झन्डै पाँच लाख नेपालीले अब कोरोना भ्याक्सिन लगाउने, एक साताभित्रै सुरु

टेकु अस्पतालमा भ्याक्सिन राखिँदै। तस्बिरहरु: सुलभ श्रेष्ठ
   

काठमाडौँ– नेपालमा कोरोना भाइरसविरुद्धको खोप अबको एक हप्ताभित्रै सुरु गरिने छ। भारतले अनुदान दिएको १० लाख डोज खोप नेपाल भित्रिएसँगै नेपालमा अबको एक हप्ताभित्रमै खोप सुरु गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

प्रवक्ता डा. गौतमका अनुसार अनुदानका रुपमा प्राप्त भएको खोप अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापनमा खटिएकालाई दिइने छ।

उनले भने, ‘पहिलो चरणमा हामीले स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक र शव व्यवस्थापन खटिएका गरी चार वटा ग्रुपलाई खोप दिने योजना बनाएका छौँ। तर सुरक्षाकर्मीलाई भने अर्को चरणमा दिने योजना बनाएका छौँ। सबै सुरक्षाकर्मीलाई पहिलो चरणमा नपुग्ने भएका कारण उनीहरुलाई अर्को चरणमा दिइने छ।’

भारतले अनुदान दिएको १० लाख डोज खोप नेपालको करिव ४ लाख ७५ हजार जलाई पुग्ने डा. गौतमले बताए। ‘१० लाख डोजले करिब ४ लाख ७५ हजार जनालाई पुग्ने छ। किन भने खोप दुईपटक लाउनु पर्छ। एक जनाले दुई डोज लगाउँदा ४ लाख ७५ जनालाई पुग्ने अनुमान हामीले गरेका छौँ।’

यस्तै सरकारले सरकारले करिब १० हजार स्वास्थ्यकर्मीलाई खोप लगाउने सम्बन्धी तालिम दिन सुरु गरिसकेको छ। उक्त तालिम स्थानीय, प्रदेश र केन्द्रीय सरकार मातहत रहेका स्वास्थ्यकर्मीलाई दिइने डा. गौतमले बताए।

उनले भने, ‘खोप केन्द्रमा मात्रै नभएर ७७ जिल्लामा लगाउने हो जसका लागि स्वास्थ्यकर्मीलाई खोप लगाउने सम्बन्धी तालिम दिन सुरु गरेका छौँ। केन्द्रमा तालिम दिएर सक्किसकेको छ। अन्य जिल्लाहरुमा तालिम दिन सुरु भइसकेको छ।’

नेपालीहरुका लागि पहिलो चरणको कोरोना भाइरस विरुद्धको खोप बिहीबार बिहान एयर इन्डियाको विमानबाट नेपाल आइपुगेको हो।

उनका अनुसार भारत सरकारको अनुदानमा आएको खोपको डोज बाहेकको बाँकी खोपको लागि खरिद प्रक्रिया अगाडि बढिरहेको छ। उनले भने, ‘भारतले अनुदान दिएको १० लाख डोज सकिएपछि सरकार आफँैले खरिद गर्ने छ। त्यही आफूले खरिद गरेको खोप जनतालाई निःशुल्क वितरण गर्ने छ।’

बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप भारतीय कम्पनी सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल ल्याइएको हो।

खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिने छ। त्यसपछि विभागबाट आवश्यक्ता अनुसार प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने छ।

डा. गौतमले भने, ‘अहिले सबै खोप केन्द्रीय भण्डारण केन्द्रमा कोल्ड चेन मेन्टेन गरेर राखिने छ। त्यसपछि आवश्यकता र माग अनुसार खोप प्रदेश–प्रदेशमा पठाइने छ।’

देशभर खोप पठाउनका लागि विशेष गाडीहरू तयारी अवस्थामा राखिएको डा. गौतमले बताए।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई एयरपोर्टमै खोप हस्तान्तरण गरेका हुन्।

खोप प्राप्त गरेपछि मन्त्री त्रिपाठीले भारत आफैँ कोरोना विरुद्ध लडिरहेका बेला नेपालका लागि १० लाख डोज खोप सहयोग गर्नु आफैँमा ठूलो कुरा भएको भन्दै भारत सरकारलाई धन्यवाद दिएका थिए।

यस्तै भारतीय राजदूत क्वात्राले भारत सरकारको छिमेकी पहिलो प्राथमिकतामा भन्ने नीतिअनुसार नेपाललाई खोप सहयोग गरेको बताए। उनले भनेका थिए, ‘भारत र नेपालको मित्रताको अनुपम उदाहरणको रुपमा खोपलाई लिन सकिने छ। समस्या परेको बेलामा नेपाललाई हरसम्भव सहयोग गर्न भारत तयार रहने छ।’

राजदूत क्वात्राका अनुसार परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमणको समयमा गरिएको प्रतिवद्धता अनुसार नै खोप एक साताभित्रै नेपाल पठाइएको हो।

माघ ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्