र बनाएन, यसले मानव जीवनलाई ठूलो नोक्सानी पुर्‍यायो र विश्वव्यापी अर्थतन्त्रलाई समेत तहसनहस बनायो।  जोन्स हप्किन्स विश्वविद्यालय ले प्रकाशित गर्ने कोभिड-१९ महामारीको तथ्यांक अनुसार जनवरी १८ , २०२१ सम्ममा कोरोनाभाइरसले विश्व भरि करिब ९ करोड ६१ लाख मानिसहरूलाई संक्रमित गरेको छ भने करिब २० लाख मानिसको  मृत्यु सार्स कोभ-२ भाइरसको कारण भैसकेको छ। यो संख्या दिन प्रतिदिन बढ्दै छ।

नेपालमा कोरोनाभाइरसबाट करिब २६७,९९२ मानिसहरु  संक्रमित भैसकेका छन भने यस बाट मृत्यु  हुनेको संख्या १,९६९ पुगेको छ।  कोभिड-१९ बाट निको हुनेहरु को संख्या पनि २६२,२५९ पुगेको छ।

कोरोनाभाइरसले  मानिसहरूसँगै स्थानीय बजार र विश्वव्यापी अर्थतन्त्रलाई समेत तहसनहस पारेको छ।  विश्व बैंकले जनवरी २०२० मा प्रकाशित गरेको विश्वव्यापी आर्थिक सम्भावना प्रितिवेदनले, कोभिड-१९ महामारीको कारण विश्वभरि आर्थिक वृद्धि मा “डाउनग्रेड” हुने अवस्था रहेको जानकारी गराएको छ। उक्त प्रतिवेदनले  दक्षिण एशिया क्षेत्रमा २०२१ मा आर्थिक वृद्धि ३.३ प्रतिशतले हुने प्रक्षेपण गरिएको छ भने २०२२ मा ३.८ प्रतिशत वृद्धि दर प्रक्षेपण गरेको छ, जुन  महामारी अगाडिको आर्थिक वृद्धि दर भन्दा धेरै कम्जोर वृद्धि दर हो।

उक्त प्रतिवेदनले महामारीको कारण उत्पादन घाटा र बेरोजगारी तीव्र वृद्धि हुनुका साथै,  दक्षिण एसिया क्षेत्रमा मात्र करिब १० करोड मानिसहरु गरिबीको रेखामुनि ( १.९० डलर भन्दा कम दैनिक आम्दानी) धकेलिने सम्भावना रहेको उल्लेख गरेको छ।

कोरोना महामारी अचानक भएको भएता पनि  यसले मानव जातिलाई नयाँ अन्तरदृष्टि प्रदान गरेको छ  जसबाट भविष्यमा  हुनसक्ने महामारीको सामना गर्न मदत मिल्न सक्छ।

महामारीले प्रधान गरेको पहिलो अन्तरदृष्टि  भनेको  जैविक विविधताको विनाश संक्रामक रोगहरूको उद्भव पुनः उद्भवको कारण हुनसक्छ  भन्ने हो। 

मानव र प्रकृतिबिच  अन्योन्याश्रित सम्बन्ध छ | मानव प्रकृतिबाट अलग रहन सक्दैन । ऊ सधैँ यसमा निर्भर हुने गर्दछ । तर जैविक विविधताको विनाश संक्रामक रोगहरूको उद्भव र पुनः उद्भवको द्रुत कारण बन्न सक्छ। विश्वका विभिन्न देशहरूमा जंगलहरुको अनिक्रमणका कारण जनावरहरूको बासस्थान सानो र खण्डित हुन् पुगेको छ | जब जंगलको बिनास हुन्छ तब साना  जनावरहरु जस्तै मुसा, चमेरो हरु प्रचुर मात्र मा मनिसहरुको नजिक आइपुग्छन। साना  जनावरहरु ठूलो जनावरको तुलनामा धेरै बच्चाहरूलाई जन्म दिन्छन्, जसका कारण उनीहरुको  प्रतिरक्षा प्रणाली कमजोर हुने गर्छ  र रोगजन्य किटाणु हरुबाट उनीहरु संवेदनशील र प्रभावित भैरहन्छ्न्।  यी जनावर हरुलाई अन्य जनावर सगैं राखिए मा र यिनीहरु को सेवन गरेमा जीवाणु हरु सजिलै जनावर हरु अथवा मान्छेहरुमा सर्ने  बढी सम्भावना हुन्छ ।

