शिक्षकको हत्या आरोपमा एकजना पक्राउ, विप्लव समूहका मोरङ इन्चार्ज रहेको खुलासा

फाइल तस्बिर

मोरङ – मोरङको मिक्लाजुङ गाँउपालिकामा शिक्षकको हत्या आरोपमा एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार मंसिर २३ गते मिक्लाजुङ–१ बर्खेस्थित घरमा बसिरहेका शिक्षक राजेन्द्र श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा धनबहादुर विकलाई बुधबार अनुसन्धानका लागि पक्राउ गरिएको हो । विकलाई मोरङको बुढीगंगा गाँउपालिका–४ बाट पक्राउ गरिएको उनले बताए।

नेत्रबिक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीका लागि उद्योगी व्यापारीबाट चन्दा संकलनका लागि मोटरसाइकलमा आउँदै गर्दा ३२ वर्षीय विकलाई पक्राउ गरिएको प्रहरीको भनाई छ।

बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका ५४ वर्षीय श्रेष्ठको हत्यामा विकसहित अन्य पाँचजनाको संलग्नता रहेका प्रहरीले जनाएको छ।

विकका साथबाट प्रहरीले एक थान अटोमेटिक पेस्तोल, म्याजिन र तीन राउण्ड गोलीसमेत बरामद गरेको छ। त्यसैगरि ११ वटा सिमकार्डसँगै विकको साथबाट चारवटा मोबाइल समेत प्रहरीले बरामद गरेको छ।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्