सर्लाहीमा बस पल्टिँदा दुईजनाको मृत्यु, १७ जना घाइते

सांकेतिक तस्बिर।

जनकपुरधाम – सर्लाहीमा बिहीबार बिहान बस अनियन्त्रित भएर पल्टिँदा दुईजनाको मृत्यु भएको छ । अरु १७ जना घाइते भएका छन् ।

दाङबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस आफै अनियन्त्रित भई सर्लाहीको हरिवन नगरपालिका स्थित पूर्व पश्चिम राजमार्गको सशस्त्र क्याम्प नजिकै दुर्घटना भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

बस बाटोबाट १० मिटर तल पल्टिँदा बसमा सवार दाङको राप्ती गाउँपालिका वडा नं. ५ का ३६ वर्षीया राजकुमारी चौधरीको घटना स्थलमा र २३ वर्षीया निर्मला चौधरीलाई उपचारको लागि वीरगंज न्यूरो लग्ने क्रममा बाटोमै मृत्यु भएको प्रवक्ता कुँवरले जानकारी दिए ।

बसमा सवार अन्य ३० जना मध्ये चालकसहित पाँचजनाको अवस्था गम्भीर रहेको र तिनीहरुको उपचार न्यूरो अस्पताल वीरगंजमा भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै तीनजनाको नमूना अस्पताल हरिवनमा र ९ जनाको स्वाभिमान अस्पताल हरिवनमा उपचार भईरहेको र तिनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसमा सवार मध्ये १२ जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा बस चालक रुपन्देहीको बुटवलका ३५ वर्षीय अर्जुन ज्ञावली, बसका सहचालक लुम्बिनी बस्ने २३ वर्षीय किशोर सुबेदी रहेका छन् भने दाङको राप्ती बस्ने २३ वर्षीया रिता चौधरी, महोत्तरीका ३५ वर्षीय बसन्त कुमार ठाकुर, बाराका ३० वर्षीया सरिता चौधरी रहेकी छन् ।

त्यस्तै दाङको राप्ती गाउँपालिका वडा नं. ७ की ४५ वर्षीया आशा चौधरी, २९ वर्षीया सुमित्र चौधरी, ५ वर्षीय शोरम चौधरी, ३१ वर्षीय लक्ष्मी नारायण चौधरी, २० वर्षीया अमृता चौधरी, २२ वर्षीया पुष्पा चौधरी, ४९ वर्षीय अजय बहादुर पुन, १८ वर्षीय मितेश चौधरी, रुपन्देहीका ३० वर्षीय सन्तोष पाण्डे, काठमाडांैका ३७ वर्षीय सन्तोश नकर्मी, रोल्पाका ३५ वर्षीय सेतु रोका र २२ वर्षीय अर्जुन कुमार रोका पनि घाइते भएका छन् ।

 

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्