सार्स  भाइरस यसको उदहारण हो जुन चमेरो र अन्य जनवार को  निकटताबाट मानिसहरु सर्न पुगेको थियो ।  त्यस्तै अर्को विनासकारी उदाहरण  एचआईभीको उदय हो जुन चिम्पान्जीबाट मानिसमा सरेको थियो।  सार्स  केही समय पछि हराएर गयो भने, एचआईभी बिस्तारै नियंत्रित  भैरहेको छ।  तर कोभिड-१९ महामारीले अहिले पनि विश्वलाई नोक्सानी पुर्ंयाइ रहेको छ, जसको एक मुख्य कारण जैविक विविधताको व्यापक ह्रास र जैविक विविधता प्रतिको असंवेदनशीलता हो।

महामारीले हामीलाई प्रदान गरेको दोस्रो अन्तरदृष्टि  भनेको   “ग्लोबल कनेक्टिविटीलेरोगको प्रकोपको गतिशीलता परिवर्तन गर्दैछ, जसको नियन्त्रणका लागि गहन प्रभावकारी अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्दछ भन्ने हो

आज मानिसहरु (र देशहरु) एकअर्कासित  यति नजिक बाट जोडिई सकेका छन् कि एउटा देशमा भएको घटनाले अन्य देशहरूलाई सजिलै असर पार्न सक्दछ ।  सन् २००० मा सार्सको प्रकोप चीनको गुआंग्डोंग बाट क्यानाडा लगायत अन्य देशहरूमा चाँडै नै फैलियो।  तर सार्सको विश्वव्यापी प्रकोपपछि संसारका विभिन्न देशहरुले तुरुन्तै  गहन र प्रभावकारी भूमिका निभाए जसका कारण सार्सलाई तीन वर्ष भित्रै अर्थात् २००३ सम्ममा नियन्त्रण गर्न सकियो ।  आज साना  तथा विकासोन्मुख देशहरूले कोरोना महामारी नियन्त्रणका लागि  ठूला अथवा आर्थिक रूपमा विकसित देशहरूबाट अपेक्षित/आवश्यक समर्थन र सहयोग प्राप्त गर्न सकिरहेका छैनन् । कोभिड-१९ विरुद्ध को खोप यसको ज्वोलन्त उदाहरण हो।

आज धनी राष्ट्रहरूले उपलब्ध कोभिड-१९ खोपको पूरै आपूर्ति किनेका छन्, जसले गर्दा साना  तथा गरीब राष्ट्रहरूले  खोप प्राप्त गर्न सकिरहेका छैनन्।  सार्स कोभ-२ भाइरस एक अत्यधिक ट्रान्समिस्सिबल भाइरस हो। भाइरसको प्रसारण श्रृंखलालाई तोड्नका लागि विश्वव्यापी कम्तिमा ७०% जनसंख्याले  खोप लिन आवश्यक हुन्छ। तर खोप भण्डारणको वर्तमान प्रवृत्तिलाई हेर्दा, साना  तथा विकासोन्मुख देशहरूले कोरोना महामारी नियन्त्रण का लागि अझै धरै समय कुर्न पर्ने अवस्था देखिन्छ । तसर्थ कोभिड-१९ नियन्त्रणका लागि प्रभावकारी अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता छ र विकसित देशहरूले यसमा ठूलो दिलले सहयोग गर्नु पर्ने हुन्छ |

महामारीले हामीलाई प्रदान गरेको तेस्रो  अन्तरदृष्टि  भनेको  भाइरस वा महामारीको प्रसारण  रोक्न विस्तृत निगरानी तथा बलियो सार्वजनिक स्वास्थ्य प्रणाली आवश्यक भन्ने हो

संसारका विभिन्न मुलुकहरु  र विशेष गरेर अमेरिकामा गरिएका अध्ययनहरुले कोरोनाभाइरसले विशेष गरेर बुढाबुढी, पूर्व-रोग सर्तका ((प्रि  एक्गीस्टिंग कन्डिसन) मानिस, गरिब तथा  जातीय र अल्पसंख्यक समूहहरुलाई असंगत रूपमा प्रभाव पारेको देखाएको छ। विभिन्न अध्ययनहरुले  वायु प्रदूषण र कोभिड-१९ संक्रमणको जोखिम बिचको सम्बन्ध पनि देखाएको छ। वायु प्रदूषणले श्वासप्रश्वासको संक्रमणका  साथै गैर-प्रतिकारात्मक रोगहरूको जोखिम बढाउँछ।

