निकुञ्जमा सोलारसहितको पानी पोखरी

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जमा जनावरलाई पानीको व्यवस्था गर्नका लागि सोलारसहितको पोखरी निर्माण गरिएको छ ।
निकुञ्जले तीन ठाउँमा सोलारसहितको पानी पोखरी बनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत (वार्डेन) श्यामकुमार शाहका अनुसार, सोलारबाट मेसिन चार्ज हुने र पोखरीमा पाइपबाट दिनभरि नै पानी आइरहने व्यवस्था मिलाइएको छ ।
पाइपलाई जमिनमुनि गाडिएको छ । वार्डेन शाहले भने, ‘हात्तीले पाइप देख्ने बित्तिकै तोडफोड गरिदिन्छ । हात्तीबाट बचाउनका लागि पाइपलाई जमिनमुनि गाडिएको छ ।’
खासमा निकुञ्जमा बोरिङसहितको पोखरी आवश्यक देखिएको छ । जनावरका लागि बाह्रैमास पानीको आवश्यकता पर्ने भएकाले बोरिङसहितका पोखरी बनाउन आवश्यक रहेको वार्डेन शाहको भनाई छ ।
निकुञ्जमा आकाशे पानी जम्मा गर्नका लागि ४० वटाजति पोखरी खनिएको छ । ती पोखरीमा बर्खामा परेको पानी जम्मा हुन्छन् । आकाशे पानी वर्षभरि रहँदैनन् । वार्डेन शाहले ४० मध्येमा दशवटा जति पोखरीमा पानी जम्मा भइरहने जानकारी दिए ।
बाँके राष्ट्रिय निकुञ्जमा चुरेको फेदमा पानीको समस्या छैन । राजमार्गछेउमा पानीको समस्या रहने गरेको छ । जनावरलाई पानी र घाँसै मैदानको व्यवस्था गर्न निकुञ्ज लागि परेको छ ।
बाँके राष्ट्रिय निकुुुञ्जमा अहिले २१ वटा बाघ रहेका छन् । निकुञ्जमा बाघका लागि चाहिने आहारा प्रजातीका जनावर प्रशस्त रहेको वार्डेन शाह बताउँछन् । बाघ पानी, आहारा खोज्दै र कतिपय चाहि बुढो भएपछि बस्ती आसपासमा आउने गरेको वार्डेन शाहको भनाई छ ।
‘बाघ मान्छे खोज्दै हिड्दैन, पानी, आहारा खोज्दै वा बुढो भएपछि ऊ आफ्नो सर्कलबाट बाहिरिन्छ । यस्तो बेलामा मान्छेसँग जम्काभेट भयो भने आक्रमण गर्छ, निकुञ्ज कर्मचारीहरु भन्छन् ।
बाँके राष्ट्रिय निकुञ्ज पूर्वपश्चिम राजमार्ग ७२ किलोमिटर र रत्नराजमार्ग ३० किलोमिटर क्षेत्र पर्छ । सडकको दुवैतिर जंगल भएकाले कहिलेकाही बाघ यता र उता गर्न सक्छन् । अहिलेसम्म बाँकेमा राजमार्गमा बाघले मान्छेलाई आक्रमण गरेको पाइएको छैन ।
बाघले मान्छेलाई मार्दै नमारेको भने होइन । गतवर्ष बाघले दुई जनालाई मारेको थियो । कोहलपुरको भरैयामा दाउरा खोज्न गएको र बालापुरमा घाँस काट्न गएका महिलालाई बाघले मारेको थियो । यी दुई घटना तीन दिनको फरकमा भएको थियो ।