आइपुग्यो कोरोना भाइरसविरुद्धको खोप (तस्बिरहरु)

काठमाडौँ – कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । भारतले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोपको १० लाख डोज बिहीबार विमान मार्फत काठमाडौँ ल्याइएको हो ।

विमानस्थलमै भएको औपचारिक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई खोप हस्तान्तरण गरे ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोपको उत्पादन भारतीय कम्पनी सेरम इन्स्टिच्युड अफ इन्डियाले गरेको हो । सो खोपको १० लाख डोज भारतले नेपाललाई अनुदानमा दिएको हो ।

सो खोप अबको हप्ता दिन भित्रै लगाउन थालिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल आएको खोपले चार लाख ७५ हजार मानिसलाई पुग्ने जनाइएको छ ।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्