गैर-प्रतिकारात्मक रोगहरूले कोभिड-१९ संक्रमणको को जोखिम बढाउँदछ। गरिब तथा  जातीय अल्पसंख्यक समूहहरु विभिन्न कारण बस बढी मात्रामा घर भित्र वा घर बाहिरको वायु प्रदूषणको सामना गरिरहेका हुने अध्ययनहरुले देखाएको छ । यी समूह प्रायजसो तनावग्रस्त अवस्थामा पनि हुनाले उनीहरु भाइरसको संक्रमणविरुद्ध प्रभावकारी रूपमा लड्न कम सक्षम हुन्छन्। विभिन्न विकसित अथवा विकासाेन्मुख देशहरुले कमजोर समुदायहरूको सुरक्षा गर्न सार्वजनिक स्वास्थ्य उपायहरू प्रयोग गर्छन्।

तर केहि वर्ष यता धेरै देश हरुले निजी स्वास्थ्य क्षेत्रको पदोन्नतिको नाममा सार्वजनिक स्वास्थ्यमा कटौती गरिरेहका छन्। संक्रामक रोगहरूलाई रोकथाम गर्न सार्वजनिक स्वास्थ्य महत्वपूर्ण हुन्छ किनभने पहिलो कुरा भईरोलोगिस्टहरू मुख्यतया सरकारी स्वास्थ्य एजेन्सीहरू काम गर्ने गरेको पाइन्छ । निजी अस्पतालहरूले बिरलै भाइरोलोजिस्टहरूलाई काममा लिन्छन् वा यी अस्पतालहरूमा भाइरोलोजी सेवा उपलब्ध नै हुँदैन | तसर्थ सार्वजनिक स्वास्थ्यमा हुने  बजेट कटौतीले अन्जानमा राष्ट्रिय प्रयोगशालाहरूमा भाइरोलजिस्टको भर्ति वा प्रशिक्षणको मात्रा घटाउने काम गर्दछ जसको कारण  नयाँ र उदीयमान भाइरसहरूको छानबिन गर्न सक्ने क्षमता संकुचित हुँदै जान्छ। यसको ज्वोलन्त  उदाहरण कङ्गोमा एबोला भाइरसको उदयलाइ लिन सकिन्छ।

जब  इबोला भाइरसको प्रकोप कंगोमा बढी रहेको थियो, त्यहाँका वैज्ञानिक तथा रोग विशेषज्ञहरू हप्तौँदेखि “यस ओ यस” सन्देशहरु पठाई रहेको थिए। उनीहरु धेरै व्यक्तिलाई हेमोर्याजिक ज्वरो के कारण भइरहेको छ भनेर पहिचान गर्न सकिरहेका थिएनन् |

उक्त समयमा कंगो सरकार सार्वजनिक स्वास्थ्य कार्यक्रमको बजेटमा व्यापक कटौती गरिरहेको थियो। जसका कारण  कंगोको सार्वजनिक जनस्वास्थ  प्रयोगशालाहरू कम्जोर हुदै गैरहेको थियो र  उदीयमान भाइरसहरूको छानबिन गर्न सक्ने क्षमतामा उनीहरु थिएनन्। उक्त अवस्थामा  कंगो सरकारले पीडितबाट लिइएको रगतको नमूना विश्लेषणका लागि बेल्जियमको अन्ट्रूपमा रहेको ट्रपिकल रोग संस्थानमा पठाए तर बेल्जियमका वैज्ञानिकहरूले हेमोर्याजिक भाइरसको काम गर्न बन्द गरिसके हुनाले ती नमूनालाई अमेरिका स्थित सी डी सी मा पठाइदिए।

यसरी धरै समयको अन्तरल पछि मात्र नया रोग इबोला भाइरसको कारण भएको पत्ता  लग्यो, जुन बेला सम्म कंगोमा धेरै धन जनको क्षति भैसकेको थियो। इबोलाको कारण कंगो मा लगभग ८०% संक्रमित मानिस हरु को मृत्यु हुन पुगेको थियो ।

अहिले पनि सार्स कोभ-२ को मामलामा निजी अस्पताल वा ल्याबहरू  भाइरसको विविध (भेरियेंट) प्रकारलाई पत्ता लगाउने कुरामा राज्य प्रयोगशाला भन्दा पछाडि नै रहेको देखिएको  छ। तसर्थ हालको वा भविष्यको  महामारी नियन्त्रणका लागि सार्वजनिक स्वास्थ्य प्रणाली तथा सार्वजनिक अथवा राज्य प्रयोगशालाहरु बलियो बनाउनु का साथै जैविक  विविधताको संरक्षण गर्नु पर्ने टड्कारो आवश्यकता छ।

(लेखक क्यालिफोर्निया विश्वविद्यालय बर्कलेमा वातावरणीय स्वास्थ्य विज्ञान अध्यापन गराउँद्छन्)

